एनसेलको आम्दानी १५ % ले घट्यो, अहिलेसम्मकै ठूलो २७ अर्ब ऋणको लागि रेटिङ



काठमाडौं । निजी क्षेत्रको पहिलो र सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेलको आम्दानी पछिल्लो ४ वर्षकै सबैभन्दा कम भएको छ ।

एनसेलले सन् २०२० मा ४ वर्ष यताकै सबैभन्दा कम आम्दानी गरेको छ । सन् २०२० मा ४६ अर्ब ८७ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । जबकी एनसेलले सन् २०१९ मा ५५ अर्ब ३९ करोड ९० लाख आम्दानी गरेको थियो ।

सन् २०१८ मा ५९ अर्ब ८१ करोड ७० लाख र सन् २०१७ मा ५७ अर्ब १० करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

पछिल्लो समयमा बढ्दो ब्रोडब्यान्ड इन्टरनेटका कारण एनसेलको भ्वाइस र डाटाको प्रयोग घट्दो क्रममा छ । प्रत्येक प्रयोगकर्ताबाट प्राप्त हुने आम्दानी सन् २०१५ देखि सन् २०१९ को अवधिमा १६ प्रतिशत कमी आएको छ । तर लोकल भ्वाइसबाट प्राप्त हुने आम्दानी भने २ प्रतिशतले बढेको छ ।

डाटा प्रयोगकर्ता घट्दै गए पनि फोर जीका प्रयोगकर्ता भने बढेका छन् । जसका कारण सन् २०१५ देखि २०१९ को अवधिमा आम्दानीमा फोर जीको योगदान २४ प्रतिशत रहेको एनसेलको भनाइ छ । कोरोना महामारीका कारण पछिल्लो ४ महिनामा भ्वाइसको प्रयोग घटेको छ । जसका कारण सन् २०१९ को तुलनामा सन् २०२० मा आम्दानी १५ प्रतिशतले घटेको छ ।

नेपालको टेलिकम क्षेत्रमा ५० प्रतिशत हिस्सा एनसेलको मात्रै छ भने अन्तर्राष्ट्रिय कलको हकमा भने कम्पनीको ६० प्रतिशत हिस्सा रहेको कम्पनीको दावी छ ।

सन् २००१ मा स्पाइस नेपाल प्रालिका नाममा दर्ता भइ स्थापना भएको कम्पनीले सन् २००५ देखि टेलिकम सेवा शुरु गरेको हो । तत्कालिन समयमा मेरो मोबाइलका नाममा सेवा शुरु गरेको कम्पनीले पछि एनसेल नाममा परिवर्तन गरेको हो ।

सन् २००८ मा यूरोपियन टेलिकम कम्पनी टेलियासोनेराले कम्पनीको सेयर खरिद गरेपछि एनसेल प्रालिमा नाम परिवर्तन गरिएको थियो । सन् २०१६ को अप्रिल १२ मा कम्पनी एक्जियटा कम्पनीले रेनोल्ड होल्डिङको नाममा रहेको शतप्रतिशत सेयर खरिद गरेको थियो ।

उक्त कम्पनीको नाममा ८० प्रतिशत सेयर थियो । बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेञ्चरको नाममा छ । कम्पनी सन् २०२० अगस्ट ३ तारिखमा पब्लिक लिमिटेडमा रुपान्तरण भइ एनसेल एक्जियटा लिमिटेड भएको हो ।

२७ अर्ब ऋणका लागि रेटिङ

एनसेलले २७ अर्ब रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । इक्रा नेपालले लङ टर्म लोन अन्तर्गत २३ अर्ब र सर्ट टर्म लोन अन्तर्गत ४ अर्ब रुपैयाँका लागि रेटिङ गरेको हो । जसमा इक्राले लङ टर्म लोनका लागि रेटिङ ए र सर्ट टर्म लोनका लागि रेटिङ ए वान दिएको छ ।


क्लिकमान्डु