कुरिलोको मूल्य अत्यधिक बढ्यो, प्रतिकेजी ११ सय रुपैयाँ
काठमाडौं । बजारमा सबैभन्दा महंगो रहिआएको तरकारी कुरिलोको मूल्य चार दिनमै प्रतिकेजी ५ सय २५ रुपैयाँले बढेको छ । विगतको दिनमा पनि महंगो हुँदै आएको तरकारी कुरिलोको मूल्य निषेधाज्ञामा दैनिक रुपमा बढेको हो ।
शरीर मजबुतीका लागि आवश्यक तरकारीको रुपमा चिनिने कुरिलोको मूल्य गत लकडाउन र निषेधाज्ञामा प्रति केजी नै ५ हजारसम्म पुगेको थियो । तर, जसरी कुरिलोको मूल्य ह्वात्तै बढेको त्यसरी नै मूल्य सस्तिएको थियो ।
अहिले पनि केही हप्तासम्म औसत मूल्य ५ सयसम्म बिक्री हुँदै आएको कुरिलोको मूल्य दिन प्रतिदिन बढेर ११ सय पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिको दैनिक मूल्यका अनुसार करिब चार दिनको अन्तरालमा ५ सय २५ रुपैयाँले बढेको देखिन्छ ।
गत २४ गतेसम्ममा प्रतिकेजी न्यूनतम मूल्य ५५०, अधिकतम मूल्य ६०० र औसम मूल्य ५७५ रुपैयाँ समितिले तोकेको थियो । सो मूल्य निरन्तर उकालो लाग्दै २५ गते औसम मूल्य ६५० रुपैयाँ, २६ गते ९०० सय रुपैयाँ, २७ गते ९५० र आज अर्थात २८ गते बढेर ११ सय रुपैयाँ तोकेको समितिले जनाएको छ ।
समितिले दैनिक बजारमा उपलब्धता र माग अनुसार तरकारीको मूल्य तय गर्दछ । त्यस्तै, पछिल्लो समय दैनिक रुपमा कुरिलोको मूल्य बढ्नुको कारण निषेधाज्ञा रहेको समितिका सुचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । उनका अनुसार बजारमा अहिले पर्याप्त मात्रामा कुरिलो आयात नभएकाले अभाव हुन गई मूल्य बढेको बताए ।
कुरिलो दैनिक उपभोग्य तरकारी होइन । साथै, सामान्य परिवारले कुरिलो किनेर तरकारी खाने प्रचलन निकै कम छ । यसले गर्दा कतिपय सामान्य तरकारी पसलहरूमा कुरिलो पनि पाइदैन । तर, विभिन्न डिपार्टमेन्ट स्टोरहरू तथा ठूला पसलहरूमा भने कुरिलो देख्न सकिन्छ ।
सामान्यतया गाउँ घरमा कुरिलो तरकारीको रुपमा खाइन्छ । भन्ने थाहा नभएपनि शहरहरूमा भने कुरिलोको तरकारी प्रचलन रहेको छ । त्यसमा पनि सामान्य परिवारले भन्दा उच्च वर्गहरूले खाने गरको श्रेष्ठको भनाइ छ । त्यसैले बजारमा अहिले पर्याप्त मात्रामा कुरिलो नआएकाले मूल्य बढ्दै गएको उनले बताए ।
‘कुरिलो दैनिक रुपमा चाहिन्छ भन्ने छैन । कुरिलो कहिलेकाँही मात्र खाने प्रचलन छ । त्यसमा पनि उच्च वर्गहरूसले मात्रै खोजी गर्ने हुँदा बजारमा खासै खपत हुँदैन्,’ उनले भने, ‘अहिले बजारमा केही मात्रामा कुरिलो आइरहेको छ । साथै, पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि यसको माग बढ्न गई मूल्य बढ्दै गएको देखिन्छ ।’
उनका अनुसार गत वर्ष पनि कोरोना संक्रमण बढ्दै गएपछि इम्यूनिटी पावर बढाउनको लागि कुरिलोको माग धेरै आएको थियो । सो बेला प्रति केजी नै ५ हजारसम्म पुगेको थियो । तर, यो वर्ष सो मूल्य कायम नहुने भएपन बढ्न सक्ने बताए ।
साथै, बजारमा अन्य तरकारी जस्तो छिट्टै ओइलाउने, सड्ने बिग्रने नहुने हुँदा महंगोसँगै राख्न, पकाउन सजिलो रहेको उनको भनाइ छ । त्यसैगरी कालीमाटी बजारभन्दा किसान आफैले बिक्री गर्ने गरेको उनले बताए ।
‘किसानहरूले कुरिलोको खेती थोरै मात्रामा गर्दै आएको छ । बजारमा यसको माग पनि सिमित भएको देखिन्छ । त्यसैले कुरिलो कालीमाटी बजारभरी पनि नपाइने हुँदा कुरिलोको मूल्य महंगो रहेको छ,’ उनले भने ।
किन महंगो छ कुरिलो
दैनिक उपभोग्य तरकारीभन्दा महंगो रहेको कुरिलोको फाइदा धेरै रहेको छ । यसले गर्दा मासुभन्दा पनि बढी महंगो भएको व्यवसायीहरू बताउँछन् ।
सामान्यतया गाउँघरमा वनजंगलमा पाइने कुरिलो पछिल्लो समय किसानहरूले व्यवसायीक रुपमा खेती गर्न थालेका छन् । यो एक औषधी जन्य वनस्पति रहेको छ ।
कुरिलो तरकारी होस् वा सुप बनाएर खाने प्रचलन रहेको छ । कुरिलो जति खाँदा स्वादिलो हुन्छ । त्यसरी नै स्वास्थ्यको लागि फाइदाजनक रहेको छ ।
त्यसैले यसको मूल्य महंगो भएको श्रेष्ठ बताउँछन् । खासगरी कुरिलोलाई औषधीको रुपमा प्रयोग गर्दै आएको हुनाले समय समयमा अत्याधिक मूल्य बढ्ने गरेको उनको बुझाइ छ ।