नेपाल सुरुङ युगमा: कहाँ-कहाँ बन्दैछन् ?



काठमाडौं । सुरुङमार्गका तस्वीर तथा भिडियोहरु देख्नेवित्तकै तपाईंहामीलाई विदेशको झल्को आइहाल्छ । र, मनमा प्रश्न उब्जिहाल्छ हाम्रो देशमा पनि कहिले यस्तो बन्ला ?

नेपालीहरुको आफ्नै देशको सुरुङमार्गमा सवारीसाधान हुइँक्याउने सपना पूरा हुन अब धेरै समय कुर्नुपर्ने छैन । मुलुक सुरुङ युगमा प्रवेश गरिसकेको छ ।

सरकारले कहाँ कहाँ सुरुङमार्ग बनाउँदै छ र त्यसको अहिलेको अवस्था के छ भनेर जानकारी दिने उदेश्यले यो समाचार सामाग्री तयार पारिएको हो ।

शुरु गरौं सरकारले यही जेठ १५मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटबाट । सरकारले आगामी आवको बजेटमा सुरुङमार्ग निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । सुरुङमार्ग निर्माणका लागि १३ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ ।

निर्माणाधिन नागढुंगा सुरुङमार्गलाई ९ अर्ब ८५ करोड रुपैयाँ, काठमाडौं तिनकुने सडकलाई १ अर्ब ८० करोड रुपैयाँ र सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्र मातहतका सुरुङमार्गलाई करिब २ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले सुरुङमार्ग निर्माणलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका कारण सडक विभागका अधिकारीहरु उत्साहित देखिन्छन् । बजेटकोे उपलब्धता तथा निर्माण नै शुरु भएपछि मुलुक सुरुङ युगमा प्रवेश गरेको विभाग मातहतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैशी बताउँछन् ।

‘केहि समयअघि सुरुङमार्ग निर्माण गर्न रोकावट नै थियो । हामीसँग मापदण्ड र खरिद प्रक्रियासम्बन्धी आवश्यक डकुमेन्ट थिएन,’ डा. जैसीले भने, ‘ कसरी काम अघि बढाउने अन्यौल थियो ।’

एक वर्षको अवधिमा मापदण्ड र खरिद प्रक्रियासम्बन्धी स्ट्याण्र्डड बिडिङ डकुमेन्ट तयार गरी कार्यान्वयनमा ल्याउन सफल भइसकिएको छ ।

सडकको तुलनामा सुरुङमार्ग निर्माण प्रक्रिया निकै जटिल हुन्छ, किनभने, पहाड छेडेरसंरचना निर्माण गर्नुपर्छ । सडकको तुलनामा सुरुङमार्ग खर्चिलो पनि हुन्छ । त्यसैले सुरुङमार्ग बलियो र दिगो बनाउन आवश्यक रहेको सरकारी अधिकारीको भनाइ छ ।

यसका लागि इन्जिनियरिङ प्रोक्यूरमेण्ट एन्ड कन्स्ट्रक्सन (इपीसी) मोडल उपयुक्त हुने देखिएको छ । सुरुङमार्ग निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको सिद्धबाबा सुरुङमार्ग इपीसी मोडलमा निर्माण गर्न लागिएको छ ।

साथै आगामी दिनमा निर्माण गरिने सुरुङमार्गहरु पनि इपीसी मोडलमै निर्माण गरिने उनले बताए । इपीसी मोडलमा ठेकेदार कम्पनीले नैै डिजाइन, निर्माण र निश्चित अवधिसम्म सञ्चालन गर्छन् । यसले गर्दा निर्माणमा त्रृटि हुने सम्भावना कम रहन्छ ।

नागढुंगा सुरुङमार्ग
यो आयोजना हाल निर्माणधिन सुरुङमार्ग हो । काठमाडौंको दहचोक-धादिङको सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर छ । यो सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटबाट दहचोकसम्म २.३० किलोमिटर र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट ५६५ मिटर पक्की सडक बनाइने छ ।

साथै काठमाडौंतर्फ फ्लाईओभर पनि निर्माण गरिनेछ । सुरुङमार्ग निर्माणका लागि २०७६ असोजमा सडक विभागका र जापानको हाज्मा–आन्द्रो जेभीबीच सम्झौता भइसकेको छ । ४२ महिनाभित्रमा निर्माण सम्पन्न गर्नेगरी जापानी कम्पनीले साढे १३ अर्ब रुपैयाँमा ठेक्का प्राप्त गरेको होे ।

विसं २०७७ पुसदेखि सुरुङमार्गको काम पनि शुरु गरिएको छ । काठमाडौं र धादिङ दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ । सुरुङ १६० मिटरभन्दा धेरै खनिसकिएको छ । कोरोना संक्रमण रोक्न सरकारले जारी गरेको निषेधाज्ञाको अवधिमा धेरै विकाससम्बन्धी आयोजना बन्द रहे पनि नागढुंगा सुरुङमार्ग भने सुचारु नै रहेको छ ।

आवश्यक सम्पूर्ण स्वास्थ्य मापदण्ड र जिल्ला प्रशासन कार्यालयको स्विकृतमा काम भइरहेको आयोजनाले जानकारी दिएको छ । कर्मचारी तथा कामदारका लागि क्याम्पको व्यवस्था र निर्माण सामाग्रीको अभाव नभएकाले पनि यो आयोजना सञ्चालन भइरहेको छ ।

यो सुङमार्ग निर्माणका लागि जापानी सहयोग नियोग (जाइका)ले सहुलितपूर्ण व्याजमा कर्जा उपलब्ध गराएको छ । २०७३ सालमा करिब १६ अर्ब रुपैयाँ कर्जा उपलब्ध गराउने सम्बन्धमा अर्थमन्त्रालय र जाइकाबीच सम्झौता भएको थियो । जाइकाले नेपाललाई ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि कर्जा उपलब्ध गराएको हो ।

फास्ट ट्र्याकमा ३ सुरुङमार्ग

काठमाडौं-तराई फास्ट ट्रयाक नेपाली सेनाले निर्माण गरिरहेको छ । रणनीतिक तथा आर्थिकरुपमा फास्ट ट्«याक नेपालका लागि महत्वपूर्ण आयोजना हो । यो सडक निर्माण भएसँगै राजधानी र तराईको दुरी ७३ किलोमिटरमा सिमित हुन्छ । ट्र्याक महत्वपूर्ण आयोजना हुनका साथै यो निर्माण प्रक्रिया जटिल पनि छ । यसमा ३ वटा सुरुङमार्ग र १६ वटा अग्ला (विशेष प्रकृतिका) पुल पनि निर्माण गर्नुपर्ने हुन्छ । महादेवडाँडा ३.३५ किलोमिटर, धोन्द्रे १.३७ किलोमिटर र लेनडाँडा १.४ किलोमिटरका ३ वटा सुरुङमार्ग निर्माण हुनेछन् ।

पुल र सुरुङमार्ग निर्माण गर्न सेना र निर्माण कम्पनीबीच २०७८ बैशाख ३१ गते सम्झौता भइसकेको छ । पुल र सुरुङमार्ग निर्माण गर्न २ प्याकेजमा ठेक्का निकालिएको थियो । यसको ठेक्का चीनको चाइना स्टेट कन्स्ट्रक्सन कर्पोेसन र पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेशनले पाएको छ । सुरुङ र पुल निर्माण गर्न ४३ अर्ब ६६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

चिनियाँ कम्पनी पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसनले २४ अर्ब ९७ करोड रुपैयाँ र चाइना स्टेट कन्स्ट्रक्सन कर्पोेसनले १८ अर्ब ६९ करोड ३३ लाख रुपैयाँमा ठेक्का पाएको छ । यद्यपि यो ठेक्का प्रैक्रिया भने विवादमै छ ।

सरकारले २०७४ साउन २७ मा द्रूतमार्गको काम नेपाली सेनालाई सुम्पेको थियो । सेनाले ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाएको थियो । सेनाले द्रुतमार्ग निर्माणको जिम्मा पाएको ३ वर्षसम्म डीपीआर उपलब्ध थिएन । २०७६ भदौमा मन्त्रिपरिषद्ले डीपीआर स्वीकृत गरेसँगै फास्ट्रयाक निर्माणले गति लिन शुरु गरेको हो ।

सिद्धबाबा सुरुङमार्ग

सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डमा पर्ने मृत्यु मार्गका रुपमा पहिचान बनाएको सिद्धबाबा खण्डमा सुरुङमार्ग बन्ने भएको छ । यसका लागि सिद्धबाबा सुरुङमार्ग बनाउन सडक विभागको गुणस्तर अनुसन्धान तथा बिकास केन्द्रले २०७८ जेठ ७ गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिसकेको छ । सिद्धबाबाबाट खस्ने सुख्खा पहिरोका कारण सयौंले ज्यान गुमाइसकेका छन् । आगामी दिनमा पहिरोका कारण हुने जनधनको क्षति रोक्न सरकारले सुरुङमार्ग बनाउन खोजेको बताएको छ ।

सुरुङमार्गको प्रारम्भिक डिजाइन तयार भइसकेको छ । स्विस सहयोग नियोग (एसडीसी)ले सुरुङमार्गको प्रारम्भिक डिजाइन तयार पारेको हो । सिद्धबाबाको समस्या हल गर्न अर्थमन्त्रालयले एसडीसीसँग सहयोग मागेको थियो ।
एसडीसीले सिद्धबाबा खण्डको अध्ययन गर्न विज्ञ टोली नेपाल पठाएको थियो । उक्त टोलीले २०७७ मा प्रारम्भिक डिजाइन तयार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सोही अध्ययनका आधारमा सुरुङमार्ग निर्माण गर्न सम्भव देखिएकाले ठेक्का निकालिएको हो ।

सिद्धबाबामा करिब साढे २ किलोमिटर खण्डमा सुरुङमार्ग र रकसेड निर्माण हुनेछ । सुरुङमार्ग १.२ किलोमिटर र रकसेड १.३ किलोमिटर लम्बाइको हुनेछ । साना ढुंगा खस्ने ठाउँमा रकसेड निर्माण गरिनेछ । यो सुरुङमार्ग निर्माण गर्न करिब ८ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । सहज रुपमा सबै प्रक्रिया अघि बढे आगामी आर्थिक वर्षभित्रै ठेक्का लाग्नेछ ।

आगामी आर्थिक वर्ष थप २ सुरुङ

सरकारले आगामी आर्थिक वर्षदेखि ३ वटा सुरुङमार्गको निर्माण घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सिद्धबाबा, लामाबगर-लाप्चे, धरान-लेउती सुरुङमार्गको निर्माण थाल्ने घोषणा गरेका छन् । यी तीन वटामध्ये सिद्धबाबा सुरुङमार्गको अन्र्तराष्ट्रिय बोलपत्र आह्वान भइसकेको छ ।

अर्थमन्त्रीले दोलखाको लामावगर-लाप्चे र धरान-धनकुटा सडक खण्डको धरान-लेउती सुरुङ मार्ग निर्माण शुरु गर्न बजेट व्यवस्था गरेको बताएका छन् ।

निर्देशक डा. जैशीका अनुसार लामाबगर-लाप्चे सुरुङमार्गको निकाल्नका लागि आवश्यक सबै तयारी पुरा भएको छ । यसको सम्भाव्यता अध्ययन भइसकेको छ । लामाबगर-लाप्चे सुरुङमार्गको अध्ययन प्रतिवेदन हाइड्रो टनेलिङ एण्ड रिसर्च परेको हो ।

अवस्था सामान्य रहे आगामी २ महिनाभित्रमा ठेक्का निकालिने उनले बताए । धरान-लेउती सुरुङमार्गको हाल सम्भाव्यता अध्ययन भइरहेको छ । यो अध्ययन नेपाली परामर्शदाताले गरिरहेका छन् । आगामी आर्थिक वर्षको अन्त्यसम्म ठेक्का निकाल्ने तयारी गरिएको जैशीले बताए ।

काठमाडौं-कोटेश्वर सुरुङ

सरकारले काठमाडौं कोटेश्वर खण्डको सवारी चापलाई व्यवस्थित गर्न तिनकुने-जडिबुटी खण्डमा सुरुङमार्ग निर्माण गर्ने भएको छ । यसका लागि आगामी आर्थिक वर्षका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको छ । तिनकुने-जडिबुटी खण्डको ट्राफिक व्यवस्थापनका लागि हाल जाइकाले अध्ययन गरिरहेको छ । उक्त अध्ययन प्रतिवेदनको आधारमा सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाइनेछ ।

एक दर्जन सुरुङमार्ग पाइपलाइनमा

आगामी आर्थिक वर्षको बजेटमा अर्थ मन्त्री पौडेलले टोखा-छहरे-गुर्जुभज्याङ, वेत्रावती-स्याफ्रुबेशी, खुर्कोट-चियावारी र थानकोट-चित्लाङ सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण कार्य प्रारम्भ गरिनेछ । यी स्थानको प्रारम्भिक सम्भाव्यता अध्ययन भइसकेको छ ।

साथै पृथ्वी राजमार्गको मझिमटार-शक्तिखोर, पोखरा बाग्लुङ राजमार्गको हेम्जा-नयाँपुल, चेपाङ राजमार्गको दुम्लिङ-वाङसिङ, पूर्ब-पश्चिम राजमार्गको दुम्कीवास-वर्दघाट, कोहलपुर-सुर्खेत राजमार्गको बबई-छिन्चु, सुर्खेत-दैलेख सडकको कपासे-सियाकोट, पाल्पा-तम्घास सडकको प्रभास-जोर्ते र विपिनगर-खुटिया-दिपायल खण्डमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन तथा डीपीआर तयार गर्ने आगामी आवको बजेटमा उल्लेख छ ।


पुष्प दुलाल