सामाजिक सुरक्षा कोषमा अब श्रमिकले व्यक्तिगतरुपमा योगदान गर्न पाउने, यस्तो छ व्यवस्था



काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा व्यक्तिगतरुपमा योगदान गर्न पाउने व्यवस्था लागू भएको छ ।

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ दोस्रो संशोधनमार्फत् व्यक्तिगतरुपमा योगदान गर्न पाउने व्यवस्था लागू गरेको हो ।

कोषले उक्त व्यवस्था गत सातादेखि लागू भएको कोषका सुचना अधिकारी डा. रोशन कोजुले जानकारी दिए । उनका अनुसार कार्यविधि संशोधमार्फत व्यवस्था गरेसँगै कोषमा आबद्ध हुने श्रमिक आकर्षित भएका छन् ।

यसअघि योगदान गर्ने संस्थामा आबद्ध भएको श्रमिकले परिवर्तन गरेमा व्यक्तिगतरुपमा योगदान गर्न नपाइने थियो ।

साथै, व्यक्तिगत रुपमा बेरोजगार भए पनि योगदान गर्छु भन्दा योगदान गर्न पाउने व्यवस्था थिएन । तर, अबदेखि श्रमिकले संस्था परिवर्तन गरे पनि व्यक्तिगत रुपमा योगदान गर्न इच्छुक व्यक्तिले योगदान गर्ने व्यवस्था भएको कोजुको भनाइ छ ।

‘विगतको दिनमा कुनै पनि श्रमिकले आबद्ध भएको संस्था छोडेको अवस्थामा योगदान गर्न सक्ने अवस्था थिएन,’ उनले क्लिकमान्डूसँग भने, ‘अबदेखि संस्थाबाट स्थायीरुपमा बिदा लिएको प्रमाणित भएको अवस्थामा व्यक्तिगतरुपमा योगदान गर्न सक्नेछन् ।’

उनका अनुसार श्रमिकले योगदान गर्न सक्ने क्षमता छ भने सोही योगदान गर्न सक्नेछन् । तर, श्रमिकले निरन्तरताको लागि मात्रै गर्ने हो भने सरकारले तोकेको न्यूनतम मासिक रकम ८ हजार ८ सय ५५ रुपैयाँको ३१ प्रतिशत अर्थात् २६ सय रुपैयाँ कोषमा योगदान गरेमा कोषले तोकेको सबै स्किम प्राप्त गर्न सक्ने बताए ।

आकर्षण बढ्दो

संशोधनमार्फत् रोजगारी गुमाएका व्यक्तिले पनि व्यक्तिगत रुपमा योगदान गर्ने व्यवस्था लागू गरेसँगै कोषमा योगदान गर्ने श्रमिकको संख्या बढ्दोे रहेको कोजुको भनाइ छ । यस क्षेत्रमा धेरै घटनाहरू भएकाले कोषले पनि यस क्षेत्रमा काम गरिरहेको उनले बताए ।

‘दैनिक रुपमा व्यक्तिगत रुपमा योगदान गर्ने भन्दै करिब १० जनाभन्दा बढी योगदानकर्ताहरू आइरहेको छ,’ उनले भने, ‘कोभिडले गर्दा धेरै श्रमिकको रोजगारी गुमाएकाले होला आफंै गर्छु भन्ने योगदानकर्ताको आकर्षण बढ्दो रहेको छ ।’

कतिपयले व्यक्तिगत रुपमा योगदान गर्न पनि शुरु गरिसकेको उनको भनाइ छ ।

व्यक्तिगत योगदानका लागि यस्तो छ व्यवस्था

संशोधनमार्फत् रोजगारी गुमाएका योगदानकर्ताले व्यक्तिगत रुपमा योगदानको लागि कोषको सिस्टमै गएर निवेदन दिनुपर्नेछ । निवदेन दिएपश्चात कोषको सिस्टमले प्रमाणित गरेपछि योगदानकर्ताले योगदान गर्न शुरु गर्न सकिन्छ ।

जसमा कोषले तोकेका मापदण्डअनुसार योगदातकर्ता आबद्ध भएको कुनै संस्थाबाट कोषको नम्बर लिएको हुनुपर्नेछ । साथै, आबद्ध भएको संस्था छोडेको प्रमाणित हुनुपर्नेछ ।
उक्त संस्थाबाट रोजगारी छोडेको मात्रै नभएर संस्थाले योगदानकर्ताको नाम संस्थाबाट पनि हटाएको हुनुपर्ने कोजुको भनाइ छ ।

‘संस्थाबाट योगदानकर्ताको नाम हटाउनुपर्छ र कोषलाई पनि उक्त सुचना प्राप्त हुनुपर्छ,’ कोजुले भने ।

कुनै पनि योगदाकर्ता आबद्ध भएको संस्था छोडेर पनि संस्थाले नाम हटाइएको छैन भने उक्त श्रमिक कोषको व्यक्तिगत रुपमा योगदान गर्ने योग्य हुने छैन ।

३१ प्रतिशत योगदान गर्नुपर्ने

व्यक्तिगत रुपमा योगदान गर्न चाहने योगदानकर्ताले ३१ प्रतिशत नै योगदान गर्नुपर्ने कोषले जनाएको छ । जसमा विगतको दिनमा आबद्ध भएको संस्थाको रोजगारदाताले २० प्रतिशत र योगदानकर्ताबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था थियो ।

तर, संस्था छोडेर व्यक्तिगत रुपमा योगदान गर्न इच्छुक व्यक्तिले सबै ३१ प्रतिशत रकम नै बुझाउनुपर्ने भएको छ ।

यसैगरी, कोषले गरेको कार्यविधि संशोधनमार्फत रोजगारी गुमाएका वा संस्था परिवर्तन गरेका श्रमिकले आफुले योगदान गरेको रकम पनि फिर्ता लिन पाउने व्यवस्था लागू गरेको छ । जसमा योगदानकर्ताले योगदान गरेको आधारभूत तलवको ३१ प्रतिशतमध्येको २८ दशमलव ३३ प्रतिशत हुन आउने रकम फिर्ता लिन पाइनेछ ।

उक्त रकम निकाल्नका लागि योगदानकर्ताले निवेदन, रोजगारदाता संस्थाबाट राजिनामा स्वीकृत भएको पत्र, बैंक खाता प्रष्ट खुल्ने कागजात पेश गर्नुपर्ने कोषले जनाएको छ । त्यस्तै सो दिएको एक/दुई दिनमै बैंक खातामा रकम जम्मा हुने कोषका सुचना अधिकारी कोजु बताउँछन् ।

कोषमा हालसम्ममा १३ हजार ६ सय १६ रोजगारदाता आवद्ध भएका छन् भने १ लाख ९४ हजार ५ सय ३७ जना श्रमिक आवद्ध भएका छन् ।

उक्त रोजगारदाता र श्रमिकबाट ४ अर्ब ८० रकम कोषमा योगदान भइसकेको छ । साथै, योगदान रकममध्येबाट २ हजार ४ सय ९५ जनाले ४ करोड ७३ लाख रुपैयाँ भुक्तानी लिइसकेका छन् ।


पुष्प दुलाल