बाढी–पहिरोका कारण ८ जिल्लामा मानवीय क्षतिको प्रारम्भिक अनुमान, प्रधानमन्त्री सहितको बैठक बस्दै



काठमाडौं । गत सोमबारदेखि देशैभर भइरहेको भिषण वर्षापछि आएको बाढी–पहिरोका कारण ८ जिल्लामा मानवीय र एक दर्जन बढी जिल्लामा भौतिक क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालकाअनुसार मन्त्रालयलाई बुधबार दिउँसो २ बजेसम्म प्राप्त विवरणअनुसार ८ जिल्लाका १ दर्जन बढी व्यक्तिको मृत्यु पुष्टि भएको हो । मन्त्रालयलाई प्रारम्भिक चरणको मात्रै जानकारी उपलब्ध भएको र बुधबार दिनभरी पनि निरन्तर वर्षा भइरहेकाले क्षतिको विवरण बढ्नसक्ने दाहालले बताए ।

‘सिन्धुपाल्चोकमा ७ जना मृत्यु, ७ जना बेपत्ता र ६ जना घाइते भएको प्रारम्भिक विवरण आएको छ । त्यस्तै बाजुरामा २ जना बेपत्ता र २ घर नष्ट भन्ने विवरण आएको छ । गोरखामा १ जना बेपत्ता भएको र थप विवरणहरु आउन बाँकी छ,’ प्रवक्ता दाहालले भने, ‘मनाङमा ६ वटा घरमा पूर्ण रुपमा क्षति र २६ घर डुबानमा परेको भन्ने जानकारी आएको छ । प्युठानमा १ जना बेपत्ता, पाल्पामा १ जनाको मृत्यु र एक घरमा क्षति भएको छ । स्याङ्जामा १ जना घाइते भएको विवरण आएको छ ।’

बाढी–पहिरोका कारण भौतिक र आर्थिक क्षतिको विवरण भने आंकलन गर्न नसकिएको उनले बताए । सिन्धुपाल्चोक र मनाङमा विद्युत् तथा सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।

गृह प्रवक्ता दाहालले बाढी तथा पहिरोमा परेका व्यक्तिहरुको उद्धार र राहत व्यवस्थापनका लागि बुधबार दिउँसो गृहमन्त्रीको अध्यक्षतमा रहने विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय समितिको बैठक बसेको र बुधबार साँझ प्रधानमन्त्रीको नेतृत्वमा रहेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्ने तय भएको बताए । उद्धार तथा राहतका लागि स्थानीय निकाय, सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटीलगायत संघसंस्थाहरुसँग समन्वय गरी काम भईरहेको दाहालले बताए ।

देशभर बाढीले कहाँ कति क्षति भयो ?

सिन्धुपाल्चोकमा ७ जनाको मृत्यु पुष्टि भइसकेको छ भने ७ जना हराइरहेको विवरण गृह मन्त्रालयले उपलब्ध गराएको छ ।

सिन्धुपाल्चोक जिल्लामा मेलम्ची र इन्द्रावतीमा आएको भिषण बाढीका कारण मेलम्ची खानेपानी आयोजनाको ड्याम बगेको छ । त्यस्तै तिम्बु बजार, चनौटे बजार, तारामालाङ, मेलम्ची, याङ्दी बजारहरु डुबानमा परेका छन् । मेलम्ची र इन्द्रावतीका नाकोते पुल, तिम्बु पुल, हल्दे पुल, फट्टे पुल, मेलम्ची पुल बाहुनपाटी पुल बगेका छन ।

त्यस्तै, मनाङको नासो गाउँपालिका ३ धारापानीमा मस्र्याङ्दी नदीले गाउँपालिकाको कार्यालय नै बगाएको छ । त्यस्तै, प्रहरी चौकी, प्रभु बैंक र प्राइम बैंकको शाखा कार्यालय बगाएको विवरण आएका छन् । मनाङ सदरमुकाम चामे र ताल गाउँमा बाढी पसेको छ । मनाङको चामे गाउँपालिका र नासोङ गाउँपालिका मा बढी क्षति भएको अनुमान गरिएपनि वास्तविक क्षतिको आंकलन भने अझै भईसकेको छैन ।

म्याग्दीमा ४० बढी घर परिवार बिस्थापित भएका छन् । बाढीका कारण अन्नपूर्ण गाउँपालिकाको धस्केखोरियाका १० र बेनी नगरपालिकाका १ दर्जन बढी परिवारलाई अन्यत्र सारिएको छ । बेनी नगरपालिका ९ गलेश्वरमा रहेको वृद्धाआश्रममाथिबाट पहिरो खस्न थालेपछि त्यहाँ रहेका वृद्धवृद्धालाई अन्यत्र सारिएको छ । म्याग्दीको कालीपुल बसपार्कमा बाढी पसेको छ ।

गुल्मीको चन्द्रकोट गाउँपालिका, रुरु गाउँपालिका र छत्रकोट गाउँपालिकामा बाढी पहिरोले क्षति पुर्याएको छ ।

पाल्पाको पूर्वखोला गाउँपालिका, रम्बा गाउँपालिका, रिब्दीकोट गाउँपालिका, बगनासकाली गाउँपालिका र कास्कीको पोखरा लेखनाथ महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, मादी गाउँपालिका र माछापूच्छ्रे गाउँपालिकामा भारी वर्षा पनि बाढले क्षति पुर्याएको छ ।

सुदूरपश्चिम प्रदेशमा पनि मंगलबार र बुधबारको निरन्तर वर्षाका कारण पहाडी तथा हिमाली जिल्लामा सडकहरु अवरुद्ध भएका छन् । पहिरोका कारण बाजुरा जोड्ने साँफे–मार्तडी सडक खण्ड र बझाङ जोड्ने जयपृथ्वी राजमार्ग मंगलबारदेखि अवरुद्ध छ ।

लुम्बिनी प्रदेशका पहाडि र तराईका जिल्लामा समेत बाढीले प्रभावित तुल्याएको छ । गत सोमबारदेखिको लगातार वर्षापछि रुपन्देहीको तिनाउ नदि तटका एक दर्जनबढी घरहरु बगेका छन् । पूर्व–पश्चिम राजमार्गको बुटवल–देवदह सडक खण्ड अबरुद्ध भएको छ ।


क्लिकमान्डु