२ खर्बको अधिक तरलता ४० अर्बमा झर्यो, अन्तर बैंक ब्याजदर साढे ३ प्रतिशत पुग्यो



काठमाडौं । बजारमा लगानी योग्य रकम (तरलता) अभावको संकेत देखिएको छ । गत पुसको दोस्रो साता २ खर्बको हाराहारीमा बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था थियो । अहिले ४७ अर्ब ३८ करोड रुपैयाँ तरलता रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रणालीमा तरलता अभाव हुन थालेपछि बैंकहरुको एक बैंकले अर्को बैंकसँग सापटी लिने अन्तर बैंक कारोबारको भारित औषत ब्याजदर पनि बढ्न थालेको छ । गत पुसको दोस्रो सातासम्म अन्तर बैंक ब्याजदर औषतमा ०.१ प्रतिशत रहेकोमा २ महिनामा नै बढेर ३.४३ प्रतिशत पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

गत पुसको १५ गते बैंकिङ प्रणालीमा १ खर्ब ९१ अर्ब रुपैयाँ अधिक तरलता हुँदा अन्तर बैंक ब्याजदर ०.२१ प्रतिशत थियो । माघको १ गते १ खर्ब ५१ रुपैयाँ तरलता थियो भने अन्तर बैंक ब्याजदर ०.२१ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस्तै, माघको १५ गते बैंकिङ प्रणालीमा तरलता घटेर ८९ अर्ब रुपैयाँ पुग्दा अन्तर बैंक ब्याजदर बढेर ०.८६ प्रतिशत पुगेको थियो ।

फागुन १ गते बैंकिङ प्रणालीमा ६९ अर्ब रुपैयाँ तरलता थियो भने अन्तर बैंक ब्याजदर ०.५८ प्रतिशत पुगेको थियो । साथै, फागुनको १५ गते बैंकिङ प्रणालीमा ६९ अर्ब रुपैयाँ तरलता थियो भने अन्तर बैंक कारोबार ०.५३ प्रतिशत ब्याजदर भएको थियो ।

फागुनको २५ गते प्रणालीमा तरलता घटेर ३४ अर्ब रुपैयाँ पुग्दा अन्तर बैंक कारोबार भने २.९७ प्रतिशत ब्याजदरमा भएको थियो । सो बीचमा राष्ट्र बैंकबाट स्वीकृति पुनरकर्जा बैंकहरुले लैजाँदा तरलता थप भएर चैत २ गते ४७ अर्ब रुपैयाँ पुगेको प्रवक्ता भट्टले जानकारी दिए ।

चैत २ गतेसम्म अन्तर बैंक कारोबार ३.४३ प्रतिशत ब्याजदरमा भएको थियो ।

पछिल्लो समयमा उत्पादनशील क्षेत्रमा कर्जाको माग बढ्दा र आयात बढ्दा तरलता दवाद देखिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । जसले गर्दा भविष्य तरलता व्यवस्थापनमा केही दवाब पर्दा निक्षेपको ब्याजदर बढ्ने उनको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थामा ऋण प्रवाहको लागि आवश्यक रकमको अभाव हुँदै गएपछि अन्तर बैंक कारोबर समेत बढेको राष्ट्र बैंकका प्रवक्ता भट्टले जानकारी दिए ।

‘अहिले बैंक तथा वित्तीय संस्थामा कर्जाको माग अनुसार ऋण योग्य रकमको अभाव हुँदै गएको छ,’ उनले क्लिकमाण्डूसँग भने, २ महिना अघिसम्म न्यून हुने अन्तर बैंक कारोबार नै अहिले एक दिनमा १० अर्ब रुपैयाँदेखि ३० अर्ब रुपैयाँसम्म भइरहेको छ ।’

संस्थामा तरलता संकुचन हुँदै गएर अन्तर बैंक कारोबार बढ्दा सोको ब्याजदर बढेको हो । तरलता संकुचन हुँदा कर्जाको माग अनुसारको आपूर्ति गर्न बैंकहरुले निक्षेपकर्तालाई आकर्षण गर्ने हुँदा निक्षेपको ब्याजदर बढ्ने उनको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले चैत १ गतेसम्म ४३ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ३८ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमा वाणिज्य बैंकहरुलेमात्र ३८ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३४ खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

प्रणालीमा तरलता संकुचन हुँदै गएपछि केही बैंकहरुले निक्षेप तान्न आकर्षण ब्याजदरमा निक्षेप खाता योजना सार्वजनिक गरिरहेका छन् । बैंक तथा वित्तीय संस्थामा तरलता संकुचन हुँदैमा आत्तिएर अस्वस्थ प्रतिस्प्रर्धा गर्न नहुने प्रवक्ता भट्टले बताए ।

‘निक्षेपकर्ताले राम्रो ब्याज पाउने सकारात्मक पक्ष हो तर यसमा बैंकहरुले आत्तिएर अस्वस्थ प्रतिस्पर्था गर्नु हुँदैन,’ उनले थपे, ‘प्रणालीमा तरलता अभाव भएमा राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत् बजारमा तरलता प्रवाह गर्छ ।’

राष्ट्र बैंकले स्वीकृत गरिसकेको १ खर्ब ४२ अर्ब पुनरकर्जा मध्ये बैंकहरुले अझै ५० अर्ब रुपैयाँ लैजान नै बाँकी रहेको हुँदा सो मार्फत् पनि प्रणालीमा तरलता सिर्जना हुने उनले बताए ।

यस बाहेक बैंकहरुलाई उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्नका लागि राष्ट्र बैंक तरलताको सहजिकरण गर्न सदैव तयार नै रहेको उनले जानकारी दिए ।


क्लिकमान्डु