लकडाउनमा १५.४ प्रतिशतले ऋणात्मक भएको जीडीपी वृद्धिदर सुधारोन्मुख



काठमाडौं । लकडाउन खुलेपछि नेपालको आर्थिक क्रियाकलाप वृद्धि भएसँगै यसको प्रभाव कुल गार्हस्थ्य उत्पादनमा सकारात्मक प्रभाव देखिन थालेको छ ।

आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासिमका कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ऋणात्मक १५.४ प्रतिशत देखिएको थियो । २०७७/७८ मा पहिलो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ऋणात्मक ४.६ रहेको छ ।

कोभिड-१९ महामारीले पर्यटन क्षेत्र, औद्योगिक उत्पादन र उपभोग कमजोर बनाउँदा आर्थिक वृद्धिदर ऋणात्मक भएको हो ।

चालु आर्थिक वर्षको शुरुवाती समयदेखि बन्दाबन्दी खुकुलो भएसँगै आर्थिक क्रियाकलाप क्रमिक रुपमा सञ्चालनमा आइरहेका छ । आर्थिक क्रियाकलापमा देखिएको वृद्धिसँगै यसको प्रभाव कुल गार्हस्थ्य उत्पादनमा देखिन शुरु भएको हो ।

गत आवको चौथो त्रैमासिकसम्म कुल गार्हस्थ्य उत्पादन वृद्धिदर दोहोरो अंकले ऋणात्मक रहेको थियो । चालु आवको पहिलो त्रैमासिकसम्म कुल गार्हस्थ्य उत्पादनको नकारात्मक वृद्धिदर ४.६ प्रतिशतमा झरेको छ । यद्यपि दोस्रो त्रैमासबाट भने नेपाली अर्थतन्त्रको पुनरुत्थान ‘भी’ सेपमा हुन सक्ने अनुमान गरिएको छ ।

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा बढी असर अकोमोडेसन एन्ड फूड सर्भिस क्षेत्रमा परेको छ । पर्यटकको आगमन नबढ्दा कैयन होटलहरु अहिले पनि सञ्चालन हुन सकेका छैनन् । जसका कारण चालु आवको पहिले त्रैमासमा यस क्षेत्रको योगदानको वृछिद्धर ७०.९ प्रतिशत ऋणात्मक छ ।

त्यसैगरी यातायात क्षेत्र १५.७ प्रतिशत, होलसेलर र रिटेल क्षेत्रको वृद्धिदर ११.७ प्रतिशत र उत्पादन क्षेत्रको वृद्धिदर १०.२ प्रतिशतले ऋणात्मक देखिएको छ ।
तर विद्युतीय ग्यास, स्टिम एण्ड एयर कण्डिसनिङ सप्लाइको वृद्धिदर भने १५.९ प्रतिशत देखिएको छ ।


क्लिकमान्डु