उपत्यकाका ३ जिल्ला जोड्ने बाहिरी चक्रपथको काम अघि बढाइँदै



काठमाडौं । दुई दशकदेखि चर्चामा रहेको काठमाडौं उपत्यकाको ३ जिल्ला जोड्ने बाहिरी चक्रपथले आर्थिक २०७८÷७९ वर्षको बजेटमा स्थान पाएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जारी गरेको बजेटमा, ‘जग्गा एकीकरण विधिबाट काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ निर्माण कार्य प्रारम्भ गरिनेछ । बाहिरी चक्रपथ र सहरसँगको सम्पर्क सुगम बनाउन सम्भाव्य स्थानमा चार लेनको लिङ रोड निर्माण गरिनेछ,’ उल्लेख छ ।

ठूलो लगानीको परियोजना भएकाले बाहिरी चक्रपथको व्यवस्थापनको जिम्मा लगानी बोर्डको मातहतमा छ । आगामी आर्थिक वर्षको बजेटमा पुनः बाहिरी चक्रपथ निर्माण कार्य अघि बढाउने विषय प्रवेश गरेको छ ।

आगामी आर्थिक वर्षमा बाहिरी चक्रपथ निर्माण शुरु गर्ने सरकारी नीति छ । सरकारी नीति अनुसार निर्माण प्रक्रिया शुरु गर्न लागिएको बोर्डका सहप्रवक्ता रमेश अधिकारीले जानकारी दिए ।

बाहिरी चक्रपथको अवधारणा लगानी बोर्डको मातहतमा आउनु अघि सहरी विकास मन्त्रालय अन्तर्गतको बाहिरी चक्रपथ विस्तार आयोजनाले यो परियोजना अघि बढाइरहेको थियो ।

२७ किलोमिटर लम्बाइको भित्री चक्रपथले काठमाडौं उपत्यकाको बढ्दो सहरीकरण थेक्न नसक्ने भन्दै आर्थिक वर्ष २०५६÷५६ मा बाहिरी चक्रपथको अवधारणा अघि सारिएको थियो ।

आर्थिक वर्ष २०६१/६२ मा चक्रपथ जग्गा विकास आयोजनामार्फत् निर्माण प्रक्रिया अघि बढाउन खोजिएको थियो । आयोजना कार्यालय स्थापना गरी काम शुरु गरिएको डेढ दशकभन्दा धेरै समय व्यतित हुँदा पनि बाहिरी चक्रपथ निर्माणको चरणमा जान सकेको छ ।

आयोजनाले २०६८ सालमा फुलब्राइट कन्सल्टेन्सीको सहायतामा बाहिरी चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डीपार) तयार गरेको छ । बाहिरी चक्रपथ ल्याण्ड पुलिङ (जग्गा विकास)का माध्यमबाट गर्नेगरी डिजाइन गरिएको थियो । तत्कालिन समयमा करिब २ अर्ब रुपैयाँमा जग्गा रोक्का गर्न सकिने प्रतिवेदनमा उल्लेख थियो ।

जग्गा विकास अन्तर्गत निर्माण हुने आयोजनामा जग्गा धनीलाई मुआब्जाको रकम दिँदैन । पुरानो जग्गालाई आकर्षक र मूल्यवान बनाए बापतको केही प्रतिशत जग्गा सरकारले आफैसँग राखेर फिर्ता गरिदिन्छ । १० वर्षको अवधिमा चक्रपथ बन्ने स्थानमा हजारौंका संख्यामा भवन निर्माण भइसकेका छन् भने जग्गा धेरै महँगिसकेको छ ।

पुनः डीपीआर
उपत्यकाका बस्तीलाई व्यवस्थित गर्न बाहिरी चक्रपथ आवश्यक भइसकेको छ ।

बोर्डले यस परियोजनालाई चासोका साथ अघि बढाउन खोजिरहेको सहप्रवक्ता अधिकारी बताउँछन् । सहरी विकास मन्त्रालय र बाहिरी चक्रपथ बिस्तार आयोजनाका अधिकारीसँगको छलफल तीव्र पारिएको अधिकारीको दावी छ ।

‘बाहिरी चक्रपथको निर्माण प्रक्रिया शुरु गर्ने सरकारी नीति छ । करिब १० वर्ष अघि अध्ययन गरेको डीपीआर छ,’ अधिकारीले भने, ‘उक्त अवधिमा बाहिरी चक्रपथ बन्ने स्थानमा धेरै भौतिक संरचना निर्माण भएका छन् ।’

भौतिक संरचनाको व्यवस्थापन कसरी गर्ने र कुन मोडालिटीमा निर्माण प्रक्रिया अघि बढाउने भन्ने विषयमा केन्द्रित भएर बोर्डले काम गरिरहेको उनले बताए ।

उपत्यकाको ३ वटै जिल्लालाई जोड्ने सडकका साथै व्यवस्थित सहरका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने उद्देश्यका साथ बाहिरी चक्रपथको अवधारणा अघि बढाइएको हो ।

पूरानो अध्ययनमा ७२ हजारभन्दा धेरै रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको थियो ।

डीपीआरको क्रममा लिइएको रेखांकनमा कस्ता संरचना बनेका छन् भन्ने विषयमा पनि अध्ययन हुन आवश्यक छ । यसका लागि पुनः एकपटक डीपीआरको आवश्यक पर्न सक्छ । यस विषयमा शहरी विकास मन्त्रालयले दिने सुझाव अनुसार अघि बढ्ने उनले बताए ।

उपत्यकाको ३ जिल्ला जोडने सडक
भित्री चक्रपथले काठमाडौं र लिलतपुर जिल्ला मात्रै जोड्छ । बाहिरी चक्रपथ भने उपत्यकाको ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जोड्नेगरी डिजाइन गरिएको छ ।

करिब ७२ किलोमिटर लम्बाइ रहने बाहिरी चक्रपथ काठमाडौं ३५ किलोमिटर, भक्तपुर २१ किलोमिटर र ललितपुर १६ किलोमिटर भुभाग भएर अघि बढ्नेछ । सडकका साथै ७२ हजार रोपनी जग्गा विकास गरिने योजना थियो ।

जसमा चक्रपथको चौडाई ५० मिटर हुनेछ । सडकको दायाँ र बायाँ ३५०/३५० मिटर क्षेत्रफलमा जग्गा विस्तार गरिने योजना छ । बाहिरी चक्रपथ समयमै निर्माण नहुँदा भित्री चक्रपथमा जनसंख्याको चाप परेको आयोजनाका पूर्वअधिकारी धुव्र सापकोटा बताउँछन् ।

बाहिरी चक्रपथ सडक मात्र नभई एउटा व्यवस्थित शहरको अवधारण अनुरुप अघि बढाइएको हो । उपत्यकाको ३ जिल्लालाई जोड्ने सडकका साथै सहरका लागि आवश्यक आधारभूत पूर्वाधार पनि निर्माण गरिन्छ ।

निश्चित तोकिएको स्थानमा विजुली, टेलिफोन, ढल, खानेपानी, पार्क, बसस्टप, सडक लगायतको संरचना निर्माण गर्नेगरी डिजाइन गरिएको सापकोटा बताउँछन् । बाहिरी चक्रपथ निर्माण भएको भए भित्री चक्रपथको जनताले अहिलेको जस्तो गाडीको जाम, खाल्डाखुल्डीले भरिएको सडक, जनसख्याको अत्यधिक चाप र अव्यवस्थित ढल निकासका कारण वर्षामा समस्या भोग्नु पर्ने अवस्था नआउने उनले दावी गरे ।

स्वीकृति चिनियाँ कम्पनीलाई
२०७५ चैतमा आयोजना गरिएको लगानी सम्मेलनमा बाहिरी चक्रपथका लागि लगानीकर्तासँग प्रस्ताव माग गरिएको थियो । उक्त सम्मेलनमार्फत् ४ वटा चिनियाँ कम्पनीले निर्माणमा चासो देखाएका थिए ।

मन्त्रिपरिषदको बैठकले २०७६ असोज ६ गते चाइना कम्युनिकेसन कन्ट्रक्सन (सीसीसी)सँग प्रस्ताव आह्वान गरी निर्माण प्रक्रिया शुरु गर्न स्वकृति दिइको थियो । तर लगानी मोडालीटी, निर्माण ढाँचा र रेखांकनको टुंगो लाग्न नसकेलकाले बोर्डले निर्माण प्रक्रिया अघि बढाउन सकेको थिएन ।

तत्कालिन समयमा यो परियोजना निर्माणका लागि १ हजार ८७१ मिलियन अमेरिकी डलर अर्थात २१ अर्ब ७० करोड लाग्ने प्रारम्भिक अनुमान रहेको थियो ।


क्लिकमान्डु