भारतमा फर्जी विवरण पेश गरी सेयर कारोबार गर्नेलाई साढे ३ करोड जरिवाना



काठमाडौं । नेपालमा एकै जनाले ५० भन्दा बढी डिम्याट खाता बनाएर सेयर खरिद गर्ने गरेको पाइएको भन्दै सिडिएससीले केही समय पहिले तथ्य सार्वजनिक गर्यो ।

मृत्यु भइसकेका व्यक्तिका नाममा समेत सेयर खरिद गरेको पाइएको भन्दै त्यसलाई रोक्न नयाँ सफ्टवेयर ल्याउने तयारी गरिरहेको छ ।

एक प्राकृतिक व्यक्तिको नाममा मात्रै हुने कारोबारमा विकृति देखिएको भन्दै सिडएससीले कारबाहीसहितको तयारी गरिरहेको बेला नेपालका लागि समेत सावधान जानकारी राख्न मिल्ने भारतमा एउटा घटना सार्वजनिक भएको छ ।

फर्जी कागजात प्रयोग गरेर सेयर कारोबार गर्दा वा गराउँदा के कस्तो कारबाही हुनसक्छ भन्ने बारेमा नेपाल र नेपालीका लागि समेत उक्त घटना जानकारी लिन मिल्ने वा जनचेतनाका लागि योग्य हुनसक्ने देखिएको छ ।

भारतमा हालैमात्र फर्जी कागजात पेश गरेर सेयर हड्पने खेल भएको पाइएको छ । स्थानीय प्रशासनले ८ जनालाई सेयर कारोबारमा रोक लगाएको छ ।

यस्तै २ कुरोड २२ लाख भारु बराबरको रकम फिर्ता गर्न आदेश पनि दिएको छ । त्यस्तै २६ डिपोजिटरीको कारवाही गर्न आदेश पनि दिइएको छ ।

बन्द भएका खाता प्रयोग गरेर सेयर कारोबारको खेल गरिएको थियो । त्यसमा कूल १४ वटा सूचीकृत कम्पनीको सेयरमात्रै ४ करोड ६० लाख भारु बराबरको धोकाधडी गरिएको थियो ।

कूल २६ वटा डिम्याट खातामा एकै खालको फोटो, नाम तथा प्यान कार्डको प्रयोग गरिएको पाइएको छ । सबै खातामा ४ देखि ५ वटा मोबाइल नम्बर प्रयोग गरिएको थियो ।

सेयर बिक्री गरेर पैसा अर्को खातामा जम्मा गर्ने गरिएको पाइएको छ । त्यहाँ चेक वा एटिएमबाट पैसा निकाल्ने गरिएको अनुसन्धानबाट खुलेको छ ।

स्थानीय नियमकारी प्रशासनले आशिका क्यापिटललाई आगामी ३ महिनासम्म नयाँ ग्राहक बनाउन प्रतिबन्ध लगाइएको छ । सेयर बजारको नियमकले हालसम्मकै ठूलो कारवाही भएको जनाएको छ ।

सेयरमा गलत खेल गरेको आरोपमा ८ जनालाई कारवाही गरिएको छ । नियमकले कारवाहीको सम्पूर्ण विवरण ८९ पेज लामो तयार पारेको छ ।

नियमले अरविन्द गोयलको सेयर बजारमा खरिद गरेको वा बिक्री गरेको तथा सामूहिक लगानी कोषमा सिधै वा कुनै न कुनै रुपमा गरेको लगानी समेत प्रतिबन्ध लगाएको छ ।

सक्युरिटी बजारमा कुनै पनि प्रकारको कारोबार गर्न २ वर्षका लागि प्रतिबन्ध लगाइएको छ । यस्तै सामूहिक लगानी कोष तथा अन्य सेयरमा गरिएको लगानी समेत जफत गरिएको छ ।

गलत कारोबारबाट प्राप्त भएको २ करोड २२ लाख भारु बराबरको रकम ४५ दिनभित्र जम्मा गर्न समेत आदेश दिइएको छ । उक्त रकमको वार्षिक १२ प्रतिशतको दरमा व्याज भुक्तानी गर्न भनिएको छ ।

यी सबै पैसा लगानीकर्ता सुरक्षा एवम् जनचेतनाका लागि तयार पारिएको कोषमा जम्मा हुनेछ । सो मामिलामा संलग्न भएको आरोपमा अभय जावलेकर, यतीन पारेख, मनीष राठी, धमेन्द्र भजक, रमेश डागा, जिग्नेश जैन, कौशिक सोलंकीलाई समेत सेयर कारोबारलाई एक वर्ष प्रतिबन्ध लगाइएको छ ।

विवरणअनुसार उनीहरुले १४ वटा सूचीकृत कम्पनीको ३ करोड ५६ लाख बराबरको सेयर २६ जनाको नाममा खरिद गरेका थिए । ती सेयरको बजार मूल्य ४ करोड ६० लाख भारु बराबरको रहेको छ ।

फर्जी नाममा गरिएको कारोबार गरेर उनीहरुले ठगी धन्दा चलाएका थिए । उनीहरुले सबै सेयर कारोबारबाट आएको पैसा बढीमा ३ भित्र निकाल्ने गरेको पाइएको छ । यस्तै एटिएमबाट भने एक सातामा पैसा निकाल्ने गरेका विवरणमा उल्लेख छ ।

भारतको धितोपत्र कारोबारसम्बन्धी नियमकले एन्जल ब्रोकिङमाथि छानबिन गर्दा, उक्त तथ्य प्रमाािण्त भएको थियो । परीक्षणमा सबै विवरण गलत भएको पाइएपछि उनीहरु विरुद्ध कारबाही गरिएको हो ।


क्लिकमान्डु