माथिल्लो तामाकोशीको मुख्य सुरुङमा पानी खसालियो, पहिलो चरणमा ७६ मेगावाट विद्युत् उत्पादन हुने



काठमाडौं । निर्माणको अन्तिम चरणमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङमा पानी खसाल्न शुरु गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बिहीबार आयोजनाको सुरुङमा पानी खसाल्ने कार्यको शुभारम्भ गरेका हुन् ।

४५६ मेगावाट उत्पादन क्षमताको राष्ट्रिय गौरवको यो आयोजनाको पेनस्टक टेस्टका लागि मुख्य सुरुङमा पानी खसालिएको हो । सुरुङ परीक्षण गर्नका लागि ७ देखि १० दिनसम्म समय लाग्नेछ ।

सुरुङ र पेनस्टक परीक्षणपछि जेठको पहिलो हप्तातिर पहिलो युनिट सञ्चालन गरी ७६ मेगावाट विद्युत् उत्पादन गरिनेछ । आयोजनामा जम्मा ६ वटा युनिट रहेकोमा एक–एक गरी सबै युनिट सञ्चालन गर्ने असार मसान्तसम्ममा आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आइसक्नेछ ।

आर्थिक वर्ष २०६७÷६८ बाट शुरु भएको यो आयोजना २०७१ साल चैतमा उत्पादन लक्ष्य राखेर शुरु भएकोमा ६ वर्ष पर धकेलिएर सञ्चालनमा आउन लागेको हो ।

आयोजनाको शुरुवाती लागत अनुमान ३५ अर्ब रुपैयाँ बराबर रहेकोमा अहिले बढेर ब्याज पुँजीकरण सहित ७६ अर्ब रुपैयाँ बराबर पुगेको छ ।

आयोजना निर्माणमा ढिलाइ हुँदा ब्याज पुँजीकरण मात्रै २४ अर्ब पुगेको छ । त्यसबाहेकको आयोजना निर्माण लागत ५२ अर्ब ३० करोड रुपैयाँ बराबर छ ।

आयोजनालाई राष्ट्रिय प्रशारणमा जोड्ने २ सय २० केभी गोंगर–खिम्ती प्रशारणलाइनको निर्माण सम्पन्न भइसकेको छ ।

माथिल्लो तामाकोशी पूर्णसञ्चालनमा आएपछि हाल नेपालले भारतबाट गर्दै आएको उर्जाको केही हिस्सा घट्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु