कोरोनाले ३५ खर्ब डलरको योगदान गर्ने उड्डयन क्षेत्र थला परेपछि आयो ‘खोप राहदानी’को चर्चा



काठमाडौं । संसार नै कोरोनाका कारण समस्याग्रस्त भएको छ । पर्यटन उद्योग तथा हवाई उड्डयन क्षेत्र सबै नराम्ररी प्रभावित भएका छन् ।

आम मानिस गत वर्षदेखि करिब–करिब घरमै छन् । समस्या यसरी विस्तारित हुँदै गएको छ कि, त्यसले पारेको असर असाध्यै विकराल बन्दै गएको छ ।

यस्तो विकराल अवस्थाको सामना गर्नका लागि संसारमा एएउटा नयाँ विकल्पसहितको सोच अगाडि सारिएको छ । त्यो हो, खोप राहदानी ।

विकल्पका रुपमा अगाडि सारिएको यो खोप राहदानीलाई पूर्णरुपमा कार्यान्वयन गर्न पनि संसारभर नै खोप लगाउनुपर्ने हुन्छ ।

तर, यतिबेला खोप १० वटा मुलुकको कब्जामा रहेको छ । सोही कारण संसारका सबै देशले सहजरुपमा खोप पाउने कुरा पनि परेको विषय बन्दै गएको छ ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलले शहरको आर्थिक सफलतामा विशेष भूमिका खेलेको थियो । तर, कोरोना महामारीका कारण यहाँका सम्पूर्ण टर्मिनल बन्द गर्नुपरेको थियो ।

अन्तर्राष्ट्रिय यात्रुहरूको लागि विश्वको सबैभन्दा व्यस्त विमानस्थलका प्रमुखले कोभिड राहदानीहरू नै अब व्यापकरूपमा वैदेशिक यात्रा पुनः निरन्तर गर्ने बाटो भएको बताएका छन् ।

दुबई विमानस्थलका प्रमुख कार्यकारी पल ग्रिफिथले भने- मलाई लाग्दैन यसको अन्य विकल्प छ ।

डिजिटल प्रणालीहरूका आलोचकहरूले त्यसले खोप पाउन नसक्नेहरूप्रति विभेद हुने मत राखेका छन् । ग्रिफिथले आफू त्यस्तो दस्ताबेजको पूर्णसमर्थक भएको बताउँदै त्यसलाई अपरिहार्य बताएका छन् ।

मलाई लाग्छ समस्या खोप राहदानी र त्यसको विभेदको होइन । विश्वव्यापी समतामूलक खोप कार्यक्रम आवश्यकता भएको उनले बताए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र विश्व यात्रा तथा पर्यटन परिषद् भने खोप राहदानी विरोधी धारणा राख्दै आएका छन् । त्यसले दुई तहको समाज सिर्जना गर्छ भन्ने यतिखेर धेरैको चिन्ता पाइन्छ ।

गत महिना डब्ल्यूएचओका डा. माइक रायनले खोप राहदानीका विषयमा उठ्ने नैतिक र निष्पक्षताको चासो दोहो¥याएका थिए।

उनको भनाइ थियो, पुरै असमानरूपमा विश्वमा खोप वितरण भइरहेका बेला यी कुराबारे सोच्नुपर्छ । सरकारहरूले लगाइरहेका प्रतिबन्धहरू र यात्रुले गुमाएका आत्मविश्वासका माझ थलिएको उड्डयन क्षेत्र निकै व्यग्रतापूर्वक तंग्रन खोजिरहेको बीबीसीले जनाएको छ ।

एयर ट्रान्सपोर्ट कार्य समूहका अनुसार महामारीअघि यस क्षेत्रले विश्वको अर्थतन्त्रमा वार्षिक ३५ खर्ब डलर योगदान दिने गरेको थियो ।

त्यसले यस क्षेत्रका विश्वका अन्य ठाउँझैँ दुबई विमानस्थलसमेत नराम्ररी थलिन पुग्यो। त्यसका बाबजुद पनि सन् २०२० मा लगातार सातौँ वर्ष दुबई अन्तर्राष्ट्रिय यात्रुको लागि विश्वको सबैभन्दा व्यस्त विमानस्थल हुन पुगेको थियो । सन् २०१४ मा दुबईले लन्डन हिथ्रो विमानस्थललाई उछिनेको थियो ।

सन् २०१९ मा अहिलेसम्मकै उच्च ८ करोड ६० लाख भन्दा धेरै मानिसहरूले उक्त विमानस्थल हुँदै यात्रा गरेका थिए ।

तर, जब कोरोनाभाइरस महामारीका कारण धेरै विमानहरू उड्न पाएनन् त्यो दर ७० प्रतिशतले घटेर गत वर्ष २ करोड ५० लाखभन्दा केही धेरै मात्र रह्यो।

पल ग्रिफिथले त्यो संख्या बढोस् भन्ने चाहेका छन । उनी भन्छन्- हामी जोखिम व्यवस्थापनमा जानुपर्छ, जोखिमबाट भाग्ने होइन । आउजाउ नबढीकन विश्व लामो समय चल्न सक्छ भन्ने मलाई लाग्दैन, सामाजिक र आर्थिक दुवै रूपबाट। तर विश्वभर देशहरू किन निकै अनुदार भइरहेका छन् भन्ने तपाईँ बुझ्न सक्नुहुन्छ । संक्रमण बढ्ने कुरा आफ्नो पोल्टामा परेको कुरा कुनै पनि नेताले चाहने अन्तिम कुरा हो ।’

विश्वव्यापीरूपमा लगाइएका लकडाउनका माझ गत वर्ष यूएईको अर्थतन्त्रमा ६.१ प्रतिशतको संकुचन देखा परेको थियो ।

ग्रिफिथले त्यहाँको कुल ग्राहस्थ उत्पादन जीडीपीको कम्तीमा ३५ प्रतिशत यात्रा र पर्यटनमा निर्भर रहेकाले त्यसको नाटकीय असरहरू यूएईमा परेको बताए ।

सरसफाई, सामाजिक दूरी र मास्कका विषयबाहेक प्रविधिले समेत कीटाणु फैलन रोक्न सघाइरहेका छन् । मानिसहरू नभेटीकनै गरिने चेक-इन र अध्यागमन व्यवस्थापनका प्रक्रियामा प्रविधिले भूमिका बढेको छ ।

नियम पालनाका विषयमा आफूहरूले ६ हजार सीसीटीभी क्यामेराबाट नजिकबाट निगरानी राखिएको ग्रिफिट्सले बताए ।

यदि अन्तर्राष्ट्रिय उड्डयनले पुनः गति लिन थालेमा ‘आफ्नामा प्रवेश मापदण्ड कस्तो हुने भन्ने देशहरूले निर्णय गर्न सक्छन् र विमान सेवा र विमानस्थलहरूले त्यसलाई कार्यान्वयन गर्नेछन् ’ ग्रिफिथले भनेका छन्, ‘यदि यी सबै कुराले काम गर्यो र सबै एकजुट भए भने खोप राहदानी निकै, निकै सहज हुनेछ र हामी दस्ताबेजबिनै विश्वभर यात्रा गर्न सक्नेछौँ ।’ बीबीसी


पुष्प दुलाल