लाङटाङ राष्ट्रिय निकुञ्जभित्र २० मेगावाट क्षमताको जलविद्युत् आयोजना



काठमाडौं । सामान्यतया राष्ट्रिय निकुञ्जमा कुनै पनि भौतिक पूर्वाारको काम गरिदैन । अझ ठूला आयोजना समेत निर्माण हुँदैन । तर सरकारले नै अनुमति दिएपछि काम गर्न खोज्नेले त गर्ने नै भए ।

यस्तै भएको छ, एक राष्ट्रिय निकुञ्जमा निर्माण हुन लागेको जलविद्युत् आयोजना । रसुवाको लाङ्टाङ राष्ट्रिय निकुञ्जको भू–भागभित्रै गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा नयाँ विद्युत् आयोजना निर्माणको शुभारम्भ भएको छ ।

लाङटाङ खोलामा निरन्तर बग्ने पानीलाई सदुपयोग गर्दै ठूलो स्यापरु पुछारको दोभानमा बाँधबाँधी सुरूङमार्फत स्याफ्रुबेँसीमा पानी पुर्याई २० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको निर्माण शुभारम्भ भएको हो ।

४ अर्ब ५ करोडको लागतमा निर्माण सम्पन्न गर्न मल्टी इनर्जी हाइड्रोपावर कम्पनीमार्फत् सोमबारदेखि निर्माण शुरूभएको लाङ्टाङ खोला जलविद्युत् आयोजना अर्धभूमिगतको संरचना बन्ने र ३० महिनाभित्र निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको उक्त कम्पनी सञ्चालक समितिका सदस्य कर्नेल तामाङले जानकारी दिए ।

कूल ३.२ मिटर साईजको व्यास रहने ३ किलोमिटर सुरूङको सहायताले स्याफ्रूबेँसीस्थित रसुवाको पूरानो सदरमुकामदेखि दक्षिण समथर क्षेत्रमा लगिने पानीबाट विद्युत् उत्पादन गरिने बताइन्छ । विद्युत्गृह भने बाहिरी सतहमा रहने छ ।

लाङ्टाङ खोलामा ३० मिटर लम्वाई र ३० मिटर चौंढाइँ भएको बाँध बाँधिने र सुरूङको सहायताले प्रतिसेकेण्ड १२ घनमिटर पानी विद्युत् गृहमा पुग्नेछ । विद्युत् उत्पादनका लागि दुई वटा पेल्टन टरवाइन जडान हुने निमित्त आयोजना प्रमुख नारायण सुवेदीले जानकारी दिए ।

कोभिड–१९ को सक्रमित समय भएकाले स्वास्थ्यका सबै मापदण्ड पूर्णरूपमा पालना गर्दै सुरूङ खन्ने स्थानको पहिलो ढुङ्गा फुटाली आयोजना निर्माणको शुभारम्भ गरिएको सञ्चालक समितिका सदस्य तामाङले बताए ।

रसुवा जिल्लामा थुप्रै जलविद्युत् आयोजना सञ्चालनमा आए पनि लाङ्टाङ निकुञ्जको संरक्षित क्षेत्रभित्रको भू–भागमा यो पहिलो आयोजना भएको स्थानीय बासिन्दाले बताएका छन् ।

यस्तै रसुवा जिल्लामा हालसम्म अन्य ६ जलविद्युत् आयोजना सञ्चालित रहेका छन् । उत्तरी क्षेत्रमा १११ मेगावाट रसुवागढी, १४ दशमलव ३ माथिल्लो साञ्जेन, ४२ दशमलव ८ तल्लो साञ्जेन, १२० मेगावाट भोटेकाशी, ६ मेगावाट सुपर मैलुङ र दक्षिणी भेकमा १४ मेगावाट फलाखुखोला रहेका छन् ।

रसुवामा सबैभन्दा ठूलो २१६ मेगावाट माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजना भने निर्माण अगाडि बढाउने तरखरमा पुगेको छ ।

रसुवाको जल सम्पदाको उपयोग गर्दै पहिलो चरणमा २२ मेगावाट क्षमताको चिलिमे, दोश्रोमा छ मेगावाट मैलुङ र तेश्रोमा ६० मेगावाट क्षमताको अपर त्रिशूली थ्रिएले उत्पादन गरिरहेको छ ।


क्लिकमान्डु