बीमा कम्पनीको ४ खर्ब लगानीमध्ये प्राथमिकता प्राप्त क्षेत्रमा ०.९७%, मुद्दति निक्षेपमा ७२.८०%



काठमाडौं । बीमा कम्पनीहरुले लगानी निर्देशिका विपरीत लगानी गरेका छन् । बीमा समितिले ल्याएको ‘बीमकको लगानी निर्देशिका २०७५’ मा उल्लेख गरिएका क्षेत्रमा तोकिएको सीमाको विपरीत गएर कम्पनीहरुले लगानी गरेका हुन् ।

समितिद्वारा उपलब्ध तथ्यांक अनुसार सञ्चालनमा रहेको ३९ वटा बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा ३ खर्ब ८८ अर्ब ९८ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । जसमध्ये जिवन बीमा कम्पनीहरुले ३ खर्ब २५ अर्ब ४५ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले ६३ अर्ब ५३ करोड रुपैयाँ लगानी गरेका हुन् ।

समितिले कम्पनीहरुलाई लगानीको दायरा फराकिलो बनाउँदै ‘लगानी निर्देशिका २०७५’ जारी गरी सकेको गरेको हो । यो निर्देशिका जारी गर्नुअघि बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा मात्र लगानी गर्न पाइरहेका थिए ।

लगानी निर्देशिका जारी भएपछि बीमा कम्पनीहरुले समितिले तोकिदिएको दायरामा रहेर कृषि, पर्यटन, जलस्रोत, घरजग्गा, पूर्वाधार, नागरिक लगानी कोष, तथा म्यूचुअल फण्डमा पनि लगानी गर्न सक्ने व्यवस्था समितिले गरिसकेको छ ।

समितिद्वारा उपलब्ध तथ्यांक अनुसार चालु आवको ६ महिनामा बीमा कम्पनीहरुले कुल ३ खर्ब ८८ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेका छन् । कुल लगानीको वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा ७२.८० प्रतिशत, विकास बैंकहरुको मुद्दति निक्षेपमा ८.६१ प्रतिशत, वित्त कम्पनीको मुद्दति निक्षेपमा ०.९१ प्रतिशत लगानी गरका छन् ।

सो अवधिमा गरिएको कुल लगानीमध्ये बीमा कम्पनीहरुले कृषि, पर्यटन, जलस्रोत लगायत पूर्वाधारका क्षेत्रमा ०.९७ प्रतिशत, नागरिक लगानी कोष तथा म्यूचुअल फण्डमा ०.८८ प्रतिशत, घरजग्गामा ०.१० प्रतिशत, सूचिकृत कम्पनीको साधारण सेयरमा ६.३४ प्रतिशत, बैंक तथा वित्त कम्पनीको अग्रधिकार सेयरमा र ऋणपत्रमा ८.५१ प्रतिशत र अन्य क्षेत्रमा ०.१६ प्रतिशत लगानी गरेका छन् ।

लगानी निर्देशिकामा के छ ?
लगानी निर्देशिका अनुसार घरजग्गा व्यवसायमा कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म, वाणिज्य बैंक र विकास बैंकको मुद्दति निक्षेपमा २० प्रतिशत, वित्त कम्पनीको मुद्दतिमा १० प्रतिशत र राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तको साधारण सेयरमा कुल टेक्निकल रिजर्भको २० प्रतिशत लागनी गर्न पाउछन् ।

साथै, सो लगानी निर्देशिका अनुसार बीमा कम्पनीहरुले कुल टेक्निकल रिजर्भको २० प्रतिशत डिबेञ्चरमा, २० प्रतिशत कृषि, पर्यटन र जलस्रोत वा ऋणपत्रमा, ५ प्रतिशत नागरिक लगानी कोष र म्यूचुअल फण्डमा लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

जस अनुसार जिवन बीमा कम्पनीहरुले चालु आवको पुस मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दति निक्षेपलाई नै आफ्नो लगानीको प्रमुख क्षेत्र बनाएका छन् । तर सरकारले नै प्राथमिकता प्राप्त क्षेत्र भनेर वर्गीकरण गरेको कृषि, पर्यटन, जलस्रोतमा भने तोकिएभन्दा कम अर्थात् नगन्य लगानी कम्पनीहरुले सो अवधिमा गरेका छन् ।

बीमा कम्पनीहरुले लगानी निर्देशिका अनुसार लगानी नगरेपछि केही समयअघि समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले सोमा कडाइ गरेका छन् । उनले कम्पनीलाई पत्राचार गर्दै तोकिएको प्राथमिकता प्राप्त क्षेत्रमा निर्देशिकामा उल्लेख गरे बमोजिम लगानी नगरेसम्म अन्य क्षेत्रमा लगानीको स्वीकृति नदिने निर्णय गरेका हुन् ।

कुन क्षेत्रमा कति लगानी ?
कम्पनीहरुले सो अवधिमा कृषि, पर्यटन, जलस्रोत, लगायत पूर्वाधारका क्षेत्रमा ३ अर्ब ४४ करोड ३५ लाख रुपैयाँ लागनी गरेका छन् । जसमा निर्जीवन बीमा कम्पनीहरुले २३ करोड ९२ लाख रुपैयाँ र जीवन बीमा कम्पनीहरुले ३ अर्ब ५५ करोड ६० लाख रुपैयाँ सो क्षेत्रमा पुस मसान्तसम्म गरेका हुन् ।

चालु आवको पुस मसान्तसम्म बीमा कम्पनीहरुले वाणिज्य बैंकको मुद्दति निक्षेपमा २ खर्ब ८३ अर्ब १८ करोड ७९ लाख रुपैयाँ लगानी गरेका छन् । जसमध्ये निर्जीवन बीमा कम्पनीहरुले ४५ अर्ब ९० करोड रुपैयाँ र जीवन बीमा कम्पनीहरुले २ खर्ब ३७ अर्ब २८ करोड रुपैयाँ लगानी सो शीर्षकमा गरेका हुन् ।

सो अवधिमा विकास बैंकहरुको मुद्दति निक्षेपमा ३३ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका छन् । जसमध्ये निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब ९० करोड ५३ लाख रुपैयाँ र जीवन बीमा कम्पनीहरुले २७ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ लगानी गरेका छन् ।

साथै, वित्त कम्पनीहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुले ३ अर्ब ५७ करोड ५१ लाख रुपैयाँ लगानी गरेका छन् । जसमध्ये ८१ करोड ९६ लाख रुपैयाँ निर्जीवन बीमा कम्पनीले र २ अर्ब ७५ करोड ५४ लाख रुपैयाँ जीवन बीमा कम्पनीहरुले गरेका हुन् ।

यस्तै, सो अवधिमा राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीको अग्राधिकार सेयर र ऋणपत्रमा कम्पनीहरुले ३३ अर्ब १० करोड २९ लाख रुपैयाँ लगानी गरेका छन् । जसमध्ये निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ७० करोड २० लाख रुपैयाँ र जीवन बीमा कम्पनीहरुले २९ अर्ब ४० करोड रुपैयाँ लगानी गरेका हुन् ।

साथै, सो अवधिमा सुचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा कुल लगानीको ६.३४ प्रतिशत अर्थात् २४ अर्ब ६६ करोड ६३ लाख रुपैयाँ लगानी गरेका छन् । जसमध्ये निर्जीवन बीमा कम्पनीले ५ अर्ब ७९ करोड रुपैयाँ र जीवन बीमा कम्पनीले १८ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ लगानी गरेका हुन् ।

यसैगरी, सो अवधिमा जीवन बीमा कम्पनीहरुले मात्र घरजग्गामा ४२ करोड २ लाख रुपैयाँ लगानी गरेका छन् । घरजग्गाको क्षेत्रमा निर्जीवन बीमा कम्पनीहरुले भने सो अवधिमा लगानी नगरेको बीमा समितिको तथ्यांकले देखाउँछ । साथै, सो अवधिमा सुचीकृत पब्लिक कम्पनीको डिबेञ्चरमा जिवन र निर्जीवन दुबै बीमा कम्पनीहरुले लगानी नगरेको तथ्यांकमा छ ।


क्लिकमान्डु