अन्तर्राष्ट्रिय र आन्तरिक बजारमा पस्मिनाको माग घटेपछि ५० प्रतिशत उद्योग बन्द



काठमाडौं । नेपालबाट पर्याप्त मात्रामा निर्यात हुँदै आएको वस्तु हो पस्मिना । लामो समयदेखि इतिहास बोकेको पस्मिनामा कोरोनाले गर्दा भएको प्रभाव अहिले देखिन थालेको छ ।

एक वर्ष अगाडि विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस महामारीले गर्दा उत्पादन तथा निर्यातमा निकै कठिनाइ भएको पस्मिनामा अहिले झन बढी प्रभाव परेको हो ।

नेपालबाट उत्पादन भई निर्यात हुने पस्मिनाले अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो बजार लिन सकेको पाइन्छ । भन्सार विभाग र व्यापार तथा निकासी प्रवद्धन केन्द्रको तथ्याङ्क हेर्दा पस्मिनाले अन्र्राष्ट्रिय बजारमा राम्रो छाप छोड्न सफल भएको मान्न सकिन्छ ।

तर, गतवर्ष विश्वव्यापीरुपमा फैलिएको कोरोनाले गर्दा अहिले आएर पस्मिना क्षेत्रमा निकै प्रभाव परेको व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूका अनुसार लामो समयसम्म अन्तर्राष्ट्रिय उडान बन्द हुँदा र विभिन्न देश लकडाउनमा जाँदा त्यो बेला पनि असर पारेको थियो । अहिले त्योभन्दा पनि बढी अहिले असर गर्न थालेको उनीहरूको भनाइ छ ।

लामो समयको लकडाउन, निषेधाज्ञा तथा अन्तर्राष्ट्रिय उडान बन्दले गर्दा पस्मिना निर्यात गर्न सकेको थिएन । पछि अन्तर्राष्ट्रिय उडान खुल्न साथ व्यवसायीहरूले महंगो भाडा तिरेर पनि निर्यात गरेको व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूले माग अनुसार महंगो भाडा तिरेर अन्तर्राष्ट्रिय बजारमा माग अनुसार पठाउन सके पनि पछिल्लो समय पस्मिनाको माग नै आउन छोडेको व्यवसायीहरूको भनाइ छ ।

माग आउन छोड्यो
नेपाल पस्मिना उद्योगका सञ्चालक पुष्पमान श्रेष्ठले कोरोनापछि आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा पस्मिनाको माग आउन छोडेको बताए । उनका अनुसार माग आउन छोडेपछि पस्मिना उद्योगहरू धारासायी भएको बताउँछन् ।

‘विगतका दिनमा सिजन अनुसार पस्मिनाको नमूना र माग आउथ्यो । तर, यो वर्ष कुनै पनि माग आएको छैन,’ उनले भने ।

अहिलेको समय भनेको सामान्यतया पस्मिना उद्योगको मार्केटिङ गर्ने समय हो । साथै, विभिन्न देशमा एक्स्पो र कार्यक्रम हुने समय भए पनि यो वर्ष कोरोनाले गर्दा कुनै काम अगाडि बढ्न नसकेको मनास्लु पस्मिना उद्योग तथा नेपाल पस्मिना उद्योग संघको उपाध्यक्ष समेत रहेका धनप्रसाद लामिछानेले जानकारी दिए ।

कोभिडको समयमा भन्दा अहिले आएर यस क्षेत्रमा बढी प्रभाव परेको उनको बुझाइ छ । उनका अनुसार अहिले करिब ३० प्रतिशतले मात्रै पूर्णरुपमा पस्मिना उद्योग सञ्चालन भएको बताए ।

‘कोरोना भाइरस महामारीले गर्दा उत्पादन मात्रै होइन निर्यात पनि ठप्प बनाएको छ,’ उनले भने, ‘पछिल्लो समय माग आउनै छोडिसके पछि उत्पादनमा पनि निकै कम भएको छ ।’ यसले गर्दा यस क्षेत्रमा आबद्ध भएको उद्योग तथा व्यवसायी पहिलेको अवस्थामा आइपुग्न समय लाग्ने बताए ।

यस्तै, नेपाल पस्मिना उद्योग संघका अध्यक्ष विजय कुमार दुगडले पनि पछिल्लो समय पस्मिनाको माग आउन छोडेको बताए । आन्तरिक बजार र अन्तर्राष्ट्रिय बजारमा पस्मिनाको माग आउनै छोडेपनि व्यवसायी तथा उद्योगको अर्को व्यवसाय गर्न थालेको उनको भनाइ छ ।

‘माग आयो भने मात्रै उद्योगीहरू उत्पादनतर्फ लाग्छ । तर माग नै छैन् भने उत्पादन मात्रै गरेर काम छैन,’ उनले भने, ‘भूकम्पको समयमा नेपालमा मात्रै असर परेकाले उक्त वर्ष कुनै असर परेको थिएन । अहिले त कोरोनाले गर्दा विश्वभर असर परेको हुनाले माग आउन सकेको छैन ।’

नेपालबाट वार्षिक रुपमा करिब ७ अर्ब रकम बराबरको पस्मिना निर्यात गर्दै आएकोमा यो वर्ष उल्लेखनीय घट्ने उनको अनुमान छ । साथै, अन्र्राष्ट्रिय बजारमा निर्यात गर्दै आएको पस्मिना करिब ५० प्रतिशतले निर्यात घट्ने उनको भनाइ छ ।

५० प्रतिशत उद्योग बन्द
कोरोना महामारीको समयमा खासै निर्यातमा मात्रै समस्या देखिएको पस्मिना उद्योगमा पछिल्लो समय उत्पादनमा निकै असर परेको व्यवसायीहरू बताउँछन् ।

पस्मिना उत्पादन गर्न आवश्यक कच्चा पदार्थ पर्याप्त मात्रामा ल्याउन नसक्दा उत्पादनमा समस्या देखिएको हो । यसका साथै, बजारमा माग तथा आन्तरिक बजारमा पस्मिनाको खपत नभएपश्चात उत्पादन गर्न सकेका छैनन् । देशभर प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा उत्पादन गरिरहेको पस्मिना करिब ५०० सयको हाराहारीमा छन् । त्यसमध्ये करिब १५० वटा जति संघमा आबद्ध भएका छन् ।

संंघले पछिल्लो समय गरेको अध्ययन अनुसार ती उद्योगीहरूमध्ये ५० प्रतिशत कोरोनाले गर्दा बन्द भएको जनाएको छ ।

‘विगतका दिनमा कोरोनाको संक्रमण तीव्र भए पनि आफूसँग भएको पूँजीले आफ्नो व्यापार केही मात्रामा धानेको रहेछ,’ उपाध्यक्ष लामिछानेले भने, ‘पछिल्लो समय संघले अनुसन्धान गर्दा धेरै उद्योग बन्द भइसकेको अवस्था छ ।’

उनले माग नआएपश्चात ८० प्रतिशत कर्मचारी कटौती गरी उद्योग मात्रै खोलिरहेको बताए ।

संघको अध्यक्ष दुगडका अनुसार पनि हालसम्ममा ५० प्रतिशत बन्द भएको अवस्थामा छन् भने बाँकी पनि सुस्तरुपमा चलिरहेको बताए । हालसम्म ५० प्रतिशत मात्रै चलिरहेको पूर्णरुपमा सञ्चालनमा गर्न नसकेर अन्य व्यवसायमा आबद्ध भई सञ्चालन गरिरहेको उनको भनाइ छ ।

आन्तरिक बजारमा व्यापार ठप्प
पस्मिना अन्र्राष्ट्रिय बजारमा निर्यात मात्रै हुँदैन । आन्तरिक बजारमा पनि उल्लेख्य बिक्री हुने गर्दछ । तर, उक्त पस्मिना विदेशीहरूले मात्रै किन्ने प्रचलन रहेको व्यवसायीहरूको भनाइ छ । विगतको दिनमा पनि निर्यात बराबरको पस्मिना आन्तरिक बजारम खपत हुँदै आएकोमा यो वर्ष भने कोरोनाले व्यापार ठप्प भएको व्यवसायीहरूको दुखेसो छ ।

कोरोनाभन्दा अगाडि सम्पूर्ण अन्तर्राष्ट्रिय उडान खुल्ला र विदेशी आगमनमा सहज हुँदा पर्याप्त मात्रामा नेपालमा पर्यटक आउथे ।

साथै, नेपालमा पर्यटन हब भनेर चिनिने ठमेल, पाटन, भक्तपुर तथा पोखरालगायत विभिन्न स्थानमा पर्यटकहरूले पस्मिनाको किनमेल गर्दथे ।

तर, कोरोनाले गर्दा वाह्य पर्यटनको आगमन ठप्प भएसँगै सबै व्यापार व्यवसाय ठप्प भएको व्यवसायीहरूको भनाइ छ । यसले गर्दा निर्यातकर्ताहरूभन्दा बढी आन्तरिक बजारमा व्यापार गरिरहेका व्यवसायी निकै मारमा परेका छन् ।

करिब २ अर्बको पस्मिना निर्यात
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा करिब २ अर्ब रुपैयाँको पस्मिना निर्यात भएको देखाउँदछ ।

उक्त तथ्याङ्क अनुसार चालु आवको सो अवधिमा १ अर्ब ८५ करोड ७५ लाख १४ हजार रुपैयाँ बराबरको पस्मिना निर्यात भएको छ । त्यस्तै सोही अवधिमा गत वर्ष १ अर्ब ३९ करोड १७ हजारको मात्रै निर्यात गरेको केन्द्रको तथ्याङ्कले देखाउँदछ । उक्त तथ्याङ्क अनुसार गत वर्षको तुलनामा ३३.६३ प्रतिशतले निर्यात बढेको देखिन्छ । तर, व्यवसायीहरूको अनुसार उक्त तथ्याङ्क पस्मिनाको मात्रै नरहेको बताउँछन् ।

‘विगतको दिनमा पस्मिना भन्ने वित्तिकै सल, मफ्लर भनेर छुट्टै तथ्याङ्क आउँथ्यो । अहिलेको तथ्याङ्मा स्वेटर, ह्यान्डग्लोबसलगायत निटिङको लुगाहरू पनि समेटेको हुनाले उक्त तथ्याङ्क बढी देखिएको हो,’ अध्यक्ष दुगडले भने । उनका अनुसार चालु आवमा पस्मिना निर्यात नभएको होइन भएको छ । तर, उक्त रकमको भने निर्यात नभएको उनको दावी छ ।

नेपालबाट अधिकांश पस्मिना जर्मनी, अमेरिका, बेलायत, फ्रान्स, भारत, स्वीटजरल्यान्ड, नेदरल्यान्ड, जापान, इटली, अष्ट्रियालगायत अन्य देशमा निर्यात हुँदै आएको छ । कोरोनाले गर्दा निर्यात हुँदै आएको पस्मिना उल्लेख्य रुपमा घट्ने व्यवसायीहरू बताउँछन् ।


क्लिकमान्डु