कोरोनाभाइरसको नयाँ प्रकार, अघिल्लोभन्दा यसपटकको किन भयो शक्तिशाली ?



एजेन्सी । यतिबेला संसारभर नै कोरोनाका नयाँ नयाँ भेरियन्ट देखा परेको छ । विशेष गरी बेलायत, भारत, ब्राजिल, अफ्रिकाका नयाँ नयाँ भेरियन्ट देखिएका छन् । सन् २०१९ को डिसेम्बरमा चीनको उहानमा फेला परेको कोरोना भाइरस पहिलो प्रजातिको भाइरस थियो ।

त्यसको सामान्य लक्षण देखिन्थ्यो । मानिसहरु सुरक्षित भएपछि सहजै त्यसबाट मुक्ति पाएका थिए । पछिल्लो पटक बेलायतको नयाँ भेरियन्ट देखा पर्यो । त्यसको लक्षण नदेखिने तर भित्रभित्रै सकाउने खालको थियो ।

भारत, नेपालका फैलिएको दोस्रो लहरको भाइरस सोही प्रजातिको रहेको बताइँदै आएको थियो । तर, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारत, बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई डब्ल्यूएचओले जटिल प्रकारले भाइरसका रूपमा वर्गीकरण गरेको छ ।

जसका कारण मानिसमा सक्रमण दर समेत वृद्धि भएको छ । यस्तै, मृत्युको दरमा समेत वृद्धि भएको छ । आम मानिसहरु संक्रमित हुने अवस्थामा पुगेका छन् । उनीहरुमा देखिएको लक्षण पनि विगतको भन्दा फरक देखा परेको छ ।

अधिकांश संक्रमितलाई निमोनिया भएको छ । अघिल्ला भेरियन्टमा अक्सिजन नगलाएपनि हुने अवस्था थियो । यस पटक भने विशेष गरी यूवा र कम उमेरकालाई बढी आक्रमण गरेको छ । अघिल्लो पटकको भन्दा अहिलेको नयाँ भेरियन्टले वृद्धवृद्धालाई बढी आक्रमण गरेको थियो ।

डब्ल्यूएचओले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई सोमबार विश्वव्यापी चिन्ताकोे रूपमा वर्गीकरण गरेको छ । डब्लुएचओका अनुसार प्रारम्भिक अध्ययनहरूले भारतमा देखिएको बी.१.६१७ को संक्रमण अन्य प्रकारभन्दा सजिलै फैलिने देखाएको बताउँदै यस विषयमा थप अध्ययनको आवश्यकता रहेको बताएको छ ।

डब्ल्यूएचओका प्राविधिक प्रमुखले सोमबार अहिले उपलब्ध खोपहरूको भारतीय प्रकारमाथि प्रभावकारिता कम हुनसक्ने देखिएको बताए । उनले यो प्रकारका लागि खोपको प्रभावकारिता कम हुनु नै चिन्ताको विषय भएको बताएका छन् ।

भारतमा भेटिएको यो प्रकार ३० भन्दा बढी मुलुकहरूमा फैलिसकेको डब्ल्यूएचओले जनाएको छ । यसबाहेक बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई पनि डब्ल्यूएचओले उस्तै प्रकारले वर्गीकरण गरेको छ ।

कुनैपनि प्रकारलाई डब्ल्यूएचओले चिन्ताको प्रकारमा वर्गीकरण गर्दा सहज संक्रमण, गम्भीर लक्षण, एन्टीबडीको कम प्रभावकारिता र उपचार एवम् खोपको कम प्रभावकारिताको आधार हेर्ने गरेको ती अधिकारीले बताए ।

खास गरी भारतमा कोरोनाको लहर यसरी फैलिएको छ कि चैतको खरमा आगो लागेको जस्तै भएको छ । त्यसको असर स्वभाविक रुपमा नेपालमा परेको छ । संक्रमणको मात्रा हेर्दा भारतको भन्दा नेपालको अवस्था बढी जोखिमयुक्त रहेको छ । तर, केहीले भने अब केही दिन संक्रमणको दरमा वृद्धि हुने र पछि क्रमशः ओरालो लाग्ने दावी गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने संक्रमणको दर अझै बढ्ने दावी गरेको छ ।

बेलायत भ्यारियन्ट भन्दा भारतीय भेरियन्ट बढी खतरनाक रहेको उनीहरुको भनाइ छ । त्यसकारण स्वास्थ्य मापदण्डलाई बढी आत्मसात् गर्नु जरुरी रहेको छ ।


क्लिकमान्डु