अन्तःशुल्क बढाएर राजस्व लक्ष्य भेटाउने सरकारको योजनामा धक्का



काठमाडौं । अन्तःशुल्क कर बढाएर आन्तरिक राजस्वतर्फको वार्षिक असुली लक्ष्य भेटाउने लक्ष्य राखेको सरकारको योजनामा धक्का पुग्ने देखिएको छ ।
हालसम्मको आन्तरिक राजस्व असुली अवस्था हेर्दा आयकर र मूल्य अभिवृद्धि करतर्फको वार्षिक लक्ष्य भेटिने देखिएपनि अन्तःशुल्कतर्फको कर असुलीमा भने लक्ष्य भेट्न मुस्किल पर्ने देखिएको छ ।

कोभिड १९ महामारीले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावको असर सरकारको राजस्व असुलीमा देखिनु स्वभाविक हो । त्यसमाथि, महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा अवधिमा कर विवरण नबुझाए थप जरिवाना हर्जना नलिने सरकारको निर्णयका कारण पनि राजस्व असुलीमा दबाव देखिएको हो ।

जेठ महिनामा वैशाखको कर विवरण र कर रकम दाखिला गरिसक्नुपर्छ । तर अहिले विवरण र रकम नबुझाए जरिवाना वा हर्जना नलाग्ने भएपछि त्यसको असर असुलीमा देखिएको हो ।

आन्तरिक राजस्व विभागको जेठ २३ गतेसम्मको राजस्व असुली अवस्था हेर्दा वार्षिक लक्ष्यमा अन्तःशुल्कको असुली सबैभन्दा कम देखिन्छ । आयकर ९४.२१ प्रतिशत र मूल्य अभिवृद्धि कर १०२.३७ प्रतिशत असुली हुँदा अन्तःशुल्क भने ८१.०९ प्रतिशत मात्रै संकलन भएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमार्फत करका दरहरु हेरफेर गरेको थियो । आन्तरिक राजस्वसँग सम्बन्धित करका दरहरुमा सरकारले मुल्य अभिवृद्धि करको दरलाई यथावत राखेर केहि क्षेत्रमा छुटको घोषणा गरेको थियो भने आयकरमा पनि राजस्व वृद्धिमा योगदान गर्ने गरी कुनै निर्णय भएको थिएन ।

सरकारले बजेटमार्फत भन्सार कर र अन्तःशुल्कमा मात्रै धेरै हेरफेर गरिएको थियो । यसअर्थमा आन्तरिक राजस्वतर्फको कर असुलीमा अन्तःशुल्कलाई बढी केन्द्रीत गरिएको थियो । तर अन्तःशुल्कको राजस्व संकलन लक्ष्य भने तुलनात्मक रुपमा सबैभन्दा कम देखिएको हो ।

आन्तरिक राजस्व विभागकाअनुसार आइतबार (जेठ २३) सम्ममा अन्तःशुल्क वार्षिक लक्ष्यको ८१ प्रतिशत असुली भएको छ भने मासिक लक्ष्यमा जम्मा २८.९२ प्रतिशत मात्रै असुली भएको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ को जेठ महिनासम्ममा ९० अर्ब ३३ करोड ४१ लाख रुपैयाँ बराबर अन्तःशुल्क कर उठाउने लक्ष्य राखिएकोमा हालसम्म ७३ अर्ब २५ करोड ६३ लाख रुपैयाँ बराबर उठेको छ ।

त्यस्तै आन्तरिक राजस्व विभागले जेठ महिनामा मात्र १२ अर्ब ७५ करोड ३९ लाख रुपैयाँ बराबर अन्तःशुल्क असुलीको लक्ष्य राखेकोमा आइतबारसम्ममा ३ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ बराबर मात्रै असुली भएको छ ।

यहि अवधिमा आयकरतर्फ १ खर्ब ६२ अर्ब ९७ करोड ४ लाख रुपैयाँ बराबरको लक्ष्य राखेकोमा ९४.२१ प्रतिशत अर्थात १ खर्ब ५३ अर्ब ५३ करोड ३० लाख रुपैयाँ बराबर असुली भएको छ ।

विभागका अनुसार जेठ महिनामा ८ अर्ब २६ करोड ९१ लाख रुपैयाँ बराबरको मासिक संकलन लक्ष्य लिइएकोमा २ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ बराबर आयकर संकलन भएको छ । यो मासिक असुली लक्ष्यमा ३४.८७ प्रतिशत बराबर हो ।

त्यस्तै मूल्य अभिवृद्धि करतर्फ हालसम्म लक्ष्यको १०२.३७ प्रतिशत राजस्व असुली भएको छ । आइतबारसम्मको मूल्य अविभृद्धि तर्फको कर असुली ९७ अर्ब ७५ करोड ६४ लाख रुपैयाँ बराबर छ । जेठ महिनामा मात्र १० अर्ब ५४ करोड ४२ लाख रुपैयाँ बराबर मूल्य अभिवृद्धि कर उठाउने लक्ष्यको २२.९२ अर्थात २ अर्ब ४१ करोड ६२ लाख रुपैयाँ बराबर असुली भएको छ ।

विभागले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्मको घरबहाल कर लक्ष्यको ६८.२१ अर्थात २ अर्ब ३० करोड लाख, स्वास्थ्य सेवा कर लक्ष्यको १५२.४२ अर्थात ४ अर्ब ३७ करोड ३ लाख र शिक्षा करतर्फ लक्ष्यको २८.१३ प्रतिशत अर्थात ३४ करोड ८४ लाख रुपैयाँ बराबर संकलन भएको छ ।
कोभिड १९ महामारीले अर्थतन्त्रमा पारेको असर र निषेधाज्ञाका बाबजुद पनि गत वैशाख महिनामा मासिक लक्ष्यको ९५.३३ प्रतिशत आन्तरिक राजस्व उठेको थियो ।

विभागका अनुसार वैशाख महिनाका लागि विभागले कुल ३३ अर्ब ९९ करोड रुपैयाँ बराबरको राजश्व असुली लक्ष्य राखेको थियो । मासिक लक्ष्यको ९५.३३ प्रतिशत अर्थात ३२ अर्ब ४० करोड रुपैयाँ बराबर असुली भएको विभागले जनाएको छ ।

वैशाख महिनामा पनि अन्तःशुल्कतर्फको कर असुली लक्ष्यभन्दा कम थियो भने आयकर र मूल्य अभिवृद्धि कर लक्ष्यभन्दा बढी देखिएको थियो ।

वैशाख महिनामा संकलित कर राजस्वमध्ये अन्तःशुल्कतर्फ ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको लक्ष्य राखेकोमा १० अर्ब ७४ करोड रुपैयाँ बराबर मात्रै असुली भएको थियो । यो रकम लक्ष्यभन्दा १ अर्ब २१ करोड रुपैयाँ अर्थात करिब १० प्रतिशतले कम हो ।


क्लिकमान्डु