भ्यालेन्टाइनमा पनि विदेशी गुलाफमै भर, माग बढी हुँदा मूल्यवृद्धि



काठमाडौं । भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस । सबैभन्दा बढी माग हुने वस्तु हो गुलाफको फूल । प्रेमको प्रतिक मानिने गुलाफ फूल भ्यालेन्टाइनमा मात्रै नभएर अन्य समारोहमा पनि उत्तिकै प्रयोग हुने गर्दछ ।
प्रणय दिवसमा भने रातो गुलाफको फूलको बिशेषता रहने गरेको छ ।

यो फूल विश्वकै प्रसिद्ध फूल हो । गुलाफको फूल धेरै रङका हुन्छन् । गुलाफको हरेक रङको आ–आफ्नै अर्थ हुन्छ ।

रातो रङको गुलाफको फूल प्रेम दिवसमा आफ्नो प्रेमीप्रेमिकालाई गुलाफ दिएर प्रेम व्यक्त गर्ने प्रचलन रहँदै आएको छ । यसलाई शुभ संकेतका रुपमा समेत लिइन्छ ।

सोही अनुसार नेपालमा पनि प्रणय दिवसको एक साताको अवधिलाई मध्यनजर गर्दै व्यापारीले गुलाफको फूल आयात गर्ने गरेका छन् । गुलाफ फूल उत्पादनकालागि अनुकुल मौसम भने गर्मी नै हो । चिसो मौसममा उत्पादन कम हुने गर्दछ ।

यस्तै फेब्रुअरी महिनामा पर्ने प्रेम दिवसको अवसरमा नेपालमा प्रतिकूल मौसम अर्थात जाडो सिजन हुने भएकोले आन्तरिक उत्पादनले माग धान्न सक्दैन ।

नेपाल फ्लोरिकल्चर एशोसिएसनका अनुसार आन्तरिक उत्पादनले मात्रै माग धान्न सक्देन, त्यसकारण आयात गर्नुपर्ने बाध्यता छ ।

गुलाफको फूल उत्पादनको प्रतिकूल मौसम नभएको हुनाले भ्यालेन्टाइनलाई लक्षित गरी वर्षेनी मोटो रकम खर्चिएर भित्र्याउनुपर्ने बाध्यता रहेको एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठको भनाइ छ ।

‘जाडो मौसममा भ्यालेन्टाइन हुने गर्दछ । तर, नेपालमा यस समयमा गुलाफ उत्पादनको बिश्राम गर्ने समय हुन्छ,’ उनले क्लिकमान्डूसँग भने, ‘नेपालमा पनि उत्पादन गरी बजार धान्न सक्ने क्षमता छ । तर, प्रतिकूल मौसम नहुँदा भ्यालेन्टाइनको लागि बाहिरबाट आयात गर्नुपर्छ ।’

साथै, चिसो मौसमको समयावधिमा विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेता पनि चैतबाट भने आन्तरिक बजारको उत्पादनले नै बजार धान्ने उनको भनाइ छ । यससँगै नेपालले भारततर्फ निर्यात पनि गर्ने गरेको उनले बताए ।

गत वर्ष नेपालले बजारको माग अनुसार २ लाख गुलाफको फुल आयात गरी बजारमा आपूर्ति गरिएको थियो । त्यसैगरी यो वर्ष पनि बजारको माग अनुसार गुलाफको फूल आयात भएको थियो । जसमा यो वर्ष १ लाख २० हजार मात्रै माग आएको एशोसिएसनले जनाएको थियो ।

तर, फेब्रअरी १४ (हिजो) मा गुलाफको फुलको मागभन्दा बढी व्यापार भएको अध्यक्ष कसजु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यो वर्ष कोभिडले गर्दा भ्यालेन्टाइनमा माग कम आउने अनुमान गरेको थियो । तर, आइतबार बजार निरिक्षण गर्दा सोचेभन्दा बढी उत्साहजनक व्यापार भएको बताए ।

‘एशोसिएसनले बजार हेरेर १ लाख २० हजार गुलाफको फूल आयात गरेको थियो । तर, उत्साहजनक व्यापार भएको छ,’ उनले भने, ‘ यो वर्षको भ्यालेनटाइनमा करिब डेढ लाखभन्दा बढी गुलाफको फूल बिक्री भएको अनुमान गरेका छौं ।’

साथै, आयातभन्दा बढी माग बढी भएता पनि आपूर्ति गर्न सफल भएका छन् । यसले गर्दा अन्य गैर बाटो भएर पनि व्यापारीले गुलाफको फूल आयात गरेको पाइएको उनले बताए ।

यस्तै, पछिल्लो समय युवायुवतीले मात्रै नभएर वैवाहिक बन्धनमा बाँधिएकाले पनि विशेष प्रणय दिवसमा गुलाफको फुल दिने प्रवृत्तिले मागभन्दा बढी बिक्री भएको उनले बताए ।

माग बढ्दा मूल्यवृद्धि

एशोसिएसनले भ्यालेन्टाइन डेको लागि माग गरेको गुलाफको फूलमा न्यूनतम ६० देखि अधिकतम १०० रुपैयाँ मूल्य तोकेको थियो । जसमा गुलाफको गुणस्तर अनुसार उपलब्ध भएको थियो । तर, अनुमान गरेभन्दा बजारमा गुलाफको फूल माग बढी आएपछि मूल्यमा भने वृद्धि भएको श्रेष्ठले बताए ।

‘कुनै पनि वस्तु तथा सेवामा माग बढी भएमा जुनसुकै सामानको मूल्य वृद्धि हुने गर्दछ । त्यही अनुसार भ्यालेन्टाइनमा पनि माग बढी आपूर्ति कम हुँदा १०० देखि १५० रुपैयाँसम्म व्यापारीले बिक्री गरेका थिए,’ उनले भने ।

बजारमा भ्यालेनटाइनको उपलक्ष्यमै अत्याधिक माग बढेकाले यस क्षेत्रमा आबद्ध भएका पुष्प व्यवसायीलाई उत्पादन गर्न हौसला मिलेको उनको बुझाई छ ।

हरेक वर्ष विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । तर, आगामी दिनमा आन्तरिक बजारमै उत्पादन गर्ने र कसरी बजारको माग धान्न सकिन्छ भन्ने चुनौती थपिएको उनले बताए ।

६० लाख बढी रकम बाहिरियो
भ्यालेन्टाइन डे लक्षित गुलाफ फूल आयात गर्दा करिब ६० लाखभन्दा बढी रकम नेपाल बाहिरिएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार बजारको माग अनुसार २० प्रतिशत आन्तरिक बजारबाट र बाँकी ८० प्रतिशत बाहिरबाट आयात गरेकोमा विदेशबाट आयात भएकोमा ६० लाख बढी खर्चिनु परेको छ ।

गत वर्ष करिब २ लाखको हाराहारीमा माग आउँदा करिब १ करोडभन्दा बढी राज्यबाट बाहिरिएको थियो ।

‘यो वर्ष कोरोनाले गर्दा बजारमा रौनक नहुने अनुमानका साथ करिब ६० लाख रुपैयाँ बराबरको गुलाफको फूल आयात गरेका थिए । तर, उत्साहजनक व्यापार भएकाले थप जिम्मेवार बनाएको छ,’ उनले भने ।

हरेक वर्ष गुलाफ आयात हुँदा न्यूनतम प्रति वटा ४० देखि ५० रुपैयाँमा खरिद गरेर ल्याउनुपर्ने हुन्छ । सोही फूल नेपालमा करिब गुणस्तरको आधारमा ६० देखि १०० रुपैयाँसम्म बिक्री हुने श्रेष्ठको भनाइ छ ।

तर, उक्त फूल आयात गर्दा निकै जोखिमका साथ आयात गर्नुपर्ने उनको अनुभव छ । विदेशबाट गुलाफको फूल आयात गर्दा धेरै क्षति हुने गर्दछ । यससँगै बजारमा जति फूल आयात गर्छन् त्यति सबै फूल बिक्री हुन्छन् भन्ने विश्वस्त नहुने भएकाले गुलाफको फूल आयातमा धेरै खर्च, नाफा कम हुने उनको भनाइ छ । त्यसैले, एशोसिएसनले १०० रुपैयाँसम्म मूल्य तोक्ने गरेको उनले दावी गरे ।

त्यसैगरी, हरेक वर्ष भ्यालेन्टाइन लागि माग अनुसार आपूर्ति गर्नको लागि छिमेकी देश भारतबाट आयात गर्दै आएको उनले बताए ।


क्लिकमान्डु