आजदेखि राष्ट्र बैंकमा दुबै डेपुटी गभर्नर पद खाली, को बन्ला नयाँ ?



काठमाडौं । नेपाल राष्ट्र बैंकमा आज दुईवटै डेपुटी गभर्नरको पद खाली भएको छ । डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ ५ वर्षे कार्यकाल पूरा गरी अवकास पाएका छन् ।

बैंकिङ क्षेत्रसँग सरोकार राख्नेहरुका लागि हट केकको विषय बनेको छ- अबको डेपुटी गभर्नर को ?

सबैले आआफ्नै लख काटेका छन् । फलानो भइदिए हुन्थ्यो भनेर शुभेच्छा प्रकट गर्नेहरु पनि थुप्रै छन् ।

तर, आफू डेपुटी गभर्नर हुन लाग्नेहरु भने झन्डै एक दर्जन छन् । अहिले राष्ट्र बैंकमा १७ जना कार्यकारी निर्देशक कार्यरत छन् । जसमध्ये २÷४ जनाबाहेक सबै पद प्राप्त गर्ने दौडधुपमा छन् ।

डेपुटी गभर्नर बन्न शक्तिकेन्द्र धाउन थाले राष्ट्र बैंकका कार्यकारी निर्देशक, कस्ले मार्ला बाजी ?

कार्यरत १७ जनै कार्यकारी निर्देशकहरु डेपुटी गभर्नर बन्ने योग्यता र क्षमता राख्छन् भन्ने व्यवस्था राष्ट्र बैंक ऐनमै उल्लेख छ । ऐनले कार्यकारी निर्देशकहरुमध्येबाट एउटा पदका लागि दुई उम्मेद्वार सिफारिस गर्न पाउने अधिकारी गभर्नरलाई दिएको छ । यसरी गभर्नरले गरेको सिफारिसका आधारमा अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लैजान्छन् । र, उपयुक्त लागेको व्यक्तिलाई मन्त्रिपरिषदले नियुक्ति गर्छ ।

ऐनले व्यवस्था गरेअनुसार गभर्नरले विशिष्ट श्रेणीका अधिकृतहरुको नाम सिफारिस गर्दा कार्यक्षमताको आधारमा सिफारिस गर्नु पर्ने उल्लेख गरिएको छ । तर, डेपुटी गभर्नरको पद राजनीतिक नियुक्ति भएकाले सत्ता सञ्चालन गर्नेहरुले विश्वास गरेका व्यक्तिले पद प्राप्त गर्दै आएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी ओली समूहका अध्यक्ष रहेका केपी शर्मा ओली प्रधानमन्त्री छन् । त्यसैले अहिले कुनै न कुनैरुपमा ओलीको वा ओलीका विश्वासपात्रको विश्वास जित्ने व्यक्ति नयाँ डेपुटी गभर्नर बन्ने निश्चित छ । कांग्रेस निकट र नेकपाकै प्रचण्ड माधव नेपाल निकट कार्यकारी निर्देशकहरुले पद पाउने संभावना छैन ।

लामो समयदेखि ओली गुटमा रहेका र पद पाउनकै लागि ओली गुटमा लागेका ५/६ जनामध्ये २ जनाले बाजी मार्नेछन् ।

डेपुटी गभर्नर मुुलुकको वित्तीय क्षेत्र हाँक्ने केन्द्रिय बैंकको दोस्रो शक्तिशाली पद हो । उच्च व्यवस्थापनमात्रै नभएर डेपुटी गभर्नर राष्ट्र बैंकको सञ्चालक समितिको पदेन सदस्य पनि हो ।

अहिले नियुक्त हुने डेपुटी गभर्नर भविष्यमा गभर्नरको दावेदार पनि हुन् । त्यसैले पनि कार्यकारी निर्देशकहरु डेपुटीका लागि मरिहत्ते नै गर्छन् ।

त्यसैले अहिले अधिकांश कार्यकारी निर्देशकहरु शक्ति केन्द्र धाइरहेका छन् ।

गभर्नर महाप्रसाद अधिकारीले यसैसाता सिफारिस गर्ने र यसै साता बस्ने मन्त्रिपरिषदले नयाँ डेपुटी गभर्नर नियुक्ति गर्ने संभावना छ । किनभने गत पुस ५ गते बिघटन भएको संसद फागुन ११ गते सर्बोच्च अदालतले ब्यूँताइदिएको छ । र, १३ दिनभित्र संसद बोलाउन अदालतले आदेश दिइसकेको छ ।

प्रधानमन्त्रीदेखि मन्त्रीहरुको पद धरापमा परेको अवस्थामा यस्ता महत्वपूर्ण नियुक्ति हतार हतार गर्ने हाम्रो परम्परा नै छ । किनभने आफू सत्ताबाट बाहिरिए पनि आफूले नियुक्ति गरेका मान्छेहरु महत्वपूर्ण पदमा रहिरहन्छन् । र, हिँजो लगाएको गुन तिर्छन् भन्ने राजनीतिक नेतृत्वलाई आशा हुन्छ । जुन स्वाभाविक पनि हो ।

बजारमा कार्यकारी निर्देशकहरु डा. प्रकाश श्रेष्ठ, देवकुमार ढकाल, निलम तिम्सीना र बमबहादुर मिश्रको डेपुटी गभर्नर बन्ने संभावना बलियो भएको चर्चा सुनिदै आएको छ ।

तर, डेपुटी गभर्नर बन्नका लागि सबैभन्दा गभर्नरलाई रिझाएर सिफारिसमा पर्नुपर्ने भएकाले आशाबादी कार्यकारी निर्देशकहरु गभर्नरसँग निकट सम्बन्ध बनाउन हरसंभव प्रयास गरिरहेका छन् । हेरौ गभर्नर अधिकारीले कसलाई पत्याउँछन् र सरकारले क–कसलाई पत्याउँछ ।

ओली सरकारका नियुक्ति र निर्णयहरु आम मानिसले सोचेभन्दा फरक हुने भएकाले यही कार्यकारी निर्देशक नयाँ डेपुटी गभर्नर बन्ला भनेर अनुमान लगाउन कठिन छ ।


पुष्प दुलाल