काठमाडौं । राष्ट्र बैंकमा २९ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जरको पाइपलाइनमा छन् ।
मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गरी अन्तिम स्वीकृतिको यी बैंक तथा वित्तीय संस्थाहरु एक वर्ष अघिबाट राष्ट्र बैंकमा पाइपलाइनमा बसेका हुन् ।
मर्जरको पाइपलाइनमा रहेका बैंक तथा वित्तीय संस्थाहरु मध्ये एक वाणिज्य बैंक, २ वटा विकास बैंक, १ वटा फाइनान्स कम्पनी र २५ वटा लघुवित्त वित्तीय संस्थाहरु हुन् ।
मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गरी राष्ट्र बैंकमा आए पनि केहीले संस्थाहरुले अन्तिम स्वीकृतिका लागि आवश्यक प्रक्रिया पूरा गर्न ढिलाइ गरेका राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।
‘हतारमा एमओयू गरेर राष्ट्र बैंक आउँछन्, त्यसमा आवश्यक प्रक्रिया पूरा गर्नमा भने ढिलाइ गर्ने पाइपलाइनमा भएका केही बैंक तथा वित्तीय संस्थाहरु छन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘मर्जरको गराउँछौ भनेर स्वीकृति माग्न आएका संस्थालाई प्रक्रिया चाँडो गर भनेर राष्ट्र बैंकले भन्न मिल्दैन, उनीहरुको आन्तरिक छलफलको समयमै टुङ्गो नलाग्दा प्रक्रिया ढिलो भएको हो ।’
यस अघि मर्जर तथा प्राप्तिमा गएका बैंक तथा वित्तीय संस्था चुक्तापुँजी पुर्याउन नसकेका कारणले भएको हुँदा राष्ट्र बैंकले सोही अनुसारले प्रक्रिया पूरा गर्न तदारुकता देखिए पनि पछिल्लो समय सो नभएको उनको भनाइ छ ।
‘पुँजी पुर्याउनका लागि हुुने मर्जर भइसकेका छन्, पछिल्लो समय तोकिएभन्दा बढी व्यवसायको आकार, पुँजी बढाउने लगायत अन्य उद्देश्यले बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिमा संलग्न भएका हुन्,’ उनले थपे, ‘केही संस्थालाई राष्ट्र बैंकले सैद्दान्तिक स्वीकृति दिएरपनि आवश्यक प्रक्रिया समयमै नपुर्याइ पाइपलाइनमै बसेका छन् ।’
राष्ट्र बैंकले मर्जर तथा प्राप्तिको सैद्दान्तिक स्वीकृति दिएको ३ महिनाभित्र अन्तिम स्वीकृतिको प्रक्रिया बैंक तथा वित्तीय संस्थाले पूरा गर्नुपर्छ । साथै, अन्तिम स्वीकृति पाएको १ महिनाभित्र एकीकृत कारोबार गर्नुपर्ने हुन्छ ।
तर, कतिपय बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको मर्जर तथा प्राप्तिको सैद्दान्तिक स्वीकृति दिएर पनि एकीकृत कारोबार शुरु गर्न समय लगाएको उनले बताए ।
कुन बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिका पाइपलाइन कहिलेदेखि ?
२०७६ साल पुस १४ गतेदेखि धौलागिरी र आँधीखोला लघुवित्त वित्तीय संस्था राष्ट्र बैंकको मर्जरको पाइपलाइनमा छन् ।
यसैगरी, २०७७ सालमै प्रारम्भिक सम्झौता गरी राष्ट्र बैंकमा पाइपलाइनमा २७ वटा बैंक तथा वित्तीय संस्थाहरुमा छन् । जसमा मिर्मिरे लघुवित्त र सिर्जना लघुवित्तले असोज १२ गतेदेखि, स्वास्तिक र खप्तड लघुवित्त असोज ५ गतेदेखि, गरिमा विकास बैंक र साहारा विकास बैंक असोज १९ गतेदेखि पाइपलाइनमा बसेका हुन् ।
यस्तै, पुस १२ गतेदखि विन लघुवित्त र नेपाल सेवा, डिप्रोक्स र नाडेप लघुवित्त, आरम्भ चौतारी, बिपिडब्लु र देउराली लघुवित्त, सीवाइसी नेपाल र शालिग्राम लघुवित्त पाइपलाइनमा छन् ।
नेशलन र महिला लघु्वित्त, इन्फिन्टि र नेपाल एग्रो लघुवित्त, युनिक नेपाल र घोडीघोडा लघुवित्त गत फागुन १२ गतेदेखि मर्जरको पाइपलाइनमा अन्तिम स्वीकृति पर्खेर बसेका छन् ।
सिटिजन्स बैंक र सिर्जना फाइनान्स पनि ०७७ चैत १७ गतेदेखि राष्ट्र बैंकमा मर्जरको पाइपलाइनमा छन् ।
प्रतिक्रिया