इन्टरनेटमा प्राइस वार, सस्तो हुँदै सेवा



काठमाडौं । ठूलो व्यापारिक घराना चौधरी ग्रुप इन्टरनेट सेवामा प्रवेश गरेसँगै सस्तोमा बिक्री गर्ने होडबाजी ‘प्राइस वार’ शुरु भएको छ ।

चौधरी ग्रुपको सीजी नेटले मंगबारदेखि इन्टरनेट सेवा शुरु गरेको छ । चौधरी ग्रुपले हाल काठमाडौं उत्पयकामा ९९९ रुपैयाँमा १२० एमबीपीएस (मेगाबीट्स पर सेकेन्ड) इन्टरनेट उपलब्ध गराइरहेको छ । जुन निकै सस्तो हो ।

चौधरी ग्रुपको आगमन अघि इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले ग्राहकबाट ३० एमबीपीएस इन्टरनेटको मासिक १६ सय रुपैयाँसम्म शुल्क लिँदै आएका थिए । चौधरी ग्रुपले सस्तो मूल्यमा इन्टरनेट उपलब्ध गराएसँगै अन्य सेवा प्रदायलाई पनि मूल्य घटाउन बाध्य भएका छन् ।

बिहीबार साँझ डिसहोमका कार्यकारी निर्देशक सुदिप आर्चायले ‘२३३ रुपैयाँमा २५ एमबीपीएस (मेगाबाइट्स पर सेकेन्ड), यसलाई कसैले उछिन्ने छैन,’ फेसबुकमा लेखेका छन् ।

इन्टरनेट सेवामा राज्यले महँगो कर लगाउने गरेको छ । साथै आईएसपीहरुले सामान मूल्यमा इन्टरनेट बिक्री गर्ने भनेर काटर्लिङ पनि गर्दै आएका थिए । नयाँ र ठूलो व्यापारिक घरानाको आगमनसँगै आईएसपीहरु पनि सस्तो मूल्यमा इन्टरनेट उपलब्ध गराउने बाध्य भएका छन् ।

ग्राहकका हिसाबले सबैभन्दा ठूलो आईएसपी वल्र्डलिंकले केही समय अघि १४ हजार ४०० रुपैयाँमा ३० एमबीपीएस इन्टरनेट एक वर्षका लागि उपलब्ध गराउँदै आएको थियो । अहिले कम्पनी सोहि मूल्यमा सोहि अवधिमा ५० एमबीपीएसको स्पिड दिँदै आइरहेको छ ।

क्लासिक टेकले १२५० रुपैयाँमा ५० एमबीपीएस, १४५० रुपैयाँमा ८० एमबीपीएस र १८०० रुपैयाँमा १०० एमबीपीएस स्पिडको इन्टरनेट उपलब्ध गराउन थालिसकेको छ ।

कम्प्यूटर एशोसियशन अफ नेपालका (क्यान)का पूर्वअध्यक्ष विनोद ढकालका अनुसार नेपाल खुल्ला अर्थतन्त्र भएको मुलुक भएकाले बिक्रेताले सस्तो मूल्यमा आफ्नो उत्पादन बिक्री गर्न सक्ने बताउँछन् ।

‘इन्टरनेट सेवामा ठूला व्यापारिक घरानाको आगमनले बजारमा मूल्यमा यसको प्रभाव देखिएको हो । इन्टरनेट अहिले अत्यावश्यक सेवा भइसकेको छ । अध्ययन, काम, मनोरञ्जन सबैका इन्टरनेटबिना सम्भव छैन,’ ढकालले भने, ‘इन्टरनेटको मूल्य सस्तो हुनु आम उपभोक्ताका लागि फाइदाजनक हो ।’

अहिले केही आइएसपीहरुले सस्तो दरमा उच्च गतिको इन्टरनेट दिने घोषणा गरेको छन् । बिक्रेताले भने जति ग्राहकले उच्च गतिको इन्टरनेट प्राप्त गरेका छन् कि छैन भन्ने महत्वपूर्ण हुने तर्फ उनले ध्यानाकर्षण गराए ।

साथै आइएसपीहरु प्रतिग्राहकको सबैभन्दा ठूलो गुनासो भनेको इन्टरनेटको गति सुस्त भयो भन्ने नै हुन्छ ।


पुष्प दुलाल