सदस्यको हितमा कल्याणकारी कोष र फेकन एप बनाउनेछाैं



स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)को १०औं वार्षिक साधारणसभा फागुन ८ गते राजधानीमा आयोजना हुँदैछ । सभाले नयाँ कार्यसमिति समेत चयन गर्नेछ । यसका लागि दुई वटा प्यानल बनाएर निर्वाचनमा होमिएको अवस्था छ । अध्यक्षका उम्मेदवार बासु नेपालको प्यानलमा सचिव पदमा पृथ्वीबहादुर चन्द उम्मेदवार छन् । सचिवका रुपमा उनका एजेन्डा, कोरोना महामारीले पारेको असरका विषयमा क्लिकमाण्डू डट कमले गरेको कुराकानीको अंश

फेकनको वार्षिक साधारणसभाको तयारी कस्तो हुँदैछ ?
स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)को १०औं वार्षिक साधारणसभाको तयारी अहिले जोडतोडका साथ चलिरहेको छ । हामी अन्तिम तयारीमा छौं । यसपटकको वार्षिक साधारणसभा भव्य र सभ्य बनाउका लागि हामी तयारीका साथ जुटेका छौं । विगतको तुलनामा यसपटकको साधारणसभा निकै भव्य हुनेमा हामी ढुक्क छौं । यस वार्षिक साधारणसभाले नयाँ कार्यसमिति पनि चयन गर्दैछ । त्यसका लागि पनि हामी सबै लागीपरेका छौं ।

कोरोना महामारीका कारण वार्षिक साधारणसभाको कार्यतालिका पनि परिवर्तन भयो । यसले शैक्षिक परामर्श क्षेत्रमा पनि ठूलो असर गर्यो । अहिले अवस्था कस्तो छ ?
पक्कै पनि गत वर्ष नै हुने तय भएको फेकनको वार्षिक साधारणसभा एक वर्ष नै पछाडि धकेलियो । यो महामारीका कारण उत्पन्न संकट थियो । महामारीले यस शैक्षिक परामर्श क्षेत्रमा पनि ठूलो असर गर्यो । कार्यालयहरु सञ्चालन गर्न पाएनौं भने विद्यार्थी तथा उनीहरुका अभिभावकले पनि ठूलो असर भोग्नु पर्यो । भिसा लागेका विद्यार्थीहरु विदेश जान पाएनन भने विदेश पढ्न गएका विद्यार्थीहरुले पनि समस्या भोग्नु पर्ने अवस्था आयो । तर अहिले यो क्षेत्र बिस्तारै सहजतातर्फ उन्मुख भएको छ । यद्यपि अझै पनि कैयन समस्या समाधान हुन बाँकी नै छन् । तर हामी यो माहामारीको संकटबाट निस्किएर अगाडि बढ्ने छौं भन्नेमा आशावादी छौं ।

कोरोना महामारीबाट प्रभावित क्षेत्रहरुमध्ये शैक्षिक परामर्श क्षेत्र अति प्रभावित क्षेत्रको सूचिमा छ । यी क्षेत्रका लागि नेपाल राष्ट्र बैंकले पुनरकर्जाको पनि व्यवस्था गरेको थियो । यसबाट के कस्तो लाभ भयो ?
नेपाल राष्ट्र बैंकले अति प्रभावित क्षेत्रको सूचिमा राख्यो । त्यो जायज पनि थियो । तर त्यसपछि राष्ट्र बैंकले यस्ता क्षेत्रका लागि पुरनकर्जाको व्यवस्था गरेको थियो । तर राज्यले उपलब्ध गराएको उक्त सुविधा साना तथा मझौला व्यवसायीहरुको हितमा नभएको हामीले पायौं । जे जति सुविधा उपयोग भइसकेको छ त्यो ठूलो व्यवसायीहरुले मात्रै पाएको अवस्था छ । हामी जस्ता साना तथा मझौला व्यवसायीका लागि त्यसमा निर्धारण गरिएका मापदण्डका कारण उपयोग गर्न पाएनौं । अब राज्यले प्रमाणपत्रका आधारमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्छ भन्ने हाम्रो माग छ ।

तपाईं अहिले फेकनको सचिव पदको उम्मेदवार पनि हुनुहुन्छ ? उम्मेदवारका रुपमा तपाईंका एजेन्डा के–कस्ता छन् ?
सबैभन्दा पहिले त सचिवका रुपमा निर्वाचित भइसकेपछि गर्ने मुख्य काम अध्यक्षले लिएका नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा जोड दिनु नै हो । त्यसबाहेक पनि सचिवका रुपमा मैले संस्थामा आबद्ध सदस्यहरुमा प्रभाविकारी सञ्चार गराउनु पर्छ । त्यसका लागि वेवसाइट, फेसबुक पेजका माध्यमबाट छिटो र छरितो गरी प्रभावकारी सञ्चार गराउनु हुनेछ । त्यसबाहेक ६ महिनाभित्र फेकन एप निर्माण गरी सञ्चार प्रभावका लागि काम गर्नेछु ।

त्यसबाहेक संस्थाको व्यवसायिक हितका लागि र क्षमता अभिवृद्धिका लागि कस्ता योजना बनाउनु भएको छ ?
कोरोना महामारीका करण व्यवसायिकरुपमा पनि संस्थाका सदस्यहरुको उर्जामा ह्रास आएको अवस्था छ । त्यसैले सबै उर्जाशिल सदस्यहरुको समन्वयमा सबै पक्षको सहकार्यमा उहाँहरुलाई उत्प्रेरित गर्नुका साथै लिडरसिप तालिमको समेत व्यवस्था गर्ने योजना छ । त्यसका साथै अब प्रत्येक वर्ष फेकन शैक्षिक मेला पनि सञ्चालन गर्ने योजना हामीले बनाएका छौं । ताकी सबै व्यवसायिक संस्था तथा विद्यार्थीहरुले त्यसबाट लाभ लिन सकून भन्ने हाम्रो चाहना हो । मेलामा हाम्रो व्यवस्थासँग प्रत्यक्ष सरोकार राख्ने नियामक, कुटनीतिक नियोग, विश्वविद्यालय तथा कलेजहरुको सहभागितालाई जोड दिइनेछ । साथै फेकनको गरिमा र ब्राण्ड भ्यालूलाई विद्यार्थी र अभिभावकसामू अझ विश्वासिलो बनाउनु पनि चुनौती छ । संस्थालाई व्यवस्थित बनाउनका लागि अनुशासन समिति पनि बनाउने छौं । त्यसबाहेक फेकन संस्था र प्रत्येक सदस्यको व्यक्तिगत बीमा गरिनेछ । यसका लागि कुनै पनि शुल्क लिइने छैन । फेकनमा कल्याणकारी कोष स्थापना गरी अप्ठ्यारोमा परेका व्यवसायीलाई सहयोग गर्ने कार्यक्रम पनि ल्याइनेछ ।

फेकनको पहिचान स्थापित गर्न र यसको गरिमा उँचो बनाउनका लागि कस्तो योजा छन् ?
हाम्रो संस्था २०६५ साल मंसिर २९ गते स्थापना भएको हो । अब प्रत्यके वर्षको मंसिर २९ गते फेकन डे मनाउने छौं । त्यसबाहेक नेपालबाट सबैभन्दा पहिले अब्रोड स्टडीका लागि सन् १९०२ जुन १७ मा केही नेपालीहरु जापान गएका रहेछन् । उक्त दिनलाई अन्तर्राष्ट्रिय नेपाली विद्यार्थी दिवस र जापानबाट पहिलो पटक नेपाल आएका जापानीज नागरिक ईकाई कावागुचीको सम्झनामा २५ जना नेपाली विद्यार्थीलाई जापानमा छात्रवृत्तिका लागि पहल गर्नेछौं ।


क्लिकमान्डु