अरुण तेस्रो बनाइरहेको भारतीय कम्पनी सतलजले ७०२ मेगावाट बिजुली बिक्री गर्ने



काठमाडौं । भारतीय कम्पनी जीएमआरले निर्माण गर्ने भनेको माथिल्लो कर्णाली जलविद्युत् आयोजना करिब करिब कोमामा रहेको बेला अर्को कम्पनीले भने बिजुली बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ ।

भारतको सरकारी स्वामित्वको कम्पनी सतलज विद्युत् निगमले संखुवासभामा निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको झण्डै ४० प्रतिशत भौतिक प्रगति भएको छ ।

आयोजनामा हाल सुरुङ तथा बाँधस्थल निर्माणको काम भइरहेको छ ।

आयोजनाको भौतिक प्रगति समेत राम्रो भएकोे र तोकिएको समय भन्दा अगावै आयोजना निर्माण सम्पन्न हुने अवस्था रहेको छ ।

आयोजनाको भौतिक प्रगति समेत राम्रो रहेकाले आयोजनाको प्रवद्र्धक एसजेभिएन अरुण थर्ड हाइड्रोपावर कम्पनीले बिजुली बिक्रीका लागि बोलपत्र सार्वजनिक गरेको हो ।

कम्पनीले २ दिन पहिले प्रकाशित गरेको सूचना अनुसार ९०० मेगावाट मध्ये ७०२ मेगावाट बिजुली बिक्री गर्ने जनाएको छ ।

उत्पादित बिजुली मध्ये नेपालले १९७ मेगावाट बिजुली निःशुल्क पाउने प्रावधान आयोजना विकास सम्झौतामा रहेको छ । सो सम्झौता अनुसार नेपालालई दिने बिजुली बाहेक अन्य बिजुली बिक्रीका लागि बोलपत्र आह्वान गरिएको हो ।

कम्पनीले कम्तीमा पनि २५ वर्षका लागि बिजुली बिक्री गर्न लागेको सूचनामा उल्लेख गरेको छ । दीर्घकालीन रुपमा विद्युत् खरिद बिक्री सम्झौता गर्न लागिएको अरुण तेस्रो आयोजनाको प्रबद्र्धकले जनाएको छ ।

कम्पनीले १५ वर्षसम्म १० मेगावाट बढी बिजुली बिक्रीको व्यवस्थापन तथा बिक्री वितरण गरेको लगायतका विभिन्न ७ अनुभव रहेको हुनुपर्ने उल्लेख छ ।

आयोजना आगामी डेढ वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । कम्पनीले खुल्ला बोलपत्र प्रक्रियामार्फत् विद्युत् खरिद बिक्री प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । अरुण तेस्रोले बिजुली निर्यातका लागि बोलपत्र नै माग गरेपछि नेपाल भित्र उतपादन हुने बिजुली क्षेत्रीय बजारमा प्रवेशको ढोका खुल्ने विश्वास लिइएको छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले गत महिना मात्रै एक कार्यविधि सार्वजनिक गरी विद्युत् खरिद बिक्री सम्झौता भएका देशको बिजुली आयात गर्न सकिने जनाएको छ ।

सो सम्झौता अनुसार नेपालमा लगानी गरिरहेका भारतीय कम्पनी तथा नेपाली लगानीकर्ताले निर्माण गरेका आयोजनाको बिजुली भारत निकासीका लागि मार्ग प्रशस्त भएको छ । निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको संस्था इपान नेपालले पनि क्षेत्रीय बजारमा बिजुली बिक्रीका लागि सरकारले मार्ग प्रशस्त गरिदिन आग्रह गर्दै आएको छ ।

भारतीय कम्पनीले बिजुली बिक्रीका लागि नै बोलपत्र आह्वान गरेपछि त्यसले नै नेपालले वर्षाको समयमा खेर जाने बिजुली बिक्रीका लागि थप सहज हुने उद्यमीहरुको भनाइ छ ।

लगानी बोर्डको संयोजनमा अगाडि बढेको सो आयोजना भौतिक निर्माणका हिसाबले समेत अग्रस्थानमा रहेको छ । माथिल्लो कर्णालीको काम कहिले शुरु हुने होला भन्नेमा द्विविधा भइरहेको बेला अरुण तेस्रोको पछिल्लो प्रस्ताव आफैमा महत्वपूर्ण रहेको बताइन्छ ।

भारतीय कम्पनीले २५ वर्ष सो आयोजना सञ्चालन गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । आयोजना संखुवासभाको मकालु गाँउपालिकामा निर्माणधिन रहेको छ ।

आयोजनाबाट उत्पादित बिजुली संखुवासभा, भोजपुर, खोटाङलगायतका जिल्ला हुँदै ४०० केभी क्षमताको प्रसारण लाइनमार्फत् ढल्केबर सवस्टेशनमा जोडिनेछ । ढल्केबर– मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत् भारतीय भूमिमा प्रवेश गर्नेछ ।


क्लिकमान्डु