सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रममा २ दर्जन बढी नारा, आफै खोप ल्याउने घोषणा



काठमाडौं । सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वार्षिक नीति तथा कार्यक्रममार्फत प्रदेश सभामा प्रस्तुत गर्दै कोभिड १९ विरुद्धको खोप ल्याउनका लागि प्रदेश सरकार आफैले पहल गर्ने घोषणा गरेको छ ।

संघ सरकारले खोप ल्याउन नसकेर आलोचना भइरहेका बेला सुदूर पश्चिम सरकारले कोरोना महामारीको संक्रमण रोकथामका लागि नागरिकलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्ने विषय नीति तथा कार्यक्रममा उल्लेख गरेको हो । प्रदेशप्रमुख गंगा प्रसाद यादवले बिहीबार प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममा २ दर्जन बढी नारा दिएर विभिन्न कार्यक्रम नयाँ आर्थिक वर्षबाट कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा मात्र विभिन्न नारा दिएर तीनवटा नयाँ कार्यक्रम घोषणा गरेको छ । यद्यपि यी कार्यक्रमहरु कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका क्षेत्रमा नभई स्वास्थ्यका अरु क्षेत्रसँग सम्बन्धित छन् । प्रदेश सरकारले ‘हाम्रो प्रदेश, स्वस्थ प्रदेश’, ‘ग्रामिण अल्ट्रासाउन्ट कार्यक्रम’ तथा सेती र महाकाली प्रादेशिक अस्पतालमा ‘विस्तारित स्वास्थ्य सेवा’ कार्यक्रम संचालन गर्ने योजना बनाएको छ । त्यस्तै सबै अस्पतालको क्षमता बढाई स्वास्थ्य चेकजाँचलाई थप चुस्त दुरुस्त बनाउने पनि वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्ता छन् प्रदेश सरकारको नीति तथा कार्यक्रममा २ दर्जन बढी नारा

– ‘विकाससँग रोजगारी‘ – दुर्गम क्षेत्रमा जनसहभागितामा आधारित ‘विकाससँग रोजगारी कार्यक्रम’ संचालनमा ल्याउने योजना प्रदेश सरकारको छ ।

– ‘देवभूमि सुन्दर ठाउँ, सुदूरपश्चिम घुम्न जाउँ’ भन्ने नारासहित पर्यटन प्रवद्र्धनका लागि आवस्यक संरचना निर्माण गर्ने योजना प्रदेश सरकारले राखेको छ ।

– ‘एक स्वास्थ्य रणनीति कार्यान्वयनमा ल्याउन संघ सरकार र स्थानीय तहसँग समन्वय गरी आवस्यक कार्ययोजना तयार पार्ने सुदूर पश्चिम सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ ।

– हिंसापीडित महिलालाई तत्काल बसोबासको व्यवस्था मिलाउन ‘महिला सुरक्षागृह’ स्थापना गर्ने विषय पनि राखिएको छ ।

– महिला सशक्तिकरणका लागि भन्दै ‘द्वारिकादेवी ठकुरानी महिला सशक्तिकरण तथा सीप विकास कार्यक्रम’ नीति तथा कार्यक्रममा राखिएको छ ।

– ‘सबैका लागि शिक्षा कार्यक्रम’ लागु गर्ने वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ ।

– ‘एक जिल्ला, एक नमूना क्याम्पस’ पनि वार्षिक नीति तथा कार्यक्रममा राखिएको छ ।

– ‘स्वस्थ युवा, प्रदेशको खम्बा’ भन्ने नारासहित मुख्यमन्त्री खेलकुद प्रतियोगिता संचालन नीति प्रदेशले लिएको छ ।

– ‘प्रदेशका गाउँ, उज्यालो बनाउँ कार्यक्रम’ संचालन गरी ग्रामिण तथा दुर्गम क्षेत्रमा जलस्रोत एवं वैकल्पिक उर्जा सम्बन्धी कार्यक्रम सञ्चालन तथा विस्तार गरिने उल्लेख छ ।

– ‘एक घर, एक धारा कार्यक्रम’ लागु गरेर स्वच्छ खानेपानी सेवाको प्रत्याभूति दिलाउने प्रदेश सरकारले जनाएको छ ।

– मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत नेपाल सरकार र स्थानीय तहसँगको समन्वय र सहकार्यमा ‘एकीकृत नमूना बस्ती’को विकास गरिनेछ ।

– आवास सुधार कार्यक्रम लागु गरेर ग्रामीण क्षेत्रका विपन्न परिवारका लागि ‘खरको छानो विस्थापन’ गर्ने नीति प्रदेश सरकारले लिएको छ ।

– ‘नमूना गाउँ, आफै बनाउँ भन्ने नाराका साथ मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रमलाई कार्यान्वयन गर्ने उल्लेख छ ।

– ‘एक सहकारी, एक उत्पादन कार्यक्रम’ संचालन पनि नीति तथा कार्यक्रममा राखिएको छ ।

– ‘सीप सिकौं, उद्यमी बनौं’ नारालाई साकार पार्न महिला, दलित, विपन्न, सीमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्ग र द्वन्द्व प्रभावितलाई व्यवसायिक, सीपमूलक र तालीममूलक उद्यमशीलतामा जोड्ने प्रदेश सरकारको योजना छ ।

– ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ स्थापना गर्नका लागि संघ सरकार र स्थानीय तहहरुसँग समन्वय र सहकार्य गर्ने उल्लेख छ ।

– ‘एक जिल्ला, एक विशिष्ट’ उद्योग स्थापना गर्न अनुदान उपलब्ध गराउने पनि प्रदेश सरकारले जनाएको छ ।

– ‘पाहुनाको सत्कार, सुदूरपश्चिमको संस्कार’ भन्ने नाराका साथ पर्यटन उद्योगलाई सेवामूलक, व्यवसायिक, व्यवस्थित र प्रभावकारी बनाउन क्षमता अभिवृद्धिका कार्यक्रम संचालन गरिने उल्लेख छ ।

– ‘सुदूरपश्चिमको दिगो आर्थिक आधार, सबल पर्यटकीय पूर्वाधार कार्यक्रम’ पनि प्रदेश सरकारले राखेको छ ।

– ‘स्वच्छ जल प्रवाहः समृद्ध मानवीय जीवन’ भन्ने नाराका साथ नदी खोला र पानीको स्रोतहरुको स्वच्छता कायम गर्ने कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

– प्रदेशको समग्र वस्तुस्थिति झल्किने गरी ‘प्रदेश पाश्र्वचित्र’ (ल्यान्डस्केप) तयार पार्ने योजना प्रदेश सरकारले नीति तथा कार्यक्रममा राखेको छ ।


क्लिकमान्डु