डेपुटी गभर्नर बन्न शक्तिकेन्द्र धाउन थाले राष्ट्र बैंकका कार्यकारी निर्देशक, कस्ले मार्ला बाजी ?



कठमाडौं । पाँच वर्षे कार्यकाल पूरा गरी राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ आगामी फागुन १८ गतेदेखि बाहिरिँदैछन् ।

नयाँ डेपुटी गभर्नर बन्नका लागि राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु गभर्नर महाप्रसाद अधिकारीलाई खुसी बनाउनेदेखि अन्य राजनीतिक शक्तिकेन्द्र धाउन थालेका छन् ।

राष्ट्र बैंकमा कार्यरत १७ जना कार्यकारी निर्देशकहरु डेपुटी गभर्नर बन्ने योग्यता राख्छन् । डेपुटी गभर्नर बन्नका लागि सबैभन्दा पहिला गभर्नरको मन जित्नुपर्छ । किनभने गभर्नरले सिफारिस गरेका नाममध्येबाट मात्रै सरकारले डेपुटी गभर्नर नियुक्ति गर्न सक्छ ।

गभर्नरले रिक्त पदको दोब्बर संख्यामा विशिष्ट श्रेणीका अधिकृतहरुमध्येबाट नामावली सिफारिस गर्नु पर्ने व्यवस्था राष्ट्र बैंक ऐनले गरेको छ । जसअनुसार अहिले रिक्त हुन लागेको २ पदमा गभर्नरले ४ जनाको नाम सिफारिस गर्नेछन् ।

ऐनले व्यवस्था गरेअनुसार गभर्नरले विशिष्ट श्रेणीका अधिकृतहरुको नामावली सिफारिस गर्दा कार्यक्षमताको आधारमा सिफारिस गर्नु पर्ने उल्लेख गरिएको छ ।

गभर्नरले सिफारिस गरेको नामबाट मन्त्रिपरिषदले ५ वर्षे कार्यकालका लागि डेपुटी गभर्नरको नियुक्ति गर्नेछ ।

बरियताका आधारमा गभर्नर महाप्रसाद अधिकारीले विशिष्ट श्रेणीका अधिकृतहरु ४ जनाको नामावली सिफारिसमा पठाउँदा कार्यकारी निर्देशकहरु भुवन कँडेल, नेफिल मताङगी मास्के, निलम ढुंगाना तिम्सिना र देवकुमार ढकालको नाम सिफारिसमा पर्ने निश्चित छ ।

कार्यसम्पादनका आधारमा गरे भने उनीहरुको नाम पर्न पनि सक्छ नपर्न पनि सक्छ । तर, उनीहरुमध्ये एक जनाको नाम पर्ने भने निश्चितजस्तै छ ।

नियुक्त हुने डेपुटी गभर्नर भविष्यमा गभर्नरको दावेदार पनि हुन् । त्यसैले पनि कार्यकारी निर्देशकहरु डेपुटीका लागि मरिहत्ते नै गर्छन् ।

डेपुटी गभर्नर मुुलुकको वित्तीय क्षेत्र हाँक्ने केन्द्रिय बैंकको दोस्रो शक्तिशाली पद हो । उच्च व्यवस्थापनमात्रै नभएर डेपुटी गभर्नर राष्ट्र बैंक सञ्चालक समितिको पदेन सञ्चालक हुने व्यवस्था छ ।

बरियताको आधारमामात्रै नभएर गभर्नरले कार्यक्षमता र राजनीतिक पहुँचको आधारमासमेत नाम सिफारिस गर्ने गरेका छन् ।

सोहीकारण अहिले केन्द्रीय बैंकले पाउने नयाँ डेपुटी गभर्नरको प्रतिस्पर्धी १७ जना कार्यकारी निर्देशकलाई मानिएको छ ।

आकांक्षीहरु अर्थमन्त्री, प्रधानमन्त्री र अन्य मन्त्री तथा शक्तिशाली नेताहरुकहाँ धाउन थालेका छन् । नेकपाको सरकार रहेकाले नेकपासँग निकट रहेका कार्यकारी निर्देशक डेपुटी बन्ने निश्चित छ । कांग्रेस निकट कार्यकारी निर्देशकको संभावना शून्य छ ।

हाल अर्थमन्त्री विष्णु पौडेलका सल्लाकारकारुपमा अर्थमन्त्रालय काजमा रहेका डा. प्रकाश श्रेष्ठलाई सबैभन्दा बलियो दाबेदारका रुपमा व्याख्या विश्लेषण गरिएको छ । किनभने अर्थमन्त्रीले विश्वास गरेर आफ्नो सल्लाहकार बनाएकाले श्रेष्ठलाई नै डेपुटी गभर्नर बनाउँछन् भन्ने आँकलन गरिएको छ ।

गभर्नरले सिफारिस गरेको नामलाई अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव गर्छन् । र, मन्त्रीपरिषदले नियुक्ति गर्छ ।

त्यसपछि नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालाई शशक्त दाबेदारका रुपमा लिइएको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी गभर्नरले आफ्नो विश्वासपात्रलाई दिने गर्छन् । त्यसआधारमा देवकुमार ढकाल गभर्नरको पहिलो रोजाईमा पर्नसक्ने आँकलन गरिएको छ ।

प्रवक्ताको जिम्मेवारी पाएका अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र, बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्री, बैंकिङ विभागका कार्यकारी निर्देशक नरेश शाक्य पनि शशक्त दाबेदार भएको चर्चा छ ।

राष्ट्र बैंकको उच्च व्यवस्थापन र सञ्चालक समितिलाई समावेसी बनाउने हो भने राष्ट्र ऋण व्यवस्थापन विभागकी कार्यकारी निर्देशक निलम ढुंगाना तिम्सीना सबैभन्दा शशक्त दाबेदार हुन् ।

बरियताका क्रममा डेपुटी गभर्नर बनाउने हो भने भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलको प्रवल संभावना छ ।

त्यसैगरी, कार्यकारी निर्देशकहरु पिताम्बर भण्डारी, रिषिकेश भट्ट, सुमनकुमार अधिकारी, प्रदिपराज पौडेल, रेवती प्रसाद नेपाल, रामु पौडेल, विश्रुत थापा र राम बहादुर मान्धर पनि डेपुटी गभर्नरका लागि दावेदार र संभावना भएका व्यक्ति हुन् ।

राष्ट्र बैंकले ऐनमै डेपुटी गभर्नर बन्नका लागि निश्चित शैक्षिक योग्यता तोकेको छ । ऐनमा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ ।

कुन कार्यकारी निर्देशकको शैक्षिक योग्यता कति/जिम्मेवारी के ?

भुवन कँडेलः  २०५९ साल चैत २० गते राष्ट्र बैंकको जागिरमा प्रवेश गरेका कँडेल बरियताको आधारमा पहिलो नम्बरका कार्यकारी निर्देशक हुन् । चार्टर्ड एकाउन्टेन्टसम्मको अध्ययान पूरा गरका कँडेल २०७३ भदौ २९ गते राष्ट्र बैंकको कार्यकारी निर्देशक भएका हुन् । हाल उनी भुक्तानी प्रणाली विभागका प्रमुख छन् । यसअघि उनले विकास बैंक सुपरिवेक्षण, आन्तरिक लेखा परिक्षण र मुद्रा व्यवस्थापनमा विभागिय प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।

 

नेफिल मताङगी मास्केः अर्थशास्त्रमा विदेशमा विद्यावारिधी गरेका मास्के २०५७ सालमा राष्ट्र बैंकमा जागिरे भएका हुन् । उनी २०७४ साल फागुन २५ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए । त्यसबेलादेखि अहिलेसम्म उनी गभर्नर कार्यलयमा छन् । मास्के बरियतामा दोस्रो नम्बरमा पर्छन् ।

 

निलम ढुंगाना तिम्सिनाः हाल एकमात्र महिला कार्यकारी निर्देशक रहेकी तिम्सिनाले २०५४ मंसिर २२ गतेदेखि राष्ट्र बैंकमा जागिर शुरु गरेकी हुन् । व्यवस्थापनमा विद्यावारिधी गरेकी तिम्सिना २०७४ साल फागुन २५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएकी हुन् । हाल उनी राष्ट्र ऋण व्यवस्थापन विभागमा छिन् । सो अघि उनी आन्तरिक लेखा परिक्षणमा थिइन् । तिम्सिना बरियताको सुचीमा तेस्रो नम्बरको कार्यकारी निर्देशक हुन् ।

 

देव कुमार ढकालः २०५४ साल मंसिर २२ गतेदेखि राष्ट्र बैंकमा जागिर शुरु गरेका ढकाल २०७४ चैत १५ गते कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । उनले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । उनी हाल नियमन विभागका प्रमुख हुन् । यसअघि उनले वित्त कम्पनी सुपरिवेक्षण र भुक्तानी प्रणाली विभागको प्रमुख भएर काम गरिसकेका छन् । ढकाल बरियताको सुचीमा चौथो नम्बरका कार्यकारी निर्देशक हुन् ।

 

मुकुन्द क्षेत्रीः राष्ट्र बैंकमा २०५७ सालबाट जागिर शुरु गरेका क्षेत्री २०७४ साल चैत २८ गते कार्यकारी निर्देशक भएका हुन् । उनले सिए र व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । हाल बैंक सुपरिवेक्षणका विभागिय प्रमुख रहेका क्षेत्रीले यसअघि सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका प्रमुख थिए । उनी बरियताको सुचीका ५औं नम्बरका कार्यकारी निर्देशक हुन् ।

 

पिताम्बर भण्डारीः राष्ट्र बैंकमा २०५७ साल असार १ गतेदेखि जागिर शुरु गरेका भण्डारीले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी २०७४ साल चैत २८ गते राष्ट्र बैंकमा कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । हाल वित्त कम्पनी सुपरिवेक्षणमा प्रमुख रहेका भण्डारी यसअघि मानव संसाधन व्यवस्थापन विभागका प्रमुख थिए । उनी बरियताका आधारमा छैठौं नम्बरका कार्यकारी निर्देशक हुन् ।

 

ऋषिकेश भट्टः

२०५९ साल चैत २० गतेदेखि राष्ट्र बैंकमा जागिर शुरु गरेका भट्ट २०७५ साल भदौ १२ गते कार्यकारी निर्देशक बढुवा भएका हुन् । उनले सिपिए र व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । हाल विकास बैंक सुपरिवेक्षण विभागको प्रमुख रहेका भट्टले यसअघि वित्त व्यवस्थापन विभाग र वित्त कम्पनी सुपरिवेक्षण विभागका प्रमुखको जिम्मेवार समेत सम्हालिसकेका छन् । वरियताको सुचीमा उनी ७ नम्बरका कार्यकारी हुन् ।

 

प्रदिपराज पौडेलः राष्ट्र बैंकमा २०५४ साल मंसिर २२ गतेदेखि जागिर शुरु गरेका पौडेल २०७५ असोज १८ गते कार्यकारी निर्देशक भएका हुन् । उनले व्यवस्थापन विषयमा नेपाल र बेलायतबाट २ पटक स्नातकोत्तर गरेका छन् । हाल वित्त व्यवस्थापन विभाग प्रमुख रहेका पौडेलले यसअघि संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका प्रमुख थिए । उनी वरियताको सुचीमा ८औं नम्बरका कार्यकारी हुन् ।

 

डा. गुणाकर भट्टः २०५७ साल असार १ गतेदेखि राष्ट्र बैंकमा जागिर शुरु गरेका भट्ट २०७५ साल कात्तिक ६ गते कार्यकारी निर्देशक भएका हुन् । उनले व्यवस्थापन र अर्थ शास्त्र विषयमा स्नातकोत्तर अर्थशास्त्रमा पिएचडी गरेका छन् । भट्ट कार्यकारी भएयता अनुसन्धान विभागको प्रमुख छन् । प्रवक्तासमेत रहेका भट्ट वरियताको सुचीमा नवौं नम्बरका कार्यकारी हुन् ।

 

नरेश शाक्यः राष्ट्र बैंकमा २०५४ साल मंसिर २२ गतेदेखि जागिर शुरु गरेका शाक्य २०७६ साल जेठ ३० गते कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । उनले व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । कार्यकारी भएयता उनी राष्ट्र बैंक बैंकिङ विभागका प्रमुख छन् । उनी नेपाल क्लियरिङ हाउसका अध्यक्ष पनि हुन् । शाक्य वरियताको सुचीमा १०औं नम्बरका कार्यकारी निर्देशक हुन् ।

 

सुमनकुमार अधिकारीः २०५४ साल मंसिर २२ गतेदेखि राष्ट्र बैंकमा जागिर शुरु गरेका अधिकारी ०७६ असार ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । उनले अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् । हाल उनी सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका प्रमुख छन् । यसअघि अधिकारीले संस्थागत सुसाशन र सामान्य सेवा विभागका प्रमुख थिए । उनी वरियता सुचीमा ११औं नम्बरका कार्यकारी निर्देशक हुन् ।

 

डा. प्रकाश कुमार श्रेष्ठः  राष्ट्र बैंकमा २०५४ साल मंसिर २३ गतेदेखि जागिर शुरु गरेका श्रेष्ठ ०७६ असार ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । उनले अर्थशास्त्रमा पिएचडी गरेका छन् । हाल अर्थमन्त्रीका सल्लाकारका रुपमा अर्थमन्त्रालय काजमा रहेका श्रेष्ठ यसअघि लघुवित्त सुपरिवेक्षण विभागका प्रमुख थिए । त्यसअघि उनले प्रदेश नं. ५ को योजना आयोगको उपाध्यक्षका रुपमा पनि काम गरेका थिए । श्रेष्ठ वरियताको सुचीमा १२औं नम्बरका कार्यकारी निर्देशक हुन् ।

 

बमबहादुर मिश्रः  २०५९ साल साउन २७ गतेदेखि राष्ट्र बैंकमा जागिर शुरु गरेका मिश्र ०७६ साउन २३ गते कार्यकारी निर्देशक बढुवा भएका हुन् । उनले व्यवस्थापन र अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् । उनले कानूनमा एलएलबिसम्मको अध्ययन पूरा गरेका छन् । हाल विदेशी विनिमय विभागका प्रमुख रहेका मिश्रले यसअघि भुक्तानी प्रणाली विभागका प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । उनी वरियताको सुचीमा १३औं नम्बरका कार्यकारी निर्देशक हुन् । उनीसँग निजी बैंकमा काम गरेको अनुभव पनि छ ।

 

रेवतीप्रसाद नेपालः २०५४ साल मंसिर २२ गतेदेखि राष्ट्र बैंकमा जागिर शुरु गरेका नेपाल ०७६ फागुन १३ गते कार्यकारी निर्देशक बढुवा भएका हुन् । उनले व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । हाल मुद्रा व्यवस्थापन विभागका प्रमुख रहेका नेपाल यसअघि भुक्तानी प्रणाली विभागका प्रमुख थिए । उनी वरियताको सुचीमा १४औं नम्बरका कार्यकारी निर्देशक हुन् ।

 

रामु पौडेलः  राष्ट्र बैंकमा २०५९ साल साउन २७ गते प्रवेश गरेका पौडेल ०७७ बैसाख १२ गते कार्यकारी निर्देशक बढुवा भएका हुन् । उनले अर्थशास्त्रमा एमफिल र व्यस्थापनमा स्नातकोत्तर गरेका छन् । हाल मानव संशाधन विभागका प्रमुख रहेका पौडेल यस अघिवित्त कम्पनी सुपरिवेक्षणका प्रमुख थिए । उनी वरियताको सुचीमा १५औं नम्बरका कार्यकारी निर्देशक हुन् ।

 

विश्रुत थापाः राष्ट्र बैंकमा २०६० साल मंसिर ८ गतेबाट जागिर शुरु गरेका थापा चार्टर्ड एकाउन्टेन्ट हुन् । उनी ०७७ बैसाख १२ गते कार्यकारी निर्देशक बढुवा भएका हुन् । हाल आन्तरिक लेखा विभागको प्रमुख रहेका थापा यसअघि मुद्रा व्यवस्थापन विभागका प्रमुख थिए । उनी वरियताको आधारमा १६औं स्थानका कार्यकारी हुन् ।

 

रामबहादुर मान्नधरः २०५४ साल मंसिर २२ गते राष्ट्र बैंकमा जागिरमा प्रवेश गरेका मान्नधर ०७७ बैसाख १२ गते कार्यकारी निर्देशक भएका हुन् । उनले अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् । हाल उनी संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका प्रमुख छन् ।


पुष्प दुलाल