तरकारी र कुखुराको मासुको मूल्यमा बिचौलिया हाबी
काठमाडौं । हरियो तरकारी र कुखुराको मासुमा अत्यधिक मूल्य वृद्धि भएको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा संरक्षण विभागले गत बिहीबार (वैशाख ९) गते राती काठमाडौंको थानकोट नागढुङ्गामा अनुगमन गर्यो ।
स्थानीय प्रशासन र उपभोक्ता अधिकारकर्मीहरू समेतको सहभागितामा विभागले स्रोत मै अनुगमन गर्ने नीति अनुरुप थानकोटमा अनुगमन गरेको हो ।
विभागले काठमाडौंको मुख्य प्रवेश नाका थानकोटा नागढुङ्गामा उपत्यका प्रवेश गर्ने कुखुरा र तरकारी बोकेको मालबाहक सवारी साधनहरूको अनुगमन गरेको थियो । बिहीबार नाकामा अनुगमन गरेको विभागले मालवस्तु प्राप्त गर्ने कालीमाटी लगायतका फलफूल तथा तरकारी र मासुको थोक व्यापार गर्ने व्यवसायीमा अनुगमन गर्यो । सो अनुगमनबाट व्यवसायीहरूको श्रृंखलाबद्ध कारोबार विवरण लिइएको छ विभागले जनाएको छ ।
विभागका प्रवक्ता शिवराज शेढाईंले विभागमा आएको गुनासो र चासो सम्बोधन गर्नको लागि नाकामा अनुगमन गरेको बताए । उक्त अनुगमन र शुक्रबार बिहान कालीमाटी फलफूल तथा तरकारी बजार अनुगमन गर्दा तरकारी बजारमा बेतिथी देखिएको विभागले निष्कर्ष निकालेको छ ।
‘नाकामा अधिकांश तरकारी तथा कुखुराको मासु बोकेको मालबाहक अनुगमन गर्दा विभागले तोकेको अनुसार कुनै पनि काम भएको देखिएन,’ उनले क्लिकमान्डूसँग भने, ‘अधिकांश मालबाहक गाडीमा कोहीसँग पनि बिल बिजक नभएको देखियो । साथै सकी/नसकी लोड गरेर ल्याइएको पाइयो ।’
त्यसैगरी, शुक्रबार बिहान होलसेल बजारमा अनुगमन गर्दा पनि खरिद र बिक्री बिल बीजक जारी नभएको पाइएको उनको भनाइ छ । यसले गर्दा बेतिथिकै कारण किसान र उपभोक्ता मारमा परेको उनको बुझाइ छ ।
प्रवक्ता शेढाईंका अनुसार क्वारेन्टाइन पनि अव्यवस्थित देखिएको जनाए । ‘बिल बीजक मात्रै होइन । तरकारी ढुवानीको भाडामा पनि मनलागी गरेको पाइयो,’ उनले भने, ‘सबै ढुववानीकर्ताहरूको आ–आफ्नै भाडा तोकेको देखिन्छ । यसले गर्दा तरकारीमा धेरै बेतिथि देखियो ।’
विभागले अनुगमन गरेअनुसार कुनै पनि ढुवानीकर्ताले बिलको प्रयोग नगरेको उनको गुनासो छ । यसले गर्दा किसानदेखि उपभोक्तासम्म कतिमा खरिद गरेको, कतिमा बिक्री गर्ने यकिन नभएको उनले बताए ।
साथै, मूल्यमा निकै अन्तर पाएको विभागले जनाएको छ । ‘बेलुका नाकामा प्रतिकेजी ८ रुपैयाँदेखि १० रुपैयाँमा खरिद गरेको तरकारीको मूल्य ५० रुपैयाँदेखि एक सय रुपैयाँसम्म बिक्री गरेको पाइयो,’ उनले भने । जसमा किसानबाट उपभोक्तासामू पुग्दा तरकारीको मूल्यमा निकै अन्तर रहेको विभागको निष्कर्ष छ ।
विभागले अनुगमन गरेको तरकारी तथा कुखुरको मासु सम्बद्ध केही थोक व्यवासायीहरूलाई ३ दिनभित्र आ-आफ्नो व्यवसाय दर्ता, नविकरण तथा खरिद बिक्री सम्बन्धी कागजात पेश गर्न निर्देशन दिइएको जनाएको छ । सो कागजात पेश भएमा अध्ययन गरी दण्डजरिवाना गर्ने प्रवक्ता शेढाईंले बताए ।
बिचौलियाको अत्याधिक हाबीः अधिकारकर्मी
यसैगरी विभागको टोमलीसँगै सहभागी भएका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले किसानबाट उपभोक्तासम्म आइपुग्दा अत्याधिक मूल्यको अन्तर देखिएको बताए । जसमा उक्त क्षेत्रमा बिचौलियाको अत्याधिक हाबी रहेको उनले जिकिर गरे ।
विभागको नेतृत्वमा तरकारी, माछा, मासुको मूल्य अस्वाभाविक रुपमा मूल्य वृद्धि भयो भनेपछि निर्देशकसहितको टोली थानकोटको नागढुङ्गा अनुगमन गरेको थियो । जसमा धादिङबाट प्रतिकेजी ११ रुपैयाँमा ल्याएको करेला कालीमाटी बजारमा ८० रुपैयाँसम्म बिक्री गरेको पाइयो ।
त्यस्तै, १५ देखि २० रुपैयाँमा ल्याएको लौका एक सय रुपैयाँ बिक्री गरेको उनको भनाइ छ ।
त्यतिमात्रै नभई काठमाडौंको टोखामा रहेको ओम फ्रेस हाउसले पशुसेवाको डाक्टरको सल्लाहबिना बाराबाट ल्याएको कुखुराको क्वारेनटाइनको मिति सच्याउँदै ढुवानी गरेको उनको भनाइ छ । यसले गर्दा हरेक तरकारी तथा मासुजन्य पदार्थमा बिचौलियाको हाबी रहेकोले तरकारीको अत्याधिक मूल्य बढेको उनले बताए ।
उपभोक्ता ऐन २०७५ ले सरकारले तरकारी खरिद तथा बिक्रीको तह निर्धारण गर्न सक्नेछन् । उत्पादक, ढुवानीकर्ता र उपभोक्तासम्म पुग्दा कतिवटा तह हुने र अत्यावश्वयक वस्तुको लिस्टिङ तयार गर्न सक्ने कानुनले अधिकार दिएको छ ।
तर, सरकारले तरकारी तथा अन्य वस्तुको मूल्य अत्याधिक बढ्दा जिम्मेवार नबन्दा पटक-पटक सोही समस्या देख्दै आएको छ ।
‘विभागले दुई वर्ष अगाडि धादिङ, मकवानपुर, चितवनलगायत अन्य तरकारी पकेट जोनका साथै नाकामा बसेर अनुगमन गरेको थियो,’ उनले भने, ‘त्यसबेला पनि बिचौलियाको हाबी थियो ।
अहिले पनि कायमै छ । यस क्षेत्रमा बिचौलिया नियन्त्रण नगरेसम्म तरकारी, खाद्यान्न, मासुजन्य पदार्थमा समस्या आइरहन्छ ।’
त्यसैगरी पछिल्लो समय म्यानमारमा आन्दोलन हुँदा अत्याधिक दालको मूल्य बढाएको छ । यसको लागि सरकारले आफ्नो देशभित्र भएको खाद्यान्नको मूल्य बढाउनुपर्ने कुनै आवश्यक हो की होइन यस विषयमा अध्ययन गर्नुपर्छ । साथै, सरकारी नियमन गर्ने निकाय कमजोर भएकाले आगामी दिनमा पनि उक्त समस्या आइरहने उनको भनाइ छ ।
त्यसैगरी, पछिल्लो समय कुखुराको अत्याधिक मूल्य बढाएको सर्वसाधारणहरू गुनासो प्राप्त भएपछि विभागले केन्द्रमै अनुगमन गर्ने भएको छ ।
हाल बजारमा कुखुराको मूल्य बढेर प्रतिकेजी ४ सय ५० पुगेको छ । यसमा पनि बिचौलियाको हाबीका कारण अत्याधिक मूल्य वृद्धि भएको विभाग र उपभोक्ताकर्मीको निष्कर्ष छ ।