सहकारीले भन्दा चर्को ब्याज लिँदै एनआएसी एशिया, तिरिसकेको कर्जामा ब्याज बढाएर किस्ता तिर्न बोलायो



काठमाडौं । एनआइसी एशिया बैंकले ऋणीसँग सहकारी संस्थाले भन्दा पनि चर्को ब्याज लिएको पाइएको छ ।

हाल ऋण प्रवाह गरी व्यवसाय गर्ने वित्तीय संस्थाहरुमा सबैभन्दा महंगो ब्याजदर सहकारीले लिन्छन् । सहकारीले अधिकतम १५ प्रतिशतसम्म ब्याजदर लिन पाउने व्यवस्था गरिएको छ ।

तर सहकारीले भन्दा महंगो करिब १६ प्रतिशत ब्याज एनआइसी एशिया बैंकले तोकेको तथ्य बाहिर आएको छ ।

कर्जाको मंहगो ब्याजमात्र नभएर बैंकले कर्जा चुक्ता गरिसकेको ऋणीलाई समेत चर्को ब्याज बढाएर पत्र काटेको पाइएको छ ।

चैत मसान्तमा कायम गरेको एनआइसी एशिया बैंकको बेसरेट ६.७७ प्रतिशत छ । राष्ट्र बैंकले बैंकहरुको ब्याजदर एकल अंकमा ल्याउन निर्देशन दिएसँगै सबै वाणिज्य बैंकहरुले एकल अंकमै बेसरेट कायम गरी कर्जा प्रवाह गरिरहेका छन् ।

तर एनआइसीले भने नियामकको नीतिमा चलाखी गर्दै सस्तो बेसरेटमा महंगो प्रिमियम थप गरी सहकारी संस्थाहरुले तोकेको कर्जाको ब्याजदरभन्दा महंगो बनाएको छ । साथै, वेवसाइटमा राखिएको प्रिमियमभन्दा बढी ग्राहकलाई लिएकोसम्म पाइएको छ ।

चर्को ब्याजदर तोक्ने एनआइसी एशिया राष्ट्र बैंकको हस्तक्षेपपछि प्राविधिक गल्ती भन्दै ब्याक

चुक्ता गरेको कर्जाको १६ प्रतिशत ब्याज
एनआइसीबाट २०७३ साल माघ १९ गते बिराटनगरका दिनेश सुवेदीले सोही क्षेत्रको बैंकको शाखा कार्यालयबाट घर कर्जा लिएका थिए ।

सुवेदीले आफ्ना छोराहरु दिपेश र दिवश सुवेदीको नाम रहेको कम्पनी धितो राखी बैंकबाट ४ करोड ६० लाख रुपैयाँ घर कर्जा लिएका थिए । करिब ४ वर्ष अघि मासिक १३.४९ प्रतिशत ब्याजदरमा १५ वर्षे घर कर्जा लिएका सुवेदीले गत फागुन मसान्तमै कर्जा चुक्ता गरिसकेको दावी गर्छन् ।

‘अघिल्लो लकडाउनमा २ महिना जतिको किस्ता बुझाउन सकेको थिइन, त्योभन्दा अघिसम्म बैंकमा १३.४९ प्रतिशत ब्याजदरमै साँवा ब्याज बुझाइरहेको थिए,’ उनले क्लिकमाण्डूसँग भने, ‘त्यो समय ८.५० प्रतिशत ब्याजमा वक्यौता रहेको सम्पूर्ण साँवा ब्याज भुक्तानी गर्न भनेर बोलावट आएको थियो र सोही समय नै मैले सबै कर्जा चुक्ता गरेको थिए ।’

बैंकको कर्जा डिपार्टबाट कर्जा चुक्ताको रिपोर्टसम्म लिएर ढुक्क भएर बसेका सुवेदीलाई २०७८ बैशाख १४ गते अचानक बैंकले पत्राचार गर्दै कर्जाको ब्याजदर बढेको सूचना पठायो ।

‘चैतको अन्तिम साता अब बैंकमा एक रुपैयाँ पनि बाँकी छैन भनेर पत्र दिएको छ तर वैशाखमा आएर १ गतेदेखि ब्याज बढ्छ भनेर बैशाख १४ गते पत्र आयो,’ उनले भने, ‘सीआइसी रिपोर्ट दिइसेकको पछि ऋणीलाई कर्जा बाँकी भए पनि कति बाँकी छ त्यो जानकारी गराउनु पर्ने हुन्छ र ब्याजदर बढाउँदा पनि ऋणीलाई जानकारी गराउनुपर्ने हुन्छ त्यो कुनै काम बैंकले गरेको छैन ।’

गत मंसिर मसान्तमा साढे ८ प्रतिशत ब्याजदरमा सम्पूर्ण कर्जा चुक्ता गरेर बसेको ५ महिनापछि ९.९९ प्रतिशत ब्याजबाट १५.७० ब्याजदर निर्धारण गरिएको पत्र बैंकले पठाएको उनले जानकारी दिए ।

निषेधाज्ञाबीच बैंकले आफूलाई मात्र नभएर अन्य ऋणीहरुलाई यस्तै प्रकारको दुःख दिएको उनले बताए । प्रायः कर्जा सम्झौता पत्रमा बैंकले बजार परिस्थिति अनुसार ब्याजदर परिवर्तन गरिने सम्झौता गर्ने र ब्याजदर घट्दा नघटाई बढ्दा मात्र बिना जानकारी बढाउने गरेको उनले गुनासो गरे ।

बैंकले बिराटनगरका प्रायः ऋणीलाई अनावश्यक दुःख दिएको हुँदा सोको गुनासो राष्ट्र बैंकलगायत प्रधानमन्त्रीलाई समेत निषेधाज्ञापछि गर्ने तयारी गरिएको उनको भनाइ छ ।

नीति विपरीत कर्जाको प्रिमियम बढाउँदै एनआइसी एशिया
राष्ट्र बैंकले गत साउन १२ गते निर्देशन जारी गर्दै कर्जाको ब्याजदर परिवर्तन प्रिमियम परिवर्तन गरेर नभएर बेसरेट परिवर्तन गर्दामात्र गर्न पाउने व्यवस्था गरेको छ ।

जसअनुसार बैंकहरुले कर्जा सम्झौतामा उल्लेख गरेको प्रिमियम कर्जा अवधिभर परिवर्तन गर्न पाउँदैनन् ।

तर एनआसीले भने ११.५० प्रतिशत बेसरेटमा साढे १ प्रतिशत प्रिमियम जोडेर प्रवाह गरेको सवारी कर्जाको प्रिमियम नै ८ प्रतिशतले बढाएको पाइएको छ ।

बैंकको बिराटनगर शाखाबाट २०७५ असोजमा सन्तोष प्रसाइले मासिक १३ प्रतिशत ब्याजदरमा ३३ लाख रुपैयाँ आफ्नो कम्पनीको नाममा सवारी कर्जा लिएका थिए ।

कर्जा सम्झौतामा बेसरेट परिवर्तन हुँदा ब्याजदर परिवर्तन हुने सम्झौता गरेपनि बैंकले प्रिमियम नै बढाएर ब्याजदर बढाएको व्यवसायी सन्तोष प्रसाइले बताए ।

‘बैंकबाट कर्जा लिँदा साढे १ प्रतिशत प्रिमियम जोडेर १३ प्रतिशत ब्याजदरमा सवारी कर्जा लिएको थिए तर आजको दिनमा बैंकले समयमा साँवा ब्याज भुक्तानी गरिन भनेर ब्याजदर १४.७० प्रतिशत पुर्याएको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘अहिले बैंकको बेसरेट ६.७७ प्रतिशत छ त्यो अनुसार मेरो कर्जाको ब्याजदर घट्नुपर्ने हो तर प्रिमियम बढाएर ब्याज असुली रहको छ ।’

राष्ट्र बैंकको नीति अनुसार बैंकले प्रिमियम बढाउन नपाउने भएपनि बैंकले नियामककै नीति विपरीत काम गर्दा सम्बन्धित निकायले चासो नदेखाएको उनको गुनासो छ ।

‘कोभिडका कारणले २/३ महिनाको किस्ता भुक्तानी गर्न बाँकी थियो, बैंकले मंसिरमा वक्यौता रहेको सम्पूर्ण किस्ता १० प्रतिशत ब्याजदरमा भुक्तानी गर भनेपछि त्यस समयमा ऋण गरेर किस्ता क्लियर गरे,’ उनले थपे, ‘त्योबेला अब १० प्रतिशत ब्याजदर कायम गर्छु भनेको बैंकले अहिले १४.७० प्रतिशत ब्याजदर लिइरहेको छ ।’

कारोबार गर्ने हरेक ग्राहकलाई बैंकले अनावश्यक दुःख दिने गरेको र सोमा सम्बन्धित निकायले वास्ता नगरेको उनको भनाइ छ ।

‘हामी राष्ट्र बैंकको नीति र बैंकिङ कारोबार सम्बन्धी केही हदसम्म जानकार हुने व्यक्तिलाई त बैंकले अनेक दुःख दिएको अनुभव छ भने, बैंकका अधिकांश ऋणी रिटेलका छन्, तिनले प्रायः बैंकिङ नीति बुझदैनन्, त्यस्ता ग्राहकहरु कति पीडित भएका होलान् अनुमान सजिलै लगाउन सकिन्छ,’ उनले अक्रोश व्यक्त गरे ।

राष्ट्र बैंक भन्छ- नीति विपरीत कारोबार गरेको भए कारवाही गर्छौ
राष्ट्र बैंकले २०६९ सालको मौद्रिक नीतिमै बैंकहरुको आधारदर निर्धारण गरी कर्जाको ब्याजदर तोक्नुपर्ने उल्लेख गरेको थियो । ०७४/७५ मा पुनः निर्देशन जारी गर्दै बेसरेट तोकेर मात्र ब्याजदर निर्धार गरी सोमा केही प्रतिशत प्रिमियम थप गरी कर्जा प्रवाह गर्न पाउने व्यवसथा गरेको छ ।

सो अघिसम्म बैंकहरुले एकमुष्ट ब्याजदर उल्लेख गरी कर्जा प्रवाह गर्थे । यसरी एकमुष्टमा ब्याजदर उल्लेख गर्दा अत्यधिक ब्याजदर लिएको निष्कर्ष निकाल्दै राष्ट्र बैकले बेसरेट र प्रिमियम व्यवस्था गरेको हो ।

सो व्यवस्थापछि बैंकले सोअघि गरिएको सम्पूर्ण कर्जा सम्झौतालाई पुनः नयाँ व्यवस्था अनुसार बेसरेट र प्रिमियम छुट्याएर ब्याजदर तोकेर बनाउन समेत भनेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए ।

जसअनुसार बैंकले सो अघिका सम्पूर्ण कर्जा सम्झौतालाई नयाँ व्यवस्था अनुसार बनाउनुपर्ने थियो । तर बैंकले नबनाएको ऋणीहरु प्रसाइ र सुवेदी बताउँछन् ।

बैंकले नियमकको निर्देशन विपरीत काम कारवाही गरेको पाइएमा राष्ट्र बैंक कारवाही गर्न पछि नहटने ढकालको भनाइ छ ।

‘वाणिज्य बैंकहरुले १४/१५ प्रतिशत ब्याजदर लिनु भनेको नै अस्वभाविक हो, नियमकले गरेको नयाँ नीति तथा निर्देशन अनुसार बैंकहरुले आफ्नो काम कारवाहीलाई अपडेट गर्दै जानुपर्छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘ऋणीलाई प्रिमियम नतोक्नु वा तोकिएको प्रिमियममा थप गर्नु दुबै बैंकको गल्ती हो तर एनआइसी एशिया बैंकको सन्ंदर्भमा आएका विषयमा बैंक सुपरिभिजनले अनुसन्धान गरिरहेको छ ।’

यदी बैंकले नीति विपरीत गएर काम गरेको भएमा दफा १०० बमोजिम बैंकलाई राष्ट्र बैंकले कारवाही गर्ने उनले बताए ।

बैंकद्वारा गल्ती स्वीकार
राष्ट्र बैंक, बैंक सुपरीवेक्षणले एनआइसी एशियाले ग्राहकलाई दिएको दुःखबारे सुचित हुने बित्तिकै बैंकलाई सम्पर्क गरेको थियो । तर त्यो समय बैंकले सोझै त्यसमा अस्वस्कार गरेको बैंक सुपरीवेक्षणका एक अधिकारीले बताए ।

‘हामीले पनि विभिन्न पत्रपत्रिका र समाजिक सञ्जालमार्फत् ब्याजदर बढाएको सूचना पाएका थियौ,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, ‘त्यो समय सुपरीवेक्षणको एनआइसी एशिया बैंक हेर्ने डेस्कबाट सोधपुछ गर्दा त्यो इस्यु नै होइन भनिएको थियो तर अहिले लगातार सम्पर्क गरी सो विषयमा सोधपुछ गरेपछि बैंकले गल्ती स्वीकार गरी सम्बन्धित शाखामा छानबिन गर्ने बताएको छ ।’

अहिले एनआइसी एशियाको ब्याजदरको विषयमा सम्बन्धित विभागमा अध्ययन छानबिन भइरहेको र तथ्यसत्य बाहिर आएपछि राष्ट्र बैंकले ऐनले तोकेको कारबाही बैंकलाई गर्ने ती अधिकारीले बताए ।


क्लिकमान्डु