राष्ट्रिय गौरवका आयोजनाको संख्या थप्ने सरकाराको होडबाजीः प्रगति भने लज्जास्पद



काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुको संख्या बढाएर २५ वटा पुर्याएको छ । गत वर्षसम्म २३ वटा रहेका राष्ट्रिय गौरवका आयोजनाको संख्या यो वर्षसम्म आइपुग्दा २५ पुगेको छ ।

एकातिर राष्ट्रिय गौरवका आयोजना बढिरहेका छन् भने अर्कोतिर हालसम्म यस अन्तर्गतका एउटा पनि आयोजना सम्पन्न हुन सकेको अवस्था छैन ।

काठमाडौंका जनतालाई पानी खुवाउने भनेर करिब ४० वर्षअघि शुरु गरिएको मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्नको अन्तिम चरणमा आएको लामो समयसम्म पनि मेलम्चीबाट काठमाडौंसम्म पानी आउन सकेको छैन ।

यस्ता धेरै आयोजना छन्, जसलाई राष्ट्रिय गौरवका आयोजना अन्तर्गत त राखियो । तर, ती आयोजनाका काम अगाडि बढाउन सकिएको छैन ।

पूर्वअर्थसचिव तथा हाल प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाकार लालशंकर घिमिरे मुलुकका लागि राष्ट्रिय गौरवका आयोजना नै बढी भएको बताउँछन् ।

‘प्राथमिकतामा सबै आयोजना राख्न सकिन्न, केही आयोजनामात्रै हुनुपर्छ, तब मात्रै प्रभावकारीरुपमा काम गर्न सकिन्छ, भएजति आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राख्दा त्यसको बोझ बढी भएको छ,’ घिमिरे भन्छन् ।

उनको भनाइलाई आधार मानेर हेर्दा राष्ट्रिय गौरवका आयोजना कतिपय अवस्थामा बोझ नै भएको देखिन्छ । २५ वटा आयोजनामध्ये ५ वटा आयोजना त एउटै मन्त्रालय अन्तर्गत छन् ।

पर्यटन मन्त्रालय अन्तर्गत भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ विमानस्थलसँगै लुम्बिनी विकास कोष र पशुपति क्षेत्र विकास कोषको जिम्मेवारी छ ।

तर हालसम्म एउटा आयोजना पनि पूरा हुन सकेको छैन । यतिसम्म कि सकिनै लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि निर्धारित समयभन्दा निकै पर धलेकिएको छ ।

सबैभन्दा पुरानो आयोजना मेलम्चीको अवस्था त सबैलाई थाहा भएकै विषय हो । पछिल्लो दशकमा बनेका प्रत्येक सरकारले आफ्नै पालामा मेलम्चीको पानी काठमाडौं ल्याउने भनेर दावीसमेत गर्दै आए । तर कुनै पनि सरकारले हालसम्म काम पूरा गर्न सकेका छैनन् ।

पूर्वखानेपानीमन्त्री बिना मगरले त पटक-पटक मिति नै तोकेर पानी ल्याइ छाड्ने दावी समेत गर्न भ्याइन । तर उनको दावी पनि २ मिनेटको भाषणमै सीमित भयो ।

आखिर मेलम्ची खानेपानी आयोजना यति लामो समयसम्म पनि किन पूरा हुन सकेन त ?

सरकारका पूर्वसचिव कमल पाण्डेका शब्दमा भन्दा मेलम्ची खोपानी सन् १९८२ मै शुरु भए पनि यसको मुख्य काम भने २०१३ देखि १०१८ सालको ५ वर्षमा मात्रै भएको छ । शुरुवाती समयमा विभिन्न बाहनामा भौतिक प्रगतिको कामै हुन सकेको थिएन । अझ शुरुवाती कैयन वर्ष त कागजी काममा मात्रै बित्यो ।

विज्ञहरु भन्छन्, ‘यसमा नेपाल सरकार जति दोषी छ त्यत्तिकै दोषी एसियाली विकास बैंक (एडीबी)को पनि छ ।’

हाल मेलम्ची आजका दिनसम्म आउन नसक्नुमा यसबीचमा बनेका सरकार जत्तिकै एडीबी पनि भएको उनीहरुको तर्क छ ।

कुन आयोजना कति वर्ष पुगे ?

राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा पुरानो आयोजना हो मेलम्ची खानेपानी आयोजना । यसको काम सन् १९८२ मा शुरु गरिएको हो । तत्कालीन समयमा शुरुवात भए पनि सन् १९८८ मा आएर प्रिफिजिबिलिटी अध्ययन गरिएको थियो ।

त्यसको ८ वर्षपछि सन् १९९६ मा मात्रै ५ मिलियन डलरको इन्जिनियरिङ लोन लिएको र सन् १९९९ मा मात्रै आए पूर्णरुपमा संभाव्यता अध्ययन गरिएको थियो । तत्कालीन समयमा लसन् २००७ मा आयोजना पूरा हुने भनिए पनि हालसम्म त्यो अनिश्चित नै छ ।

त्यसैगरी लुम्बिनी क्षेत्र विकास कोष पनि शुरु भएको ४१ वर्ष भएको छ भने बबई सिँचाइ आयोजना पनि शुरु भएको ३१ वर्ष भइसकेको छ । त्यसैगरी पशुपति क्षेत्र विकास कोषको काम शुरु भएको २० वर्ष पूरा भएको छ । साथै सिक्टा सिँचाइ आयोजनाको काम शुरु भएको १७ वर्ष पूरा भइसकेको छ ।

त्यसैगरी पुरष्पलाल मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, उत्तर-दक्षिण करिडोरका कोसी, कर्णाली र कालीगण्डकीका आयोजनाका साथै रेल, मेट्रो तथा मोनोरेलको आयोजना र महाकाली सिँचाइको काम पनि १० वर्षभन्दा माथि पुगेको छ । तर यी आयोजाको नतिजा कहिले देखिन्छ भन्ने अझै टुंगो छैन ।


पुष्प दुलाल