होलीको समयमा व्यापारीमा छैन उत्साह, ४० प्रतिशतले घट्यो व्यापार



काठमाडौं । पहाडी जिल्लामा आइतबार र तराइका जिल्लामा सोमबार होली मनाइँदै छ । तर होलीको २ दिन अघिसम्म पनि बजारमा होली लक्षित व्यापारमा चमक छैन ।

कोरोना भाइरसका कारण गत वर्ष मनाउन नपाएको होली यसपटक पनि सार्वजनिक स्थलमा खेल्न नपाइने भएको छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावना साटासाट गर्नका लागि एक आपसमा विभिन्न रंग दलेर मनाइने होली पर्व यसपटक पनि घरभित्रै सीमित हुने भएको छ । जसका कारण होलीमा हुने व्यापार घटेको छ । ह्याप्पी होली लेखिएका सेतो रंगका टिसर्ट, रङ, पिचकारीलगायत व्यापार सामान्य मात्रै भएको व्यापारीहरु बताउँछन् ।

विगतका वर्षमा होली पर्वभन्दा एक हप्ता अघि नै न्यूरोड तथा असनमा होलीको व्यापारका लागि मानिसहरुको चाप हुन्थ्यो । तर यस पटक भने त्यो रौनक न्यूरोड, असन, महाबौद्ध जस्ता व्यापारी क्षेत्रमा देखिएको छैन ।

असन समितिका पूर्वअध्यक्ष यज्ञरत्न तुलाधारले पनि कोरोनाले गर्दा व्यापारमा निकै प्रभाव पारेको बताए । उनका अनुसार होली आउनुभन्दा करिब एक हप्ताबाटै असन तथा न्यूरोडमा ठेलमठेल भीड हुन्थ्यो । तर, यो वर्ष मानिसहरूको केही मात्रामा भीड देखिए पनि व्यापार भने हुन नसकेको बताए ।

‘होलीको लागि ठूला व्यवसायीलगायत अन्य फुटपाथमा व्यापार गर्ने व्यवसायीहरूले एक हप्तादेखि व्यापार गथ्र्यो । तर, अहिले फुटपाथमा होलीको लागि आवश्यक रङ, पिचकारी, लोला तथा टिसर्ट बिक्री गर्ने व्यापारीको संख्या निकै कम छ,’ उनले भने । उनका अनुसार यो वर्ष करिब ३० होलीको समयमा ४० प्रतिशतले व्यापार घट्ने अनुमान गरे ।

गत वर्षको होली पर्वको समयमा मुलुकमा कोरोना महामारीको त्रास निकै ठूलो थियो । एक वर्षको अवधिमा कोरोना महामारीको त्रास निकै कम भए पनि कोरोना भाइरसको दोस्रो प्रकार शुरु हुँदा फेरि त्रासको माहोल सिर्जना भएको छ । जसको असर व्यापार पनि देखिएको छ ।

‘गत वर्ष कोरोनाले गर्दा खासै फागु पूर्णिमाको समयमा ल्याएको सामग्री बिक्री भएन । यो वर्ष पनि हालसम्म अपेक्षा अनुसारको व्यापार हुन सकेको छैन,’ न्यूरोडस्थित करिब १० वर्षदेखि व्यापार गर्दै आएको रविन्द्र शाहीले भने ।

उनले चाडपर्व लक्षित व्यापार गर्दै आएकोले यो वर्ष भने होलीलाई लक्षित टिसर्ट बिक्रीका लागि राखेका छन् । तर, टिसर्ट बिक्रीमा राखे पनि विगतका वर्षहरूको माग नभएको उनले जानकारी दिए ।

‘सामान्य अवस्थामा फागु पुर्णिमाका लागि भनेर करिब एक हप्ताबाटै मानिसहरू किनमेलको लागि आउने गथ्र्यो । उक्त समयमा मैले करिब ७० हजार बढीको टिसर्ट बिक्री गर्थे । तर, यो वर्ष १० हजारको पनि व्यापार नहुने अवस्था देखिन्छ,’ उनले भने ।

असन चोकमा करिब १० वर्षदेखि व्यापार गर्दै आएको बिक्रम श्रेष्ठले पनि यो वर्ष व्यापार नहुने चिन्ता व्यक्त गरे ।

उनले होलीका लागि आवश्यक रङ, पिचकारी, लोला बिक्रीका लागि राखेका राखेका छन् । तर, अहिले निकै कम मात्रै बिक्री भइरहेको उनले जानकारी दिए ।

‘राम्रो व्यापार हुँदा डेढ लाखसम्म होलीको सामान बिक्री हुन्थ्यो । त्योबेला मानिसहरूको भिडले गर्दा दुई जना मानिस पसलमा बस्दा भ्याई नभ्याई हुन्थ्यो,’ उनले क्लिकमाण्डूसँग भने, ‘यो वर्ष मानिसको भिड पनि निकै कम छ । साथै, व्यापार हुन्छ कि भनेर दुई जना बसेका छौं । तर, अहिले एकजनाले पनि सहजै व्यापार गर्न सक्ने अवस्था छ ।’

यो वर्ष कोरोनाले गर्दा सरकारले होली धेरै भीडभाड नगरी होली खेल्न निर्देशन दिएकाले गर्दा मानिसहरूको चहलपहल निकै कम भएको असनस्थित नै व्यापार गर्दै आएकी गीता खनालले बताइन् ।

विगतको केही वर्षहरूमा उनले करिब ५० हजारसम्म व्यापार गर्दै आएकोमा यो वर्ष भने १० हजारको व्यापार नहुने अनुमान गरिन् ।

‘सामान्य अवस्थामा होलीका लागि आवश्यक सबै प्रकारका सामग्री राख्दै आएका थियौं । यो वर्ष रङ मात्रै राखेकी छु,’ उनले भनिन्, ‘गत वर्ष पनि व्यापार हुन सकेको थिएन । यो वर्ष पनि व्यापार हुने अवस्था नदेखिएपछि रङ मात्रै बिक्रीका लागि राखेको हुँ ।’

यी तीन व्यवसायीको मात्रै नभई असनमा व्यापार गर्दै आएको आशा काजीलगायत सम्पूर्ण व्यवसायीहरूको अवस्था उस्तै रहेको छ । विगतको दिनमा व्यापार नभए पनि होलीको समयमा व्यापार हुने आश राखेका सम्पूर्ण व्यवसायीहरू चिन्तित बनेका छन् ।

होलीको सामग्रीको मूल्य यथावत
होलीमा सबैभन्दा बढी बिक्री हुने रङ, लोला, पिचकारी तथा टिसर्टको मूल्य यथावत रहेको व्यवसायीहरू बताउँछन् ।

उनीहरूको अनुसार गत वर्ष जुन मूल्यमा सामानहरू बिक्री गरेको थियो त्यही मूल्यमै यो वर्ष पनि बिक्री गरिरहेको उनीहरूको भनाइ छ ।

 

हाल बजारमा रङहरू २५ रुपैयाँदेखि प्रतिकेजी २५० रुपैयाँसम्म बिक्री भइरहेको छ । यस्तै, पिचकारी १ सयदेखि १२ सय रुपैयाँसम्म, टिसर्ट १०० देखि १५० रुपैयाँसम्म बिक्री भइरहेको छ । उक्त मूल्य गत वर्षकै मूल्य कायम भई बिक्री गरिरहेको व्यवसायीहरूले बताएका छन् ।

‘गत वर्ष ल्याएको होलीको सामान नै बिक्री भएको थिएन । त्यसैले यो वर्ष नयाँ सामान खरिद नगरी पुरानै बिक्री गरेको हुनाले मूल्यमा खासै फरक छैन,’ व्यवसायी बिक्रम श्रेष्ठले भने । साथै, यो वर्ष पनि गत वर्ष बिक्री नभएको सामान यो वर्ष पनि सबै बिक्री हुन नसक्ने उनको भनाइ छ ।

कोरोना संक्रमणको अहिले दोस्रो लहर शुरु भएकाले संक्रमणबाट जोगिन भीडभाड तथा भेलाजस्ता कार्यक्रममा सहभागी नहुँन सुचना जारी गरिसकेको छ । त्यसैले , यो वर्ष रङहरूको पर्व रङ्गहीन हुने व्यवसायीहरूको अनुमान छ ।

 


क्लिकमान्डु