फेकनको पहिचान फरक छ, यही विषय बुझ्ने नेतृत्व चाहिन्छः अध्यक्ष युवराज कट्वाल



स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)ले फागुन ८ गते १०औं वार्षिक साधारणसभा सम्पन्न गर्दैछ । साधारणसभाले नयाँ कार्यसमिति चयन गर्दैछ । ६ वर्षदेखि फेकनको नेतृत्व गरेका युवराज कट्वालले नेतृत्व हस्तान्तरण गर्दैछन् । लामो समयसम्म फेकनको नेतृत्व गर्दा के कस्ता उपलब्धी हासिल भए र भावी नेतृत्व कस्तो हुने भन्ने विषयमा क्लिकमाण्डू डटकमले कट्वालसँग गरेको कुराकानीको अंश
लामो समय फेकनको नेतृत्व गर्नुभयो, तपाईंको कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
फेकनको केन्द्रीय अध्यक्षका रुपमा ६ वर्षसम्म काम गरे । यसबीचमा मैले जति पनि काम गरे त्यसको जिम्मेवारी मैले लिनुपर्छ । जति पनि राम्रा काम भएका छन् त्यसको जससँगै जति पनि आलोचना भएको त्यसबाट पाठ सिकेर सुधारका लागि पनि मैले जिम्मेवारी लिनैपर्छ ।
मैले ५/१० जनाको टिमबाट २ सयभन्दा बढी सदस्य बनाउन सफल भएँ । मेरै कार्यकालमा गण्डकी प्रदेशमा पनि फेकनलाई बिस्तार गर्न सफल भयौं । त्यसका साथै सबै प्रदेशमा पनि जाने योजना बनाएका छौं । फेकनमा आबद्ध सदस्य संस्थामा काम गर्नेहरुको क्षमता अभिवृद्धि गर्नका लागि पनि पायरसँगको सहकार्यमा तालिम प्रदान गरेका छौं । यसले उहाँहरुलाई काम गर्न सफल भएको छ ।
त्यसबाहेक शिक्षामन्त्रालयसँगको सहकार्यमा टीआइटीआई तालिम दिनका लागि पनि मेरो नेतृत्वको फेकनले काम गर्यो । त्यसका साथै फेकनलाई राष्ट्रिय स्तरमा पुर्याउनका लागि, स्थापिन गर्नका लागि पनि सफल भयौं भन्ने लाग्छ ।
यसबीचमा व्यवसायिक हक तथा अधिकारहरु स्थापित गर्नका लागि पनि हामीले निकै महत्वपूर्ण पहल गरेका छौं । हामीले सबैलाई समान ढंगले अधिकारसम्पन्न बनाउनका लागि मेरो नेतृत्वको फेकनले निकै महत्वपूर्ण भूमिका खेलेको छ ।
त्यसबाहेक अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि सहकार्य गर्दै, सम्बन्ध स्थापित गर्दै फेकनको उचाइ बढाउनका लागि पनि निकै धेरै काम गरेका छौं । विभिन्न देशमा रहेका संस्थासँग, विश्वविद्यालय तथा कलेजसँगको सहकार्यमा विद्यार्थी तथा अभिभावकलाई पनि सहज हुने प्रकारले काम गरेका छौं ।
यद्यपि हामीले जति पनि काम गरेका छौं, त्यो आफैमा पूर्ण हो भन्ने होइन । समयक्रमसँगै धेरै नयाँ चुनौती तथा समस्याहरु पनि आउँछन् । ती समस्या समाधानका लागि पनि काम गर्नुपर्ने हुन्छ । तर पनि जुन मिसनका आधारमा हामी लागेका थियौं, त्यसमा हामीले सफलताप्राप्त गरेका छौं भन्ने लाग्छ ।
नयाँ कार्यसमितिका चुनौतीहरु के देख्नुहुन्छ ?
व्यवसायिक संघ भएकाले ट्रेड युनियनका हिसाबले हेर्दा हाम्रो सबैभन्दा ठूलो चुनौती भनेको व्यवसाय नै हो । सरकारले यो क्षेत्रले कति ठूलो योगदान गरिरहेको छ भन्ने बुझाउन अझै सकेका छैनौं ।
त्यसबाहेक अहिले हामीले विद्यार्थीहरु विदेश मात्रै पठाएका छौं तर विदेशबाट ल्याउन सकेका छैनौं । आजका दिनमा भारत र बंगलादेशले विदेशी विद्यार्थी ल्याएर पठाइरहेका छन् भने हामीले पनि त्यो काम गर्न नसक्ने होइन । यस विषयमा हामीले यसभन्दा अगाडिका शिक्षामन्त्रीसँग पनि कुरा गरेका थियौं ।
आजका दिनमा मुलुकमा ८ खर्बको हाराहारीमा रेमिट्यान्स आइरहेको छ । जसमध्ये अमेरिका र अष्ट्रेलियाको हिस्सा सबैभन्दा ठूलो छ । त्यो भनेको कन्सलटेन्सीमा परामर्श लिएर विदेश पढ्न गएका विद्याथीहरुको भूमिका धेरै छ । एजुकेशन कन्सलटेन्सीमार्फत् विदेश अध्ययन गर्न गएका विद्यार्थीहरुले सीप पनि सिकेर आएका छन् । जुन निकै महत्वपूर्ण विषय हो । अहिले सरकारले एजुकेशन कन्सलटेन्सी क्षेत्रले राज्यको जीडीपीमा कति योगदान गरेको छ भनेर बुझ्नै चाहेको देखिन्न ।
एजुकेशन कन्सलटेन्सी क्षेत्रमा विदेशी लगानीको कुरा पनि आइरहेको छ यसमा तपाईंको धारणा के हो ?
यसअघि पनि हामी जस्तै संघहरुले एकता गरेर यसको विरोध गरेको हो । किनपनि भने एजुकेशन कन्सलटेन्सी जस्तो क्षेत्रमा विदेशी लगानीको आवश्यकता पर्दैन नै भन्ने हो । जबसम्म हामीले स्वदेशी लगानीमै सबै काम गर्न सक्छौं भने विदेशी लगानीको आवश्यकता किन भन्ने प्रश्न पनि छ । विदेशी लगानी आउने, विदेशी विश्वविद्यालय तथा कलेजले पाँचतारे होटलमा आएर विभिन्न कार्यक्रम गर्न जरुरी छैन । त्यसैले आगामी कार्यसमितिले मुख्य मुद्दा बनाएर जानुपर्छ भन्ने लाग्छ ।
कोरोना महामारीका कारण यो क्षेत्रमा कस्तो खालको असर पर्यो ? अहिलेको अवस्था के छ ?
कोरोना महामारी हाम्रा लागि निकै ठूलो आर्थिक संकटका रुपमा आयो । एक वर्षपछि पनि हामी रिभाइभ हुन सकेका छैनौं । यसबीचमा हामीले व्यवसायभन्दा पनि विद्यार्थीको रेक्यू गर्नका लागि विभिन्न देशमा रहेको विभिन्न संस्थासँगको सहकार्यमा काम गर्न सफल भयौं । नेपाल सरकारको शिक्षामन्त्रालयले गठन गरेको समितिमा बसेर पनि काम गर्यौं ।
अब जहाँसम्म सरकारले दिने भनेको पुनरकर्जाको विषय छ, त्यसमा साना तथा मझौला व्यवसायीका लागि फाइदाजनक भएन । कम्तीमा ५ जना कर्मचारी हुनैपर्नेलगायतका मापदण्ड सबैका लागि स्वीकार्य भएन् । अर्थात् यो क्षेत्रका ९५ प्रतिशत संस्थाले त्यो सुविधा पाएनन् । यो सुविधा ५ प्रतिशतले मात्रै पाएको अवस्था छ ।
फेकन जस्तै इक्यान र आइरिन जस्ता संघ पनि छन् । समान प्रकृतिका उस्तै संघहरु किन यति धेरै हुनु पर्यो ?
हामीले कतिपय साथीहरुले समय समयमा सोध्नुहुन्छ कि एउटै संघ किन नबनाएको भनेर ? यसमा बुझ्नुपर्ने कुरा के छ भने फेकन स्थापना हुनुको आफ्नै उद्देश्य छ । यसकारण हामी अन्य संघहरुसँग आजका दिनसम्ममा एउटै हुन सक्ने अवस्था छैन । तर यति भन्दै गर्दा हामीले विभिन्न मुद्दाहरुमा एउटै आवाज लिएर सँगसँगै कार्यगत एकता गरेका पनि छौं । यस अर्थमा संघका आ–आफ्नै विशेषता छन् । त्यस हिसाबले एउटै संघ हुने भन्दा पनि विभिन्न विषयमा कार्यगत एकता हुनु जरुरी छ । जुन भइरहेको पनि छ ।
नयाँ कार्यसमिति चयनका लागि दुई वटा प्यानल छन् । सहमति हुने सम्भावना कति छ । र, नयाँ कार्यसमिति कस्तो हुनुपर्छ ?
नयाँ कार्यसमितिले फेकनको उद्देश्य, मुद्दा, विचार बोक्ने र यसका एजेन्डाहरु बुझेको छ त्यसैले नेतृत्व गर्ने हो । लामो समय अध्यक्ष भइसकेकाले राम्रो टिम आओस र मैले शुरुवात गरेका एजेन्डा पनि बोकोस भन्ने मेरो सोच हो । त्यसैले जो आए पनि राम्रो नेतृत्व आउनुपर्छ भन्ने मेरो विचार हो ।


क्लिकमान्डु