२५ करोड खर्चेर ऊर्जा क्षेत्रका लागि जनशक्ति उत्पादन गरिदै, इपान र शेषकान्त फाउण्डेशनबीच सहकार्य



काठमाडौं । स्वतन्त्र ऊर्जा उतपादकहरुको संस्था नेपाल (इपान)को तथ्यांकलाई पत्याउने हो भने यतिबेला झण्डै ३ हजार मेगावाट क्षमताका आयोजना निर्माणाधिन अवस्थामा छन् । यस्तै, २ हजार ६०० मेगावाट क्षमताका आयोजना निर्माणमा जानका लागि तयारी हालतमा छन् ।

आगामी ५ वर्षभित्र झण्डै ७ हजार १०० मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न हुनेछन् । जति जति जलविद्युत् आयोजना निर्माणमा गइरहेका छन्, उत्ति उत्ति नै प्राविधिक रुपमा तयार हुनुपर्ने अवस्था छ ।

नेपालमा जडान भएका अधिकाशं उपकरण कि त चिनियाँ छन्, कि त भारतीय । यस्तै यूरोपियन कम्पनीका उपकरण जडान भएका छन् । अर्बौ लगानी गरिएका आयोजनामा जडान भएका उपकरणमा सामन्य समस्या आउँदा पनि विदेशबाट मोटो पैसा तिरेर जनशक्ति मगाउनुपर्ने अवस्था छ ।

नेपालमा नै हाइड्रो र एलेक्ट्रोमेकानिकल काम गर्ने दक्ष जनशक्तिको अभाव हुँदा त्यसले असाध्यै ठूलो प्रभाव पारेको छ । सो प्रभावलाई न्यून गर्ने ध्येयका साथ निजी ऊर्जा उद्यमहीहरुले दक्ष जनशक्ति तयार पार्ने तयारी थालेका छन् ।

पछिल्ला दिनमा मुलुकभित्र उल्लेख्य मात्रामा जलविद्युत् आयोजना निर्माण भए पनि दक्ष जनशक्तिको अभाव रहँदै आएको तथ्यलाई मनन गर्दै ऊर्जा उद्यमीले साझेदारी गरेरै भए पनि मानवस्रोतको विकासमा ध्यान दिने भएका छन् ।

सोही उद्देश्यअनुसार आज स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) र गैरसरकारी संस्था शेषकान्त फाउण्डेशनबीच दक्षजनशक्ति उत्पादन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा इपानका अध्यक्ष कृष्णप्रसाद आचार्य र फाउण्डेशनका अध्यक्ष विश्वेश्वरप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

जलविद्युत् आयोजना निर्माण, सञ्चालन तथा मर्मतसम्भारका लागि योग्य, आवश्यक र दक्ष सीपयुक्त जनशक्ति उत्पादन गर्ने विषयलाई सम्झौतामा महत्वका साथ समेटिएको छ । इपानका अध्यक्ष आचार्यका अनुसार फाउन्डेसनले जलविद्युत् क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन तथा विकासमा सहकार्य गर्नेछ ।

धादिङको धुनिबेँसी नगरपालिकामा हालै सञ्चालनमा आएको फाउण्डेसनले दक्ष जनशक्ति उत्पादनका लागि सरकारसँग अनुमतिसमेत लिएको छ । जर्मन प्राविधिक शिक्षालयको समेत सहयोग रहेको सो फाउण्डेसनले  जलविद्युत् क्षेत्रमा अत्यावश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने फाउण्डेसनका अध्यक्ष ढकालको भनाइ छ ।

सबै पाठ्यक्रम तयार पारेर आगामी छ महिनाभित्र जलविद्युत् क्षेत्रका लागि जनशक्ति तालीम दिन शुरु गर्ने जानकारी दिँदै अध्यक्ष ढकालले प्रवर्द्धक कसँगको सहकार्यमा नै काम हुने बताए ।

हाल शिक्षालयमा २० ले प्रशिक्षण लिइरहेका छन् । निर्माणाधीन होस्टल, शिक्षालय भवन र उपकरण आयातसहित हालसम्म १५ करोड खर्च भइसकेको छ ।

सामान्यतया, दक्ष जनशक्ति उतपादनमा सरकारले नै ध्यान दिनुपर्ने हुन्छ । तर, सरकारले त्यसतर्फ कुनै पनि पहल गरेको छैन । यस्तै, थप ११ करोड लगानी गरिने फाउण्डेशनको तयारी छ । फाउण्डेशनले विभिन्न ३ वटा कोर्समा अध्ययन गराउने भएको छ ।

जलविद्युत् सञ्चालन तथा व्यवस्थापन, प्लान्ट सञ्चालन र आयोजना व्यवस्थापन तथा सञ्चालन गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने तयारी छ ।

पेनस्टक, भल्भ, गेटस जस्ता काम गराउन पनि विदेशबाट जनशक्ति ल्याउनुपरेको अवस्थालाई मध्यनजर गरेर दक्षजनशक्ति उत्पादनमा ध्यान दिन लागिएको हो ।


क्लिकमान्डु