कोरोनाले चीनतर्फको निर्यात आधा घट्यो



काठमाडौं । कोरोनाले गर्दा नेपालबाट निर्यात हुँदै आएको वस्तु तथा सेवाको निर्यात आधा घटेको छ । कोरोना भाइरस महामारीका कारण चीनमात्रै नभएर नेपालमा पनि निकै प्रभाव परेकाले निर्यातमा गिरावट आएको हो ।

कोरोनाका कारण चीन सरकारले गत वर्ष आयात तथा निर्यात दुबै ठप्प बनाएको थियो । सो अवधिमा नेपालमा आयात भएका हजारौं मालबाहक गाडी नाकामा अड्किएको थियो ।

तर, लामो समयको बन्दबन्दीका कारण ठप्प भएको नाका केही महिनापछि आयातमा सहज बनाए पनि निर्यातमा भने हालसम्म पनि सहज हुन सकेको छैन ।

सामान्य अवस्थामा चीनतर्फ विभिन्न भन्सारको नाका तथा कार्गोबाट निर्यात हुँदै आएको वस्तु तथा सेवामा कोरोनाले गर्दा निर्यात ह्वात्तै घटेको होे । सामान्य अवस्थामा साढे २ अर्ब देखि ३ अर्बसम्म वस्तु तथा सेवा निर्यात हुँदै आएको चीनमा अहिले कोरोनाले गर्दा १ अर्बको पनि निर्यात गर्न मुश्किल भएको निर्यात व्यवसायीहरू बताउँछन् ।

यस्तै, भन्सार विभागको तथ्याङ्क अनुसार गत वर्षमा विगतको वर्षहरूको तुलनामा चीनतर्फको निर्यात आधा घटेको देखिन्छ । चालु आव २०७५/७६ मा २ अर्ब १० करोड ९७ लाख ९९ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात गर्न सफल भएको थियो । सो वर्ष व्यापार घाटामा नेपालले चीन सरकारसँग २ खर्ब ३ अर्ब ४० करोड ८८ लाख ४१ हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।

त्यस्तै, गत वर्षको अन्यतिर कोरोनाले निकै प्रभाव परेको थियो । सो अवधिमा नेपालबाट १ अर्ब १९ करोड ११ लाख ८१ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो । उक्त वर्ष नेपालले १ खर्ब ८० अर्ब ७२ करोड ९१ लख रुपैयाँको घाटा व्यहोरेको थियो ।

त्यस्तै, चालु आवको वैशाख मसान्तसम्ममा चीनतर्फ ८९ करोड ७६ लाख २६ हजार मात्रैको वस्तु तथा सेवा निर्यात भएको भन्सार विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।

कोरोनाले गर्दा अन्तर्राष्ट्रिय उडान बन्द हुनुका साथै अधिकांश उद्योग बन्द भएकाले चालु आवमा १ चीनतर्फ १ अर्बको वस्तु तथा सेवा निर्यात गर्न नसक्ने अवस्थाले गर्दा व्यवसायीहरू चिन्तित बनेका छन् ।

यस्तै, चालु आवको वैशाखसम्ममा नेपालले १ खर्ब ८२ लाख २९ अर्ब ५५ लाख २५ हजार रुपैयाँ घाटा व्यहोरेको छ । यसले गर्दा व्यापार घाटा घटाउनको लागि सरकारले उद्योगीलाई उचित व्यवस्था नगरेसम्म भनेअनुसार निर्यात गर्न नसक्ने व्यवसायीहरूको भनाइ छ ।

आयात तथा निर्यातमा मुख्य भूमिका खेल्दै आएको चीनतर्फ नेपालको व्यापार घाटा उल्लेख्य रहेको छ । त्यसमाथि पनि अहिले कोरोनाले गर्दा चीनतर्फ निकासी गर्न नसक्दा व्यवसायीहरू मारमा परेको निर्यात व्यवसायी संघका उपाध्यक्ष चण्डी प्रसाद अर्याल बताउँछन् । उनका अनुसार कोरोनाले गर्दा नेपालको अधिकांश उद्योग बन्द रहेको र चीनतर्फको नाका सहज हुन नसक्दा नेपाली निर्यात गर्ने व्यवसायीहरू मारमा परेको बताए ।

‘सामान्य अवस्थामा नेपालबाट निर्यात हुँदै आएकोमा कुनै समस्या थिएन । अहिले कोरोनाले गर्दा निर्यातमा ढुवानीले गर्दा निकै समस्या निम्तिएको छ,’ उनले भने ।

नेपाल निर्यात परिषद्का अध्यक्ष हरि बहादुर कार्कीले चीनतर्फ ढुवानीको समस्याले गर्दा व्यवसायीले निर्यात गर्न नसकेको बताए । उनका अनुसार लामो समय नेपालमा कोरोनाले गर्दा अधिकांश उद्योग बन्द भई उत्पादन गर्न सकेको थिएन । त्यसमाथि भन्सारबाट निर्यात नभएकोले चीनतर्फको निकासी निकै कमजोर भएको उनको भनाइ छ ।

साथै, अन्तर्राष्ट्रिय उडान हुँदा पनि चर्को मूल्य तिरेर निर्यात गर्नुपर्ने बाध्यताले निर्यातमा कमजोर हुँदै गएको उनले दाबी गरे ।

त्यसैगरी, नेपालबाट उल्लेख्य रुपमा निर्यात हुँदै आएको हस्तकला कोरोनाले गर्दा १० प्रतिशत मात्रै निर्यात हुँदै आएको हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्य बताउँछन् ।

‘एकातिर कोरोनाले गर्दा उद्योगीरूले भने अनुसार उत्पादन गर्न सकेको छैन भने अर्कोतर्फ चीनतर्फ निकासी गर्न महंगो भाडा तिर्न बाध्यता रहेको छ । यसले गर्दा कोरोनाले गर्दा १० प्रतिशत मात्रै हस्तकला निर्यात भएको छ,’ उनले भने ।

साथै, चीनबाट पनि विगतको जस्तो अर्डर आउन नसक्दा नेपालका उद्योगीहरू धारासायी अवस्थामा रहेको र बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको उनले गुनासो पोखे ।

सामान्य अवस्थामा नेपालबाट विभिन्न देशमा ११ अर्ब बराबरको हस्तकला निर्यात गर्दै आएको थियो । तर, कोरोनाले गर्दा ३ अर्बको निर्यातमा सिमित हुन पुगेको उनको बुझाइ छ ।

साथै, चीनतर्फ उल्लेखनीय निर्यात गर्दै आएको हस्तकला भन्सार सहज नहुँदा र कार्गोको महंगो भाडाले गर्दा व्यवसायीले निर्यात गर्न नसकेको उनको भनाइ छ ।

वैशाख मसान्तसम्ममा १८ प्रतिशतले घट्यो

नेपालमा आयात तथा निर्यातमा मुख्य भूमिका खेल्दै आएको चीनमा चालु आर्थिक वर्षको वैशाख मसान्सम्ममा १८.३५ प्रतिशतले नेपालबाट निर्यात कम भएको छ ।

चालु आवको वैशाख मसान्तसम्ममा नेपालबाट ८९ करोड ७६ लाख २६ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । सोही अवधि आर्थिक वर्ष २०७६/७७ को वैशाख मसान्तसम्ममा १ अर्ब ९ करोड ९४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो ।

जसमा गत वर्षको तुलनामा चालु आवमा १८ प्रतिशतले कमी हो । त्यस्तै सोही अवधिमा आर्थिक वर्ष २०७५÷७६ को वैशाख मसान्तसम्ममा १ अर्ब ७८ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा चीनतर्फ निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

चीनतर्फको नाकाबाट निर्यात शून्य

भन्सार विभागको तथ्याङ्क अनुसार चीनतर्फ निकासी हुँदै आएको भन्सारबाट कोरोनापश्चात् निर्यात शून्य अवस्थामा रहेको छ ।

विगतको दिनमा करोडौंको रुपैयाँमा रसुवा र तातोपानी भन्सार नाकाबाट निर्यात हुँदै आएकोमा कोरोनाले गर्दा उक्त नाकाबाट निर्यात शून्य भएको हो ।

चालु आव २०७५/७६ मा नेपालबाट चीनतर्फ निर्यात हुने रसुवा भन्सारबाट १ अर्ब २० करोड ९६ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो । सो वर्ष तातोपानी भन्सारबाट भने कुनै पनि वस्तु तथा सेवा निर्यात भएको देखिँदैन ।

त्यस्तै, चालु आव २०७६/७७ मा रसुवा भन्सारबाट ५९ करोड २३ लाख ५४ हजार रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यस्तै, उक्त वर्ष पनि तातोपानी भन्सारबाट कुनै वस्तु तथा सेवा निकासी भएको देखिँदैन ।

साथै, चालु आवको वैशाखसम्म पनि उक्त दुई नाकाबाट उल्लेख्य आयात भए पनि निर्यात भने शून्य अवस्थामा रहेको छ ।


पुष्प दुलाल