जम्मा १३९ जनाले मात्रै लिए शैक्षिक प्रमाणपत्र राखेर कर्जा, कुन बैंकबाट कति ? (सूचीसहित)



काठमाडौं । बजेटमार्फत् सरकारले ल्याएको कार्यक्रममा चर्चामा रहेको शैक्षिक प्रमाणपत्र धितोमा २५ लाख रुपैयाँसम्म कर्जा नीति रहेको छ । सरकारले घोषणा गरेको सो कर्जा कार्यक्रममा अहिले बेरोजगार युवाको चासो बढ्दो छ ।

सो कर्जा कुन बैंकबाट कसरी लिने तथा बैंकहरुमा कर्जा लिनका लागि प्रक्रिया के छ ? भन्ने जिज्ञासा युवा वर्गको हो । स्नातक तह वा सो सरहको शैक्षिक प्रमाण पत्र धितो राखेर कर्जा पाइने प्रवधान नयाँ भने होइन ।

अर्थमन्त्रालय र राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाहरुले ३ वर्ष अघिदेखि नै स्नातक तह वा सोभन्दा माथिको शैक्षिक प्रमाणपत्र धितो राखी कर्जा प्रवाह गर्नु पर्ने प्रवधान छ ।

सो प्रवधान अनुसार सबै बैंक तथा वित्तीय संस्थाले शिक्षत बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी व्यवसायिक परियोजना मूल्यांकनमा आवश्यक कर्जा दिनुपर्ने हो ।

तर यस अवधिमा २२ वटा बैंक तथा वित्त कम्पनीबाट १ सय ३९ जना बेरोजगार युवाले शैक्षिक प्रमाणपत्र धितो राखेर ६ करोड ५१ लाख रुपैयाँ कर्जा लिएका नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

जसमा १७ वटा वाणिज्य बैंकहरुले १ सय २७ जना ऋणीलाई ५ करोड ७८ लाख ४८ हजार रुपैयाँ, ४ वटा विकास बैंकले ११ जना ऋणीलाई ६७ लाख ६० हजार रुपैयाँ र १ वटा वित्त कम्पनीले १ जना ऋणीलाई ४ लाख ९२ हजार रुपैयाँ शैक्षिक प्रमाणपत्र धितो राखी कर्जा दिएका हुन् ।

सरकारले बजेटमा उल्लेख गरेकोे अधिकांस बैंकिङ कार्यक्रमहरु यस अघिबाटै सञ्चालनमा छन् । अर्थमन्त्रालयले सहुलियतपूर्ण कर्जा कार्यविधि निर्माण गरी बैंकमार्फत् बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गरिरहेका छन् । सरकारी ब्याज अनुदानमा विभिन्न १० वटा शीर्षकका सहुलियतपूर्ण कर्जा प्रवाहमा भने बैंकहरुको आकर्षण न्यून पाइन्छ ।

ब्याज अनुदानमा व्यवसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, महिला उद्यामशीलता, दलित समूदाय व्यवसाय विकास, उच्च प्रविधिक शिक्षा, भूकम्प पीडितको निजी आवास निर्माण, कपडा उद्योग र सिटिइभीटी तालिमका लागि दिइने कर्जा हुन् ।

यस्ता कर्जा १० लाख रुपैयाँभन्दा माथि धितोमा प्रवाह गर्नुपर्ने छ भने, आवश्यकता अनुसार सोभन्दा तल पनि बैंकहरुले धितो लिएर कर्जा प्रवाह गर्न पाउने प्रवधान गरिएको छ । तर शैक्षिक प्रमाणपत्र धितोमा भने बैंकहरुले सम्पत्ति मूल्यांकनको धितोको आधारमा कर्जा प्रवाह गर्न पाउँदैनन् ।

यी शीर्षकमा हाल ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुले ब्याज अनुदानमा सहुलियतपूर्ण प्रवाह गरिरहेका छन् । सहुलियत कर्जा प्रवाह गर्ने यी बैंकमध्ये पनि २२ वटाले मात्र शैक्षिक प्रमाणपत्र धितो राखी कर्जा प्रवाह गरेका हुन् ।

तर २७ वाणिज्य बैंक, १८ विकास बैंक र २० वित्त कम्पनीहरुले नै यस्तो कर्जा दिनु पर्ने राष्ट्र बैंकको निर्देशन छ । राष्ट्र बैंकले २०७८ साल असार मसान्तसम्म प्रत्येक वाणिज्य बैंकहरुले ५ सय जना, विकास बैंकहरुले ३ सय र वित्त कम्पनीहरुले १ सय जना ऋणीलाई सहुलियतपुर्ण कर्जा प्रवाह गरिसक्न भनेको छ ।

राष्ट्र बैंकले संख्या नै तोकेपनि बैंकहरुले भने सम्पती मुल्यांकन धितोमा दिन मिल्ने कर्जा बढी प्रवाह गरेको देखिन्छ ।

कुन बैंकले शैक्षिक प्रमाणपत्र धितोमा कति ऋणीलाई दिए कर्जा ?
हाल शिक्षित युवाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर बैंक तथा वित्तीय संस्थामा ७ लाख रुपैयाँसम्म कर्जा उपयोग गर्न व्यवस्था छ ।

यो व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले तोकिएको तह उत्र्तिण गरेको शैक्षिक प्रमाणपत्रका साथ कर्जा उपयोग गरिने व्यवसायिक योजना पेश गरेको आधारमा कर्जा स्वीकृत गर्छन् ।

यसरी शैक्षिक प्रमाणपत्र धितोमा १२ वटा बैंकले १० लाख रुपैयाँदेखि २ करोड रुपैयाँसम्म र १० वटा बैंकले १० लाख रुपैयाँभन्दा कम कर्जा प्रवाह गरेका छन् । जसमा शैक्षिक प्रमाणपत्र धितो राखी सबैभन्दा बढी कर्जा दिने पहिलोमा राष्ट्रिय वाणिज्य बैंक, दोस्रोमा प्रभु बैंक, तेस्रोमा कृषि विकास बैंक र चौथोमा मुक्तिनाथ विकास बैंक रहेको छ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४१ जना ऋणीलाई १ करोड ८२ लाख ७१ हजार रुपैयाँ शैक्षिक प्रमाण पत्र धितोमा कर्जा दिएको छ ।

प्रभु बैंकले ३२ जना ऋणीलाई ९४ लाख ८९ हजार रुपैयाँ, कृषि विकास बैंकले ११ जना ऋणीलाई ६४ लाख रुपैयाँ र मुक्तिनाथ विकास बैंकले ८ जना ऋणीलाई ५१ लाख ५० हजार रुपैयाँ शैक्षिक प्रमाणपत्र धितो राखी कर्जा प्रवाह गरेका छन् ।

यसैगरी, सो अवधिमा एनएमबी बैंकले ९ जना ऋणीलाई ४० लाख ९० हजार रुपैयाँ, नबिल बैंकले ६ जना ऋणीलाई ३६ हजार रुपैयाँ, हिमालयन बैंकले ५ जना ऋणीलाई ३२ लाख ४० हजार रुपैयाँ र माछापुच्छ«े बैंकले ३ जनालाई २६ लाख ३६ हजार रुपैयाँ शैक्षिक प्रमाणपत्र धितो राखी कर्जा दिएको छ ।

चालु आवको चैत मसान्तसम्म नेपाल बैंकले ४ जनालाई १९ लाख १६ हजार रुपैयाँ, एभरेष्ट बैंकले ३ जनालाई १७ लाख ६६ हजार रुपैयाँ, सिटिजन्स बैंकले ३ जनालाई १७ लाख २८ हजार रुपैयाँ, नेपाल एसबीआई बैंकले २ जनालाई १२ लाख १९ हजार रुपैयाँ र लक्ष्मी बैंकले २ जनालाई ८ लाख ३९ हजार रुपैयाँ शैक्षिक प्रमाणपत्र धितोमा कर्जा प्रवाह गरेका छन् ।

यस्तै, सो अवधिमा शैक्षिक प्रमाणपत्र धितो राखी ज्योति विकास बैंकले १ जनालाई ६ लाख ८० हजार रुपैयाँ, सनराइज बैंकले १ जनालाई ६ लाख ४४ हजार रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले १ जनालाई ६ लाख २९ हजार रुपैयाँ, सिद्धार्थ बैंकले २ जनालाई ५ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

चैत मसान्तसम्म बैंक अफ काठमाण्डूले १ जनालाई ५ लाख रुपैयाँ, आइसीएफसी फाइनान्सले १ जनालाई ४ लाख ९२ हजार रुपैयाँ, नेपाल बंगलादेश बैंकले १ जनालाई ४ लाख ४० हजार रुपैयाँ र नेपाल इन्भेष्टमेण्ट बैंकले ३ लाख ६४ हजार रुपैयाँ र मितेरी डेभलपमेन्ट बैंकले १ जनालाई ३ लाख रुपैयाँ शैक्षिक प्रमाणपत्र धितोमा कर्जा प्रवाह गरेको छ ।


क्लिकमान्डु