३५ करोड लगानी गरेर ग्वार्को चोकमा फ्लाइओभर बनाइँदै



काठमाडौं । विस्तारित चक्रपथको कोटेश्वर-कलंकी खण्डमा पर्ने ग्वार्को चोकमा फ्लाइओभर (ओभरपास) बन्ने भएको छ ।

सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ग्वार्को चोकमा ओभरपास निर्माण गर्न अर्थमन्त्रालयसँग १ करोड ७४ लाख रुपैयाँ बजेट माग गरेको छ ।

२०७७ चैतको दोस्रो साता केन्द्रले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् अर्थमन्त्रालयसँग बजेट माग गरेको हो । ग्वार्को चोकमा ओभरपास बनाउन करिब ३५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

केन्द्रले चक्रपथको कलंकी-कोटेश्वर खण्ड अन्तर्गत सबैभन्दा धेरै जाम हुने ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ग्रेड सेपरेटेड इन्टरसेक्सन निर्माण गर्ने योजना अघि बढाएको थियो ।

सोही योजनाअनुसार जियोकम/बीडीए/रेज जेभीले बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने जिम्मा पाएको थियो ।

परामर्शदाताले ग्वार्को चोकमा ओभरपास, सातदोबाटो खण्डमा सातदोबाटो चोक र चापागाँउ चोकमा अन्डरपास, एकान्तकुना खण्डमा एकान्तकुना चोकमा ओभरपास र नख्खु चोकमा अण्डरपास निर्माण गर्ने गरी डिजाइन तयार गरी केन्द्रलाई हस्तान्तरण गरिसकेको छ ।

परामर्शदाताले बुझाएको डीपीआरको अन्तिम मूल्यांकन भइरहेको छ । चालु आवमा यो खण्डका लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ । ठेक्का निकाल्नु अघि आवश्यक स्रोत शुनिश्चित गर्न अर्थमन्त्रालयसँग थप बजेट माग गरिएको बज्रचार्यले बताए ।

बहुवर्षिय ठेक्का अन्तर्गत ग्वार्को चोकमा ओभरपासबनाउन लागिएको हो । अर्थमन्त्रालयले बजेटको शुनश्चिता गरेसँगै निर्माण प्रक्रिया अघि बढाइने छ ।

अर्थमन्त्रालयले बजेट विनियोजन गरेमा बोलपत्र दस्तावेज तयारगरी चालु आव भित्रै ठेक्का निकाल्ने केन्द्रको योजना छ ।

प्रारम्भिक डिजाइन र लागत मूल्यका कारण सातदोबाटो र एकान्तकुनामा तत्काल नयाँ पूर्वाधार विकास गर्न खर्चिलो हुने देखिएको छ । तुलनात्मकरुपमा सस्तो र नयाँ संरचना पनि थोरै निर्माण गर्नुपर्ने भएकाले ग्वार्को चोकमा भने पाइलट प्रोजेक्टका रुपमा निर्माण गर्न केन्द्रको भनाइ छ ।

काठमाडौं उपत्यकाको बढ्दो ट्राफिक चापलाई व्यवस्थित गर्न ग्रेड सेपरेटेड इन्टरसेक्सन आवश्यक भएकाले पाइलेट प्रोजेक्टको रुपमा ग्वार्को चोकमा ओभरपासबनाउन खोजिएको बज्रचार्यले बताए ।

‘उपत्यकाको प्रमुख समस्याका रुपमा ट्राफिक जाम देखिएको छ । वर्षेनी सवारीसाधन थपिरहेका छन्’, उनले क्लिकमाण्डूसँग भने, ‘बढ्दो ट्राफिक चाप व्यवस्थापन गर्न नयाँ संरचना आवश्यक छ । परम्परागत डिजाइनको सडकले ट्राफिक चाप धान्न सकिने अवस्था छैन ।’

साढे १० किलोमिटर कलंकी-कोटेश्वर सडक चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा ८ लेनमा विस्तार गरिएको हो । २०७० सालदेखि विस्तार प्रक्रिया अघि बढाइएको कोटेश्वर-कलंकी सडक खण्ड सरकारलाई २०७५ माघमा हस्तान्तरण गरिएको थियो ।

सडक विभागले विस्तारित सडक खण्डमा ट्राफिक व्यवस्थापन संरचना बनाउन खोजेको छ । चक्रपथ हुँदै सहर भित्रिने र बाहिरिने सवारीका कारण ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा सवारी चाप उच्च छ ।

ट्राफिक व्यवस्थापन गर्ने संरचना निर्माण गरेर ती चोकका सवारी जाम घटाउने केन्द्रको योजना छ ।

बिस्तारित कलंकी-कोटेश्वर खण्डकै कलंकी चोकमा अन्डरपास निर्माणपछि ट्राफिक व्यवस्थापन सहज भएको छ । सडकको माथिल्लो वा तल्लो स्थानमा कुनै संरचना निर्माण गर्न सकिएमा ट्राफिक व्यवस्थापन सहज हुने केन्द्रको ठम्याइ छ ।

ट्राफिक व्यवस्थापनमा कलंकीमा देखिएको सफलताकै आधारमा चक्रपथका ३ स्थानमा नयाँ संरचना बनाउन विभाग अग्रसर भएको हो ।

यस्तो हुनेछ ओभरपास

रामर्शदाताले तयार गरेको डिजाइन अनुसार ग्वार्को चोकमा ओभरपास (सडक माथि सडक) निर्माण गरिनेछ । ३५ मिटर लम्बाइको ओभरपास हुनेछ ।

ओभरपासको उचाई ५.५ मिटरको हुनेछ । ओभरपासमा सवारीसाधन चढ्नका लागि दायाँतर्फ १८० मिटरको र बायाँ ११० मिटरको र्याम निर्माण गरिनेछ ।

ओभरपासले चक्रपथको मूख्य चार लेन ओगट्ने छ । चक्रपथको मूख्य सडक प्रयोग गर्ने सवारीसाधन ओभरपास हुँदै गुड्नेछन् ।

ग्वार्को-लामाटार सडक र ग्वार्को-पाटन सडकतर्फ जाने सवारीसाधन भने ओभरपास मुनिबाट गुड्नेछन् ।


पुष्प दुलाल