सीएसआर कोषको रकमले स्थापना होला त बैंकिङ अस्पताल ? यस्तो छ अवधारणा



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न काम गर्यौ भन्दै विवरण सार्वजनिक गर्ने गरेका हुन्छन् ।

कम्प्युटर वितरण गरेको, सरसफाई गरेको तथा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको जस्ता सामान्यभन्दा पनि सामान्य काम समेत सामाजिक उत्तरदायित्व अन्तर्गत उनीहरुले सार्वजनिक गर्ने विवरणमा समेटिएको हुन्छ ।

केहीले सार्वजनिक बगैचाको स्याहार गरेको तथा केहीले मन्दिर, पार्टीपौवा संरक्षण तथा पुनः निर्माण गरेको जानकारी पनि सोही कार्यक्रममा जोडेर आउँछ ।

नेपाल राष्ट्र बैंकले २०७३ माघ १२ गतेदेखि सामाजिक उत्तरदायित्व अन्तर्गत बैंक तथा वित्तीय संस्थाले खुद नाफाको १ प्रतिशत खर्च गर्नुपर्ने व्यवस्था गरेपछि धेरैले यसलाई पछ्याएका पनि छन् ।

बैंक तथा वित्तीय संस्थाहरू आफैंले कार्यविधि बनाएर खुद नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्छन् । कोषको रकमबाट सामाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा खर्च गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

फरक–फरक तरिकाले आफूखुसी खर्च गरिदै आएको त्यस्तो रकमलाई एकीकृत रुपममा लगानी गर्ने तयारी गरिएको छ । उनीहरुले एक अस्पताल निर्माण गर्ने योजना अगाडि सारेका छन् ।

हाल सञ्चालनमा रहेका निजामति अस्पताल, नेपाली सेनाको अस्पताल, नेपाल प्रहरीको प्रहरी अस्पताल जस्तै बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व कोषको रकमबाट बैंकिङ अस्पताल निर्माणको अवधारणा ल्याइएको हो ।

यसका लागि नेपाल बैंकर्स संघले राष्ट्र बैंक समक्ष प्रस्ताव गरेको छ । सो प्रस्तावमा आफूहरुले समेत सकारात्मक प्रतिक्रिया दिइएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

‘चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको छलफलका क्रममा बैंकर्स संघले प्रस्ताव गरेको थियो,’ उनले क्लिकमाण्डूसँग भने, ‘सो प्रस्तावलाई गभर्नरले सकारात्मक रुपमा लिने र अध्ययन गरी निर्णय गर्ने प्रतिक्रिया दिनुभएको छ । त्यसपछि थप छलफल भने भएको छैन ।’

राष्ट्र बैंकले समेत यसअघि नै समिति गठन गरी कोषको रकम व्यवस्थापन र प्रयोगका थप सम्भावनामा अध्ययन गरिरहेको र अध्ययन प्रतिवेदन आएपछि संघको प्रस्तावमा छलफल गरिने उनको भनाइ छ ।

हाल बैंक तथा वित्तीय संस्थासँग करिब १ अर्ब रुपैयाँ सीएसआर कोषमा मौज्दात छ । त्यसको कूल ५० प्रतिशत रकमबाट बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारी र उनका परिवारको उपचारका लागि अस्पताल निर्माण गर्ने योजना नेपाल बैंकर्स संघले तय गरेको हो ।

त्यसमा डेभलपमेन्ट बैंकर्स एसोसिएसन, वित्त कम्पनी बैंकर्स संघ र लघुवित्त वित्तीय संस्था बैंकर्स संघ समेत सहकार्य गर्न तयार छन् ।

कति छ बैंक तथा वित्तीय संस्थामा सीएसआरको पैसा ?

सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमा हालसम्म करिब ८० करोड रुपैयाँ कोषमा रहेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए ।

गत असार मसान्तसम्म बैंक तथा वित्त कम्पनीले कुल ५८ अर्ब ९२ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । जसको १ प्रतिशत रकम कोषमा जाँदा ५८ करोड ९२ लाख रुपैयाँ हुन्छ । त्यसमा वाणिज्य बैंकहरुले ५४ अर्ब ३५ करोड १० लाख रुपैयाँ नाफा गरेका थिए । जसको १ प्रतिशतले हुन आउने ५४ करोड ३५ लाख रुपैयाँ कोषमा छ । त्यसैगरी विकास बैंकले ३ अर्ब ८० करोड ४० लाख रुपैयाँ नाफाको १ प्रतिशत ३ करोड ८० लाख रुपैयाँ र वित्त कम्पनीके ७ करोड ७० लाख रुपैयाँ नाफाबाट १ प्रतिशत ७७ लाख रुपैयाँ कोषमा छ ।

साथै, चालु आवको पुस मसान्तसम्म बैंक तथा वित्त कम्पनीले कुल ३४ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा गरेका छन् । जसको १ प्रतिशत रकम कोषलाई छुट्याउँदा ३४ करोड ९४ लाख रुपैयाँ जम्मा भएको छ ।

त्यसमा वाणिज्य बैंकहरुको ३१ अर्ब ७ करोड ३० लाखको ३१ करोड ७ लाख रुपैयाँ, विकास बैंकहरुको ३ अर्ब ७ करोड २० लाखको ३ करोड ७ लाख रुपैयाँ र वित्त कम्पनीको ८० करोडको ८० लाख रुपैयाँ हो ।

उता, लघुवित्त वित्तीय संस्थाहरुसँग पनि कुल ८ करोड रुपैयाँ कोषमा रहेको लघुवित्त वित्तीय संस्था बैंकर्स संघका अध्यक्ष वसन्त लम्सालले जानकारी दिए । उक्त तथ्यांकका आधारमा हेर्दा हाल बैंक तथा वित्तीय संस्थाको सीएसआर कोषमा कुल ९३ करोड ९४ लाख रुपैयाँ जम्मा भएको देखिन्छ ।

सीएसआरको रकमले बैंकिङ अस्पतालको अवधारणा

सीएसआर कोषको रकम खर्च गर्न बैंक तथा वित्तीय संस्थाले आफ्नो सञ्चालक समितिबाट यससम्बन्धी कार्यविधि स्वीकृत गराएर सामाजिक उत्तरदायित्वका क्षेत्रमा खर्च गर्नुपर्ने प्रावधान छ ।

सोही प्रावधान अनुसार खर्च हुने कुल रकमको ५० प्रतिशत रकम प्रभावकारी हुने क्षेत्रमा खर्च गर्ने अवधारणा बनाइएको संघका अध्यक्ष भुवन दाहालको भनाइ छ ।

‘हाल बैंकहरुको यस्तो कोषमा रहेको पैसा धेरै ठाँउमा छरिएको छ । बैंकहरुले आ–आफ्नो हिसाबले खर्च गरिरहेका छन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘सोही रकमलाई प्रभावकारी काममा खर्च गर्न सकिन्छ भनेर स्वास्थ्यका क्षेत्रमा लगानी गर्ने योजना बनाइएको हो ।’

त्यसवाहेक कोषको रकम डिजिटल प्रविधि तथा डिजिटल भुक्तानीलाई प्रोत्साहनका लागि खर्च गर्ने योजनामा अध्ययन भइरहेको उनले जानकारी दिए ।

विशेष गरी नेपालीको स्वास्थ्य उपचारका लागि अन्य विभिन्न देश जानुपर्ने बाध्यता रहेकाले कोषको रकम स्वास्थ्य क्षेत्रमा खर्च गर्ने योजनालाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।

‘नेपालमा स्वास्थ्य उपचार राम्रो नभएर उपचारका लागि भारत, सिंगापुर, थाइल्याण्डलगायतका अन्य मुलुक जाने प्रचलन सामान्य भइसकेको छ,’ उनले थपे, ‘यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको सीएसआरमा भएको रकमलाई राम्रोसँग खर्च गर्न सक्दा उपचारकै लागि विदेश जानुपर्ने अवस्था नआउने वातावरण सिर्जना गर्न सकिन्छ भनेर योजना बनाइएको हो ।’

स्वास्थ्य क्षेत्रमा सीएसआर कोषको रकम खर्च गर्दा सञ्चालनमा आएका कुनै अस्पतालसँग सहकार्य गर्न वा आफ्नै छुट्टै हस्पिटल स्थापना गर्ने विषयमा भने कुनै निश्चित नभएको उनले बताए ।

‘राम्रो आधुनिक मेसिन खरिद गरी डाक्टरसँग सोही अनुसारको समन्वय गर्ने लगायतका विभिन्न योजना बनाइरहका छौं, उनले थपे, ‘यसमा संघले छुट्टै कमिटी बनाएर अध्ययन गरिरहेका छौ, त्यसको पूर्णप्रतिवेदन आएपछि सोही अनुसारको योजना सरोकारवाला निकायसँग छलफल तथा समन्वय गरेर अगाडि बढ्छौँ ।’

यहाँको स्वास्थ्य क्षेत्रमा कोषको रकमबाट खर्च गरी गुणस्तरीय स्वास्थ्यको विकास गर्ने योजनामा संघ रहको उनको भनाइ छ ।

कोषको रकम स्वास्थ्य क्षेत्रमा खर्च गर्दा पहिलो चरणमा ५० प्रतिशत र योजना सफल हुँदै गएमा क्रमिकरुपमा शतप्रतिशत नै रकम खर्च गर्ने योजना बनाइएको छ ।

कोषको रकमबाट बैंकिङ अस्पताल स्थापना गर्दा वा सञ्चालनमा रहेका कुनै अस्पतालमा समन्वय गर्दा बैंकिङ क्षेत्रको कर्मचारीलाई मात्रै नभई आम सर्वसाधारणले समेत सेवा उपभोग गर्न पाउँछन् । त्यसका लागि राष्ट्र बैंक तथा अन्य सरोकारवाला निकायसँग संघले समन्वय भइरहेको उनले जानकारी दिए ।

संघको बैंकिङ अस्पतालको अवधारणमा अन्य बैंकहरुको सहमति कति ?

सैनिक, प्रहरी, निजामति कर्मचारीको जस्तै बैंकिङ क्षेत्रका कर्मचारी र ग्राहकका लागि सहुलियत सेवा दिने अस्पताल सञ्चालन गर्न नेपाल बैंकर्स संघको अवधारणामा डेभलपमेन्ट बैंकर्स संघले समेत समन्वय तथा सहकार्य गर्ने जनाएको छ ।

डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष प्रधुम्न पोखरेलका अनुसार सो विषयमा छलफल भएको भए पनि निर्णय भने भएको छैन ।

‘विकास बैंकहरुबीचमा सामान्य छलफल भएको थियो तर, आधिकारक निर्णय भएको छैन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘तर यो सकारात्मक विषय हो, कर्मचारीका लागि विशेष अस्पताल भएमा कर्मचारी र सरोकारवालालाई राम्रो हुन्छ भन्ने मान्यता हामी राख्छौ । ’

‘वाणिज्य बैंकहरु, विकास बैंकहरुको मात्र नभएर सबै बैंक तथा वित्तीय संस्थाको त्यसमा आवद्धता हुनुपर्छ,’ उनले थपे, ‘सबैको सहभागिता भए रकमको परिमाण पनि धेरै हुन्छ र गुणस्तरीय स्वास्थ्य सम्बन्धी आवश्यकता पूरा गर्नका लागि खर्च गर्न सकिन्छ ।’

उता, वित्त कम्पनी एसोसिएसनले भने राष्ट्र बैंकले तोकेर नै सीएसआर कोषको रकम अस्पताल स्थापनामा खर्च गर्ने निर्देशन दिएमा मात्र आफूहरुले आबद्धता जनाउने संकेत गरेको छ ।

संघका अध्यक्ष सरोजकाजी तुलाधारले अस्पताल निर्माण गर्ने बैंकर्स संघको अवधारणा सकारात्मक भए पनि हालको परिस्थितिअनुसार त्यस्तो रकम अन्य क्षेत्रमा खर्च गरिनुपर्ने बताए ।

‘यसअघि पनि सरकारमार्फत् आएपछि राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले सीएरआरको पैसा कोरोना कोषमा जम्मा गरिएको थियो,’ उनले क्लिकमाण्डूसँग भने, ‘अहिले पनि कोरोना खोपका लागि सरकारको अर्बौ खर्च भइरहेको छ, अहिले अस्पताल निर्माण वा अन्य क्षेत्रमा खर्च गर्ने योजना बनाउनुभन्दा खोप आयातका लागि सरकारलाई सहयोग गर्ने योजना बनाउने आवश्यकता बढी रहन्छ ।’

बैंकर्स संघले बनाएको अवधारणमा राष्ट्र बैंकले स्वीकृति दिँदै सोही अनुसारको निर्देशन आएमा त्यसको कार्यान्यवन गर्न भने आफूहरु तयार नै भएको उनको भनाइ छ ।

त्यस्तै, लघुवित्त वित्तीय संस्था बैंकर्सका अध्यक्ष बसन्त लम्सालले बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी तथा सरोकारवालालाई मात्र नभई ऋणी तथा सस्यहरुलाई समेत सहयोग हुने गरी बैंकिङ अस्पताल स्थापना हुनुपर्ने बताए ।

बैंकर्स संघको अवधारणमा समर्थन गर्दै उनले लघुवित्त वित्तीय संस्थामा कर्मचारीभन्दा धेरै सदस्य भएको उनीहरुलाई समेत समेट्ने गरी सीएसआर कोषको रकमबाट अस्पताल स्थापना हुनुपर्ने उनको भनाइ छ ।


क्लिकमान्डु