सेयर धितोमा कुन बैंकले कति ब्याजदरमा कर्जा दिन्छन् ? (सूचीसहित)



काठमाडौं । पछिल्लो समय सेयर बजारमा बैंक तथा वित्त कम्पनीहरुको कर्जा लिएर नै लगानी गर्ने क्रम बढेको छ । गत असार यता फागुन मसान्तसम्म नै सेयर धितो कर्जा करिब ५० प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

गत असार मसान्तसम्म बैंक तथा वित्त कम्पनीबाट कुल ५७ अर्ब ६० करोड १० लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह भएको थियो । जुन चालु आवको फागुन मसान्तमा आइपुग्दा ४५.४३ प्रतिशत अर्थात् २६ अर्ब १७ करोड १० लाख रुपैयाँले थप भई ८३ अर्ब ७७ करोड २० लाख रुपैयाँ पुगेको छ ।

सो अवधिमा प्रवाहित कुल सेयर धितो कर्जामा ७० अर्ब ४१ करोड रुपैयाँ वाणिज्य बैंकहरुले, ६ अर्ब ४४ करोड ६० लाख रुपैयाँ विकास बैंकहरुले र ६ अर्ब ९१ करोड ४० लाख रुपैयाँ वित्त कम्पनीले प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।
कोरोना भाइसरको संक्रमणका कारण अन्य क्षेत्रमा लगानीको वातावरण राम्रो नहँुदा बैंकबाट कर्जा लिएरै सेयर बजारमा लगानी गर्न लगानीकर्ता अहिले तत्पर छन् ।

बैंक तथा वित्त कम्पनीबाट कर्जा लिएर राम्रो कम्पनीको सेयरमा लगानी गर्दा राम्रो रिर्टन पाइन्छ । जसको फाइदा अहिले प्रायः लगानीकर्ताले लिएका छन् ।

तर कुन बैंकले कति प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा दिन्छन् थाहा नहुँदा धेरै लगानीकर्ता महँगो ब्याजदरमा कर्जा लिन बाध्य छन् ।

बैंक तथा वित्त कम्पनीबाट जुनसुकै शिर्षकमा कर्जा लिनुभन्दा अघि सो बैंकको बेसरेट र कर्जा लिनुपर्न प्रोडक्टमा कति समयका लागि कति ब्याजदर निर्धारण थाहा पाउन अति आवश्यक हुन्छ ।

हामीले सेयर धितोमा कर्जा दिने बैंक तथा वित्त कम्पनीले कति ब्याजदरमा सेयर धितोका कर्जा दिन्छन् ? सोको जानकारी विस्तृतमा दिने प्रयास गरेका छौं । प्रायः सबैलाई वाणिज्य बैंकले निर्धारण गरेको ब्याजदर विकास बैंक र वित्त कम्पनीहरुको भन्दा थोरै हुन्छ ।

तर, केही विकास बैंक र वित्त कम्पनीहरुले निर्धारण गरेको सेयर धितो कर्जाको ब्याजदर वाणिज्य बैंकहरुको भन्दा कम छ ।

हाल २७ वाणिज्य बैंक, १९ विकास बैंक र २२ वित्त कम्पनीहरु सञ्चालनमा छन् । यी सबैले सेयर धितोमा कर्जा दिन पाउँने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

तर, यसमा मध्ये २५ वटा बैंक तथा वित्त कम्पनीले सेयर धितो कर्जाका प्रोडक्ट सञ्चालन गरेको पाइएको छ । यी बैंक तथा वित्त कम्पनीले मासिक न्यूनतम ६.६५ प्रतिशतदेखि अधिकतम १०.९८ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा प्रवाह गरेका हुन् ।

जसमध्ये सबैभन्दा सस्तो ब्याजदरमा सेयर धितो कर्जा एनआइसी एशिया बैंक र सबैभन्दा महंगो ब्याजरमा बेष्ट फाइनान्सले कर्जा प्रवाह गरिरहेको छ । बैंकहरुले सेयर धितो कर्जाका परिमाण र समयअनुसार विभिन्न प्रोडक्ट बनाइ भिन्नभिन्न ब्याजदर निर्धारण गरेका छन ।

बैंक तथा वित्त कम्पनीले आफ्नो वेव साइटमा राखेका ब्याजदरको विवरण अनुसार सबैभन्दा सस्तो ६.६७ प्रतिशत ब्याजदरमा एनआइसी एशिया बैंकले र सबैभन्दा महंगो १०.९८ प्रतिशत ब्याजदरमा बेष्ट फाइनान्सले सेयर धितोमा कर्जा प्रवाह गरिरहेका छन् ।

यसैगरी, ग्लोबल आइएमई बैंकले ७.७६ प्रतिशत, सानिमा बैंकले ६.८३ प्रतिशत, हिमालयन बैंकले ६.८३ प्रतिशत र नेपाल इन्भेष्टमेण्ट बैंकले ७ प्रतिशत न्यूतनम ब्याजदरमा सेयर धितो कर्जा प्रवाह गरिरहेका छन् ।

यस्तै, एक्सल डेभलपमेन्ट बैंकले ७.०३ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ७.११ प्रतिशत, प्रभु बैंकले ७.२४ प्रतिशत, सनराइज बैंकले ७.२९ प्रतिशत र मेगा बैंकले ७.३५ प्रतिशत मासिक न्यूतनम ब्याजदरमा सेयर धितो कर्जा प्रवाह गर्छन् ।

सेयर धितो कर्जाको सिद्धार्थ बैंक ७.३८ प्रतिशत, एनएमबी बैंकले ७.४० प्रतिशत, नेपाल एसबीआइ बैंकले ७.४९ प्रतिशत, माछापुच्छ्रे बैंकले ७.५६ प्रतिशत र कृषि विकास बैंकले ७.६७ प्रतिशत न्यूतनम ब्याजदर निर्धारण गरेका छन् ।

यस्तै, बैंक अफ काठमाण्डूले ७.६७ प्रतिशत, प्राइम बैंकले ७.८५ प्रतिशत, सेञ्चुरी बैंकले ७.९१ प्रतिशत, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ७.९१ प्रतिशत र एनसीसी बैंकले ७.९४ प्रतिशत न्यूतनम ब्याजदरमा सेयर धितो कर्जा प्रवाह गर्छन् ।

नेपाल बैंकले ८.२४ प्रतिशत, सिर्जना फाइनान्सले ८.२९ प्रतिशत, मञ्जुश्री फाइनान्सले ८.३२ प्रतिशत, गरिमा विकास बैंकले ८.३८ प्रतिशत र मुक्तिनाथ विकास बैंकले ८.३८ प्रतिशत न्यूतनम ब्याजदरमा सेयर धितो कर्जा प्रवाह गरिरहेका छन् ।

महालक्ष्मी विकास बैंकले ८.४२ प्रतिशत, सिभिल बैंकले ८.४५ प्रतिशत, आइसीएफसी फाइनान्सले ८.४७ प्रतिशत, सिटिजन्स बैंकले ८.५० प्रतिशत, नेपाल बैंकले ८.७६ प्रतिशत र ज्योति विकास बैंकले ८.८२ प्रतिशत न्यूतनम ब्याजदरमा सेयर धितो कर्जा प्रवाह गर्छन् ।

यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकले ८.८३ प्रतिशत, लुम्बिनी विकास बैंकले ८.९२ प्रतिशत, कामना सेवा विकास बैंकले ९.०६ प्रतिशत, एभरेष्ट बैंकले ९.०९ प्रतिशत र सिन्धु विकास बैंकले ९.१९ प्रतिशत न्यूतनम ब्याजदरमा सेयर धितो कर्जा प्रवाह गर्छन् ।

प्रोगेसिप फाइनान्सले ९.२९ प्रतिशत, गुडवील फाइनान्सले ९.६० प्रतिशत, युनाइटेड फाइनान्सले १०.०६ प्रतिशत, रिलाइन्स फाइनान्सले १०.२४ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकले १०.७२ प्रतिशत र बेष्ट फाइनान्सले १०.९८ प्रतिशत न्यूनतम ब्याजदरमा सेयर धितो कर्जा प्रवाह गरिरहेका छन् ।


पुष्प दुलाल