जेठको ३ सातामा बैंकले दिए २३ अर्ब ऋण



काठमाडौं । जेठको ३ साता वाणिज्य बैंकहरुले १३ अर्ब निक्षेप संकलन गरी २३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । बैंकहरुले सुचारु राखेको सेवाभन्दा बन्द गरेको सेवावापतको व्यवसाय उल्लेख्य मात्रामा विस्तार भएको हो ।

नेपाल बैंकर्स संघले गत बैशाख ३० गते एक विज्ञाप्ती जारी गर्दै ५ वटा अत्यावश्यक सेवाहरुमात्र बैंकमा सीमित शाखा खोली सुचारु गरिने उल्लेख गरेको थियो । जुन अत्यावश्यक सेवामा कर्जा प्रवाह भने राखिएको थिएन ।

तर, यसबीच नै अर्थात् बैशाख मसान्तदेखि जेठ २१ गतेसम्म २३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको संघद्वारा प्राप्त तथ्यांकले देखाएको छ । निषेधाज्ञाबीच बैंकहरुले दिने अत्यावश्यक सेवाबाट कर्जा सेवा हट्दा पनि निक्षेपको तुलनामा कर्जा प्रवाह बढी थप भएको हो ।

सञ्चालनमा रहेका २७ वाणिज्यहरुले बैशाख मसान्तसम्म ३६ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन जेठको तेस्रो सातासम्म आइपुग्दा २३ अर्ब रुपैयाँले बढेर ३६ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । जेठको पहिलो साता बैंकहरुले ३६ खर्ब १६ अर्ब रुपैयाँ र दोस्रो साता ३६ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

संघले निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखाहरु मार्फत् खाताबाट नगद झिक्ने, खातामा नगद जम्मा गर्ने, रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी सेवामात्र सुचारु गर्ने उल्लेख गरेको थियो ।

तर, यस अवधिमा आयात नरोकिएको हुँदा प्रतीत पत्रको आधारमा कर्जा गइरहेको र केही बैंकहरुले सेयर कर्जासमेत प्रवाह गरेको बैंकर्सहरुको भनाइ छ ।

यसैगरी, गत बैशाख मसान्तमा वाणिज्य बैंकहरुमा ३९ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप थियो । जुन जेठ २१ गतेसम्म आइपुग्दा १३ अर्ब रुपैयाँ थप भएर ३९ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ ।

जेठको पहिलो सातामा वाणिज्य बैंकहरुमा ३९ खर्ब ६१ अर्ब रुपैयाँ र दोस्रो साता ३९ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप थियो ।


पुष्प दुलाल