बर्डफ्लु लागेर नष्ट गरिएका पंक्षी र दानाको किसानले क्षतिपूर्ती पाउने
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बर्डफ्लूपीडित किसानलाई क्षतिपूर्ति दिने भएको छ । पछिल्लो समय विभिन्न स्थानमा देखिएको बर्डफ्लूपीडित किसानलाई क्षतिपूर्ति दिने भएको हो ।
विभिन्न स्थानमा देखा परेको बर्डफ्लूपीडित किसानका लागि नष्ट गरिएको पशुपंक्षी न्छी तथा दानाको आधारमा क्षतिपूर्ति रकम वितरण हुने कार्य अगाडि बढेको मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले जानकारी दिए ।
‘विभिन्न स्थानमा देखा परेको बर्डफ्लूपीडितका लागि क्षतिपूर्ति दिने भएको छ,’ उनले क्लिकमान्डूसँग भने, ‘बर्डफ्लूपीडित भएका किसानका लागि मन्त्रालयको कार्यविधिमा कुन पशुपंक्षीका लागि कति क्षतिपूर्ति दिने स्पष्ट उल्लेख छ । त्यसलै चल्ला, कुखुरा, अण्डा तथा दानालाई कति क्षतिपूर्ति दिने सोही अनुसार क्षतिपूर्ति प्रदान गरिनेछ ।’
उनका अनुसार बर्डफ्लूका कारण कति संख्यामा पशुपंक्षी नष्ट गरे सोहीअनुसार प्रदान गर्ने भएकाले सम्पूर्ण किसानले क्षतिपूर्ति पाउने उनको दावी छ ।
उपत्यकाका लागि किसानलाई क्षतिपूर्ति प्रदान गर्नका लागि मन्त्रालय र पशु सेवा विभागले समन्वय गर्नेछ भने उपत्यका बाहिरका लागि प्रदेश सरकारले क्षतिपूर्ति दिनका लागि सहज गराउने उनको भनाइ छ ।
त्यस्तै, पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले उपत्यकाका किसानका लागि क्षतिपूर्ति प्रदान गर्न लागि अर्थसँग रकम माग गरेको बताए ।
उनका अनुसार उपत्यकाका ४ स्थानका किसानहरूको बर्डफ्लूले गर्दा करिब १ करोडको क्षति भएको विभागले अनुमान गरेको छ । सोही अनुसार क्षतिपूर्ति प्रदान गर्नका लागि विभागले रकम माग गरेको बताए ।
साथै, उपत्यका बाहिरका लागि प्रदेश सरकारले गर्ने भएकाले त्यहाँको प्रमुख जिल्ला अधिकारीको संयोजकतामा दर रेट निर्धारण भई किसानलाई क्षतिपूर्ति प्रदान गर्नेछ । यसले गर्दा किसानलाई राहत मिल्ने उनको भनाइ छ ।
गत माघदेखि देखा परेको बर्डफ्लू गत चैत १६ गतेसम्ममा ६ स्थानमा बर्डफ्लू देखा परिसकेको छ । जसमा उपत्यकाका ४ र उपत्यका बाहिर दुई स्थानमा बर्डफ्लू पुष्टि भइसकेको कृषि मन्त्रालयको मातहतमा रहेको पशु सेवा विभागले जनाएको छ ।
गत माघमा १६ गतेमा तारकेश्वर नगरपालिका–७ साङ्लेखोलामा बर्डफ्लु पुष्टि गरेको थियो । त्यसबेला विभागले तारकेश्वर नगरपालिका–७ साङ्लेखोला फुटुङका किसानले पालेका टर्की र हाँसमा पहिलो पटक बर्डफ्लु पुष्टि गरेको थियो । त्यस क्षेत्रमा १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ७५ केजी दाना नष्ट गरिएको थियो विभागले जनाएको थियो ।
त्यसपछि विभागले तारकेश्वर नगरपालिका–१ मा व्यावसायिकरूपमा पालिएका कुखुराको नमूनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पिसिआर परीक्षणमा गत १२ गते बर्डफ्लु रोग पुष्टि भएको जनाएको थियो ।
बर्डफ्लु रोग देखिएपछि विभागले पाँच हजार ६ सय ५७ लेयर्स कुखुरा, सात हजार २ सय ३६ ब्रोइलर कुखुरा, दुई हजार ५ सय ४ लोकल कुखुरा, ५० वटा टर्की, तीन हजार ५ सय ७० अण्डा र तीन हजार केजी दाना नष्ट गरिएको छ । साथै, रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिसकेको विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठले जानकारी दिएका थिए ।
उनका अनुसार रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेको सम्पूर्ण घरपालुवा पंक्षी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकेको र फेरि बर्डफ्लू फैलिन नदिनको लागि विशेष नियन्त्रणका कार्यहरू अपनाएको दावी गरेको थियो ।
तर, त्यसपछि फागुनमा कर्णालीको सुर्खेतस्थित बीरेन्द्रनगर नगरपालिका–१२ का किसानले पालेको कुखुरामा बर्डफ्लू देखिएको थियो । त्यसबेला २ सय ७९ कुखुरा, १ सय २ परेवा र ३१ किलो दाना नष्ट गरिएको थियो । फागुन १२ गते पनि फेरि तारकेश्वर नगरपालिका–१ मा पालिएका व्यावसायिक कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु देखियो । त्यस क्रममा ५ हजार ६ सय ५७ लेयर्स कुखुरा, ७ हजार २ सय ३६ ब्रोइलर कुखुरा, २ हजार ५ सय ४ लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई, ३ हजार ५ सय ७० अन्डा र तीन हजार किलो दाना नष्ट गरिएको थियो ।
फागुन २६ मा फेरि कर्णालीको जाजरकोटस्थित भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेका व्यावसायिक लेयर्स कुखुराका नमुनामा पनि बर्डफ्लु देखिएको थियो । त्यस क्रममा ब्रोइलर कुखुरा तीन सय, लेयर्स कुखुरा ३ सय ३१, लोकल कुखुरा ७०, अन्डा ८ सय ८३ र २ सय ५१ किलो दाना र दुई सय वटा अन्डाका क्रेट नष्ट गरिएको जनाइएको छ ।
चैत १३ गते ललितपुर महानगरपालिका–१२ नख्खुका किसानले पालेको ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ गोटा अण्डा र ३३५ केजी दाना नष्ट गरी सुरक्षित तवरले तह लगाइनुका साथै रोग देखापरेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिसकिएको विभागले जनाएको छ ।
बर्डफ्लू रोक्नका लागि उच्च सतर्कता अपनाउँदै
विभिन्न स्थानमा बर्डफ्लू देखिन थालेपछि सरकारले विशेष सतर्कता अपनाएको विभागले जनाएको छ । यस्तै, बर्डफ्लू नियन्त्रणका लागि विभागले पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने जनाएको छ ।
विभागले गत माघ महिनादेखि काठमाडौं, सुर्खेत र जाजरकोटमा पन्छीमा देखापरेको बर्ड फ्लु रोग तत्काल नियन्त्रण गरी अन्य स्थानमा बर्ड फ्लु रोगको निगरानी कार्यलाई नियमित रुपमा सञ्चालन गरिँदै आएको जनाएको छ ।
रोगको निगरावनीको क्रममा देशका विभिन्न स्थानबाट नमूना संकलन गरी तत्काल परीक्षण गर्ने कार्यलाई निरन्तरता दिएको विभागले जारी उल्लेख गरेको छ । साथै, बर्डफ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका निकायहरुको परिचालन गरिएको छ ।
त्यस्तै रोग नियन्त्रणका क्रममा पशु सेवा विभाग, बाग्मती प्रदेश, भूमि व्यवस्थालगायतका निकायको समन्वयात्मक परिचालन गरी रोग देखिएको तथा सम्भावित फैलन सक्ने क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरी रोग नियन्त्रण गरिएको जनाएको छ ।
त्यसैगरी विभागले परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्न, सम्पूर्ण पन्छीपालक कृषकहरुले फार्म परिसरमा नियमितरुपमा निसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ । साथै, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविकरुपमा पंक्षी बिरामी परेमा वा मरेमा तत्काल नजिककको पशु सेवाका निकायमा सुचना गर्न अनुरोध गरेको छ ।