सगरमाथासँग साक्षात्कार गरेको त्यो क्षण…



काठमाडौं । ६ वर्षअघि मलेसिया भ्रमणका बेला क्वालालम्पुरस्थित एउटा सपिङ मलमा किनमेलका क्रममा त्यहाँका कर्मचारीले सोधेका थिए – ह्वेयर आर यू फ्रम सर ?

मैले जवाफ दिए- फ्रम नेपाल ।

मेरो प्रश्न भूइँमा खस्न नपाउँदै उनी बोल्न थालिहाले ‘मैले त इण्डियन भन्ने सोचेको थिएँ । ओहो नेपाल कति राम्रो छ है । सरहरु त चिया पिउँदा पनि, खाना खाँदा पनि, साँझ सुत्ने बेलामा पनि माउन्ट एभरेष्ट हेर्दै सुत्नुहुन्छ होला है ।’

उनको कुरा सुनेर म हाँसे मात्रै । किनभने वास्तविकता उनले सोचेजस्तो थिएन ।

उनी त्यतिमै थामिएनन् ।

फेरि सोधिहाले- सर कतिपटक सगरमाथा पुग्नुभयो, त्यहाँ पुग्दा कस्तो अनुभूति हुन्छ ?’

‘अमेजिङ,’ शेरबहादुर देउवाको शैलीमा जवाफ दिएँ ।

उनी मसँग सगरमाथाको अनुभव बाँड्न आग्रह गरिरहेका थिए । तर, म सगरमाथा गएको छैन भनेर लाजले उनलाई भन्न सकिरहेको थिइँन ।

‘आर यू मलेसियन,’ मैले सोधेँ ।

‘नो सर आइ एम फ्रम फिलिफिन्स फर जब’ उनले जवाफ दिए ।

मैले सर्ट, पाइन्ट र टिसर्ट किनेँ । बिल तिरेँ । सपिङ मलबाट बाहिरिएँ । र, आत्माग्लानिको भनुभूति गरेँ ।

आफ्नै देशको सगरमाथाबारे विदेशीलाई बताउन नसक्दा । किनभने मैले पनि फोटो र भिडियोमा मात्रै सगरमाथा देखेको थिएँ ।

त्यसो त २०६१ सालतिर क्याम्पस पढ्न काठमाडौं आउँदा पश्चिमतिरका साथीहरुले पूर्वेली भनेपछि सगरमाथाका बारेमा जिज्ञासाहरु राख्थे । उनीहरुलाई त सहजै टाढा छ भनेर जवाफ दिन सकेको थिएँ ।

तर मलेसियामा भेटिएका ती फिलिफिनेलाई भने जवाफ दिन नसकेर वाक्क न वक्क भएको तीतो यथार्थले मेरो मन हुँडलिरहेको थियो ।

मनमा थियो- ‘सगरमाथाको आरोहण गर्न त गाह्रो छ, कुनै दिन वेस क्याम्प पुगेर भएपनि सगरमाथालाई नियाल्ने छु ।’

तर, कहाँ सजिलो छ र ? बेसक्याम्पसम्म पुग्न पनि ।

काठमाडौंको खाल्डोभित्र छिरेपछि कहिलेकाहीँ आफ्नै बारेमा सोच्ने त फुर्सद हुँदैन । किनभने हामी अनलाइन मिडियामा काम गर्ने पत्रकार ।

बिहान ९ बजे घरबबाट हिँडेर राति ९ बजे घरपुग्नु त आदत नै भइसकेको थियो । त्यति गरेर कमाएको पैसाले दैनिक हातमुख जोड्दै ठीक्क । न समय, न पैसा अनि कसरी जानू सगरमाथा ?

५ वर्षअघि अनलाइनखबर छोडेर जब क्लिकमाण्डू डटकमको संस्थापक बनेँ । त्यसपछि त झनै बेफुर्सदिलो ।

१८ घन्टासम्म कार्यालयका लागि काम गरियो । जागिर खाएको भन्दा वित्तीय अवस्था केही बलियो हुँदै गएपनि समयको अभाव ।

यतिसक्म कि श्रीमतिजीको समेत जागिर भएका कारण १० महिनाको नावालक छोरालाई उसको मामाघर पठाउनुपर्ने बाध्यतामा बाँचिरहेको म ।

लकडाउनकै बेला सहकर्मी साथी कमलकुमार बस्नेत र मैले सल्लाह गरेका थियौं- अर्को दशैंतिर चाहीँ लुक्ला हुँदै सगरमाथातर्फको उकालोमा जहाँसम्म पुग्न सकिन्छ त्यहाँसम्म पुग्ने ।

तर, ६ वर्षअघिदेखिको त्यो सपना फागुन ५ गते पूरा भयो ।

आइडिया स्टुडियोको सहकार्यमा प्रभु बैंकले लुक्लाभन्दा माथि फाक्लिङमा कोरोनाले बेरोजगार बनाएका टुरिस्ट गाइडलाई बिनाधितो सहुलियतपूर्ण कर्जा दिने कार्यक्रम रहेछ ।

कार्यक्रमका लागि आइडिया स्टुडियोका संस्थापक डा. छिरिङ शेर्पा र प्रभु बैंकका सीइओ अशोक शेरचन हेलिकोप्टरबाट फाक्लिङ जाने कार्यक्रम रहेछ ।

६ सिटे हेलिकोप्टरमा एकजना पाइलट २ जना आयोजक । बाँकी ३ सिट खाली भएपछि उहाँहरुले बिजमाण्डूका सुदर्शन सापकोटा, क्यापिटलका प्रकटकुमार र मलाई सम्झिनु भयो ।

उहाँहरुको प्रस्ताव हामीले स्वीकार गर्यौं । डा. छिरिङ सर पहिले टुरिस्ट गाइडकै काम गर्नुहुँदो रहेछ । टुरिस्ट घुमाउनु धेरैपटक कालापथ्थरसम्म पुग्नु भएको पनि रहेछ ।

तर, आयोजकमध्येका एक अशोक शेरचन दाई यसअघि लुक्लासम्म पनि पुग्नु भएको रहेनछ । उहाँले नै कालापथ्थरसम्म पुग्ने योजना बनाउनुभएको थियो ।

हामी तीनैजना पत्रकार लुक्लासम्म पनि पुगेका थिएनौं । अझ कालापथ्थर पुग्ने कुराले त हाामीलाई धेरै नै उत्साहित बनाएको थियो ।

५ गते बिहान साढे ७ बजे एयरपोर्ट पुगियो । साढे ८ बजे प्रभु हेलिकोप्टर हामीलाई बोकेर कालापथ्थरतिर उड्यो ।

हामी उत्साहित हुँदै क्यामेरामा दृश्यहरु कैद गर्नमै व्यस्त रह्यौं । मित्र प्रकटकुमार आकाशबाटै फेसबुक लाइभ गरिरहेका थिए ।

क्याप्टेन नोर्भु छिरिङ शेर्पाले हामीलाई तल देखिएका गाउँहरु चिनाउँथे । अनि माथि देखिएका हिमालहरु । त्यो महालंगुर, त्यो लोत्से, त्यो फलानो… यस्तै यस्तै ।

४० मिनेटको उडाइपछि हामी फाक्लिङ पुग्यौं । त्यहाँ हेलिकोप्टरबाट जर्किनमा डिजेल निकालियो । र, कालापथ्थरतिर उड्यो- दुधकोशीको खोँचैखोँच ।

हिउँ पग्लिएपछिका काला चट्टानमा ठोक्काउँला झैं गरी घरीघरी क्याप्टेनसाबले हेलिकोप्टर स्वीङ गराउँदा हामी खुसीले उफ्रिन्थ्यौं ।

एकैसाथ ५ जना यात्रु बोकेर कालापथ्थरसम्म पुग्दो रहेनछ हेलिकप्टर । समुद्री सतहबाट साढे ४४ सय मिटर उचाइमा रहेको फ्लोरिचे भ्यालीमा हामी ३ जना पत्रकारलाई उतारेर आयोजक टोली कालापथ्थरका लागि उड्यो ।

फ्लोरिचे भ्याली साँच्चै मनमोह रहेछ । वरिपरि अग्ला सेता हिमाल । बीचमा सानो उपत्यका । र, केही होटेलहरु । हिउँ पगाल्दै बगेको सानो खोल्सा । क्याप्टेनले हेलिप्याडभन्दा धेरै टाढा नजान र पानी नछुन भनेकाले हामी १०० मिटरभन्दा टाढा गएनौं ।

हिमालको चिसोले नराम्रोसँग हान्यो । मलाई लहरे खोकी लाग्यो । आँखाबाट आँशु आयो । जिउ थरथर काँप्यो । तै पनि फोटो र भिडियो खिच्न भने छाडिएन ।

प्रकटकुमारले झोलाबाट निकालेर लसुन र टिमुर दिए । त्यो खाएँ । अनि २/३ मिनेटजति माक्स लगाएर उभिएँ । हल्का रिलिफ भएको अनुभूति भयो ।

फेरि फोटो र भिडियो खिच्नमा सक्रिय भएँ । दुबै जना साथीहरु आ-आफ्नै तालमा फोटो र भिडियो खिचिरहेका थिए । हामी हिउँसँग खेल्यौं । हिउँमा बस्यौं । हिउँमा सुत्यौं । हिउँलाई फुटाएर अञ्जुलीमा राख्ने प्रयत्न गर्यौं ।

क्यामरै समाउन नसकिने गरी हात चिसोले कक्रक्क भयो । यसो ३०/४० सेकेन्डजति ज्याकेटको गोजीमा हात हाल्यो फेरि निकालेर फोटो खिच्न थालिहाल्यो ।

रमाइलो रमाइलोमै आधाघन्टा बितेको पत्तै भएन । पहिलो टोलीलाई लिएर हेलिकोप्टर फर्कियो । हामी चढ्यौं । हेलिकप्टर टेक अफ गर्ने वित्तिकै क्याप्टेनले स्वीङ गराए । हिमालमै लगेर ठोक्काउँला झैं गरेर फर्काए । रमाइलोको मात लागेर होला हामी डराएनौं ।

क्याप्टेनले स्वीङ गराउँदै गीत गाउँदै हिमाल, ताल, उपत्यका, बस्ती, र गुम्बाहरुको परिचय गराउँदै ८/९ मिनेटपछि समुद्री सतहबाट साढे ५६ सय मिटरको उचाइ भएको कालापथ्थरमा अवतरण गराए ।

यतिबेला बिहानको सवा १० बजेको थियो ।

‘यहाँको अल्टिच्यूटसँग डराउनुपर्छ तर आत्तिनु हुँदैन, बिस्तारै मज्जा लिनुहोस्, गाह्रो भयो भने हेलिकोप्टरभित्र छिरिहाल्नुहोस्,’ क्याप्टेनले भने, ‘अल्टिच्यूट लाग्यो भने तपाईंले एब्नर्मल व्यवहार देखाउन थाल्नुहुन्छ, ढल्ने सम्भावना पनि हुन्छ । बिस्तारै श्वास फेरेर आनन्द लिनुहोस् ।’

कालापथ्थर त्यो ठाउँ हो जहाँ २०६६ सालतिर तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषदको बैठक बसेर कीर्तिमान कायम गरेको थियो । त्यो मन्त्रिपरिषदको बैठक विश्व चर्चित थियो ।

हामी त्यस्तो पवित्र ठाउँमा उभिन पाएका थियौं । कालापथ्थरमा उभिँदा जता पनि हिमालै हिमाल देखिने । अलिक पर सगरमाथा ठिङ्ग उभिएको थियो । त्यतिधेरै हिउँ थिएन । तर, छेउमै सगरमाथाभन्दा भीमकाय देखिने हिमालहरु थिए ।
‘सगरमाथाभन्दा अरु हिमालहरु पो अग्ला छन् त हजुर,’ मैले क्याप्टेनलाई सोधेँ ।

‘देख्दा त्यस्तै देखिन्छ तर समुद्री सतहबाट नाप्दा सगरमाथै अग्लो छ रे,’ क्याप्टेनले जवाफ दिए ।

हेलिकोप्टरको पंखा घुमिरहेको थियो । हिमालको चिसो सिरेटोले हानिरहेको थियो । तर हाम्रो छाती गर्वको राँकोले जलिरहेको थियो ।

मैले सगरमाथासँग साक्षात्कार गरेँ । आइ लभ यू माउन्ट एभरेष्ट भने । हिमालहरुलाई भगवानको प्रतिक मान्ने हाम्रो परम्परा र संस्कृति अनुसार मनैदेखि नमस्कार गरेँ ।

फेरि फोटो र भिडियो खिच्न थाल्यौं । क्यामेरा निकालेर क्याप्टेनले सामूहिक र सिंगल सिंगल फोटो खिचिदिए ।

त्यसपछि वरिपरिको हिमालय रेञ्ज कैद गर्दै केही तस्बिर लियौं ।

बियरका पारखी मेरा मित्रहरु भन्दै थिए एउटा बियर हातमा लिएर फोटो खिच्न पाए कति रमाइलो हुन्थ्यो ।

हामी खुसीले करायौं । उफ्रियौं । चिच्यायौं । जय नेपाल भन्यौं ।

मित्र प्रकटकुमारले मलाई एउटा काम लगाए । मोबाइल झिकेर फोटो र भिडियो खिचिदिन आग्रह गरे । केही सट फोटा खिचेपछि भिडियो शुरु गरेँ । उनी नाचे । हाँसे । पोज दिए । हिमालहरुको परिचय गराउँदै आफ्नो अनुभूति व्यक्त गर्न थाले । डेढ मिनेट भएछ ।

त्यसपछि मैले मेरो मोबाइलबाट भिडियो खिचिदिन भने । उनले मेरो मोबाइल पनि समाए । तर ५/१० सेकेन्डको भिडियो खिच्ने बित्तिकै उनको हातले काम गरेन । औंलाहरु चलेनन् ।

हामी थाहै नपाइ एब्नर्मल हुन थालिसकेका रहेछौं । क्याप्टेनले हामीलाई बोलाए । सुदर्शन हेलिकोप्टरमा गएर बसिसकेको थियो । प्रकट पनि दौडिँदै गयो । मलाई भने भिडियो खिच्ने रहर पूरा भएको थिएन । २/४ सट के लिएको थिएँ । क्याप्टेनले छेउमै आएर अब भयो सर । ढल्नुहोला भनेर भने । त्यसपछि म पनि गएर सिटमा बसेँ ।

हेलिकोप्टर उँड्यो । हामी चिच्याउँदै गित गाउन थाल्यौं,- कान्छीको केश फिँजारिएछ,… सोह्र वर्षे जवानीमा मै पनि झिल्के हुँदो हो…, आएन चाइनाको रेल…यस्तै यस्तै ।

मित्र सुदर्शन योभन्दा माथि त सायद अब कहिल्यै पुगिँदैन होला भन्दै थिए । मैले जोक गरेँ,- मरेपछि योभन्दा माथि पुगिन्छ । सबै हाँस्यौं ।

फेरि हेलिकोप्टरको स्वीङ । फेरि रमाइलो । थाहै नपाई फ्लोरिचे भ्याली आइपुगेछ । तलबाट अशोक दाई हात हल्लाउन थाल्नुभयो । हामी खुसीले उफ्रिइरहेका थियौं ।

मित्र सुदर्शनलाई असाध्यै भोग लागेको रहेछ । उँडिरहेको हेलिकोप्टरभित्र २/३ पटक क्याप्टेनलाई बिस्कुट छैन भनेर सोधिरहेको थियो । त्यहाँ झर्ने बित्तिकै अशोक दाईलाई त्यही प्रश्न गर्यो ।

त्यहाँबाट पाँचै जनालाई लिएर हेलिकोप्टर फाक्लिङतिर उड्यो । फाक्लिङमा झरेपछि भोटे चियाको साथ न्यानो स्वागत पाइयो । चिसो भएको जिउलाई चिया र बिस्कुटले ततायो । भोकलाई राहत दियो ।

फाक्लिङमा प्रभु बैंकले कोरोनाका कारण बेरोजगार भएका टुरिस्ट गाइडलाई सहुलियत ऋणको प्रमाणपत्र दिने कार्यक्रम थियो । करिब ४५ मिनेटमा कार्यक्रम सकियो ।

कसैले ऋण नपत्याएको अवस्थामा प्रभु बैंक घरमै आएर सस्तो ब्याजदरमै ऋण दिएको भन्दै टुरिस्ट गाइडहरु खुसीले गदगद देखिन्थे ।

ऋण दिन पाएकोमा प्रभु बैंकका सीइओ अशोक शेरचन र यस्तो व्यवस्था मिलाउन पाएको आइडिया स्टुडियोका संस्थापक डा. छिरिङ पनि गदगद् थिए । यस्तो राम्रो कामको साक्षी बन्न पाएकोमा हामी पत्रकारहरु पनि गदगद थियौं ।

कार्यक्रम सकेर १२ बजेतिर खाना खायौं । लोकल खसीको झोल, लोकल दाल, साग, मुला र लसुनको अचार अनि बयममा हालेर बनाइएको अकबारे खुर्सानीको अचार ।

स्वादको वर्णन गरिसाध्ये छैन । मीठो खाना खान पाएकोमा हामी खुसी थियौं । तर, होटेलकी सञ्चालक भनिरहेकी थिइन् धेरै तयारी गर्न पाइएन खाना मीठो भएन होला है सर ।

पहिले पहिले पर्यटकको घुइँचो हुने गरेको तर कोरनोपछि पर्यटकको मुखसमेत देख्न हम्मेहम्मे परेको दुखेसो पोख्दै सोधिन् ‘यो अवस्था अझै कतिसम्म रहला ?’

बिस्तारै सुधार हुन्छ । हामीले जवाफ दियौैं ।

खाना खाइसकेपछि विदा माग्यौं । शेर्पाहरुले हात जोडेर नमस्कार/टासिदेले भन्दै विदाइ गरे ।

हेलिप्याडतिर अघि बढ्यौं । अगाडिको सिट मित्र सुदर्शनले कब्जा गरे । ग्रुप फोटो खिच्न ओर्लिनुस् भन्ने आग्रहसमेत मानेनन् ।

‘ओलीजी जस्तै हुनुहुँदो रहेछ, सिट पाएपछि छाड्दै नछाड्ने,’ क्याप्टेनले व्यंग्य गरे ।

हामी काठमाडौंतर्फ उड्यौं । मोबाइलमा खिचेका फोटा र भिडियोहरु हेर्नमै व्यस्त भयौं । फर्किँदाखेरी ती हिमाल, पहाड, जंगल, गाउँ र गुम्बाहरु परिचित भइसकेका थिए ।

कालापथ्थरको फोटो आफ्नो फेसबुक वालमा पोस्ट गरेको थिएँ । मेरा मामा कालिदास ढकालले कमेन्टमा लेख्नुभएछ,- कालापथ्थर पुग्ने हाम्रो परिवारको पहिलो सदस्य भएकोमा बधाई ।

र, अब कुनैदिन विदेश जाँदा ६ वर्षअघि मलेसिया बसोबास गर्दै आएको फिलिफिनेले सोधेको प्रश्नको थोरबहुत भए पनि जवाफ दिन सक्छु । सगरमाथासँग साक्षत्कार गरेको सानो अनुभूति बाँड्न सक्छु ।  

 


पुष्प दुलाल