स्टक स्प्लिटको प्रत्यारोपण र कानूनी जटिलताः नीरव पुडासैनीको लेख



राजुसादा, प्रेमललवा, टुहर, शत्रुघन कुर्मी, दिलबहादुर, बियोगीहरु प्रसन्न छन् । यदाकदा चुनाव नहुने गाइँगुइँ सुनेर उनीहरुको मन अमिलिन्छ । अप्रत्यासित हिसाबले १० दिनको अन्तरालमा २ पटक काठमाडौं आउँदा/जाँदा उनीहरुले सुनेका थिए, चुनाव हुने र नहुने दोधारे गाइँगुइँ ।

तथापि उनीहरु ढुक्क छन् । एकदिन पक्कै आउँछ उनीहरुको दर्जा बढ्ने दिन । तथापि पुनः घटुवा हुनुपर्छ भनेर पनि उनीहरु जानकारी छन् । तर पनि क्षणिक सुखानुभूतीका लागि उनीहरु व्यग्र थिए (अघिल्लो अंकको लेख पढ्ने मेरा पाठकहरुले यस विषयको भेउ पाउनु भएको होला) ।

तर त्यही भिडमा मोबाइलमा चोर औँला खेलाउँदै चुनाव हुन नसक्ने गाइँगुइँ सुनेर मलिन अनुहार लगाएर टोलाइ रहेका सरिता सुवेदी, श्याम गौतम, अम्बिका श्रेष्ठ, कृष्णलाल अग्रवाल, निर्मल राईहरु चुनाव नभएर संकटकाल लगाइएमा बजारमा आउने प्रभावका विषयमा बिमर्शरत देखिन्थे ।

उनीहरु दुई कुराले उद्देल्लित थिए । चुनाव नभएर बजारमा आउने प्रभावको संशय र सेयर विभाजनको विषयले ल्याउने प्रभाव । तसर्थ आज स्टक स्प्लिट (सेयर विभाजन)का बारेमा केही लेख्ने जमर्को गरेको छु ।

स्टक स्प्लिटको कारण बजारमा तत् कम्पनीका सेयर संख्याको वृद्धि भएर थप सेयर होल्डरहरुको पनि वृद्धि हुने सम्भावना हुन्छ । सीमित संख्यामा रहेका सेयरधनीहरुको दायरा फराकिलो पार्ने उद्देश्यका साथ कम्पनीहरुले यस्तो कदम चाल्ने गर्छन् ।

सर्वसाधारण सेयरधनीहरु तथा तीनका प्रतिनिधिमा केही चलखेल गर्ने उद्देश्य कम्पनीको नहोला भन्न सकिन्न । तथापि स्टक स्प्लिटको मुख्य उद्देश्य कम्पनीको सेयरमा पहुँच धेरैभन्दा धेरै लगानीकर्तासम्म पुर्याउनु हो । यसको कारण बजारमा उक्त सेयरको मूल्य घट्न जान्छ र नयाँ लगानीकर्तालाई उक्त कम्पनीको सेयर मालिक हुने सम्भावनालाई खुला गरिदिन्छ । तर कम्पनीको कुल पुँजीमा केही परिवर्तन हुँदैन । जब बजारमा तत् कम्पनीको सेयरको मूल्य अत्यधिक वृद्धि हुन जान्छ । यस्तो अवस्थामा कम्पनीले आफ्नो सेयरलाई स्प्लिट गर्ने निर्णय लिने गरेको पाइन्छ ।

विश्व बजारको उदारहण हेर्ने हो भने यो एउटा सामान्य कर्पोरेट कार्य मात्रै हो । यो कार्य १/२ पटक मात्रै होइन धेरै पटक गर्न सकिन्छ भन्ने उदाहरण आइफोन निर्माता एप्पल कम्पनीले आजसम्म ५ पटक आफ्नो सेयरलाई स्प्लिट गरिसकेको यथार्थबाट बुझ्न छ ।

केही महिना अघि मात्र टेस्लाले एउटाको लागि ५ बराबर हुने गरी स्टक स्प्लिट गरेको थियो र पुनः २०२१ भित्र अर्कोपटक फेरि स्टक स्प्लिट गर्ने अपुष्ट समाचार बाहिर आएको देखिन्छ । त्यस्तै भारतीय बजारमा हिन्दुस्तान लिभर, आइसीआइसीआइ बैंकआदिले सेयर स्प्लिट गरेका दृष्टान्तहरु धेरै छन् ।

तथापि नेपालमा यो पहिलो प्रयास हो, कानूनी मौनताको बाबजुद । फलस्वरुप यसले सेयरको तरलतालाई वृद्धि गर्न धेरै ठूलो भूमिका खेल्छ । यसैको सोपानमा टेकेर साधारण जनहरुको पहुँचमा मूल्य पुग्ने अनुमान गर्न सकिन्छ तर छोटो समयका लागि मात्र ।

प्रत्यक्षरुपमा स्टक स्प्लिटले सेयर विभाजन गर्ने कम्पनीलाई केही आर्थिक लाभ हुँदैन । बरु यसले गर्दा सेयर विभाजनमा हुने प्रशासनिक खर्चमा वृद्धि गरिदिन्छ । तर पनि कम्पनीहरु स्टक स्प्लिट गर्ने निर्णय गर्दछन् । किनभने उनीहरु भविष्यमा आफ्ना सेयर मूल्य र कुल बजार पुँजीकरण वृद्धि गराउन चाहन्छन् ।

दीर्घकालीन लक्ष्यका साथ स्टक स्प्लिट गर्ने निर्णय कम्पनीहरुले गरेका हुन्छन् । यसमा कम्पनीका सञ्चालकहरुको उद्देश्य वा लक्ष्यप्राप्तिको भित्रि रुचिले पनि साथ पाएको हुँदैन भनेर ठोकुवाका साथ भन्न सकिन्न । यसको बाबजुद सेयर बिभाजनले सेयरको मूल्य सबैका लागि केही समय पहुँचयुक्त बनाउँछ ।

माथि भनिए जस्तै यसले नयाँ लगानीकर्ताहरुलाई कम्पनीमा आकर्षित गराउँछ । र, अन्तत्वोगत्वा उक्त स्प्लिट गरिएको सेयरको मूल्य पुनः बढाउन भूमिका खेल्छ । स्टक स्प्लिटका कारण उक्त कम्पनीको सेयर संख्या वृद्धि हुन्छ । साथै प्रतिसेयर मूल्य हालको भन्दा कम हुन्छ । तथापि कम्पनीको मूल्यांकनमा केही असर पर्दैन् ।

प्रचलितरुपमा स्प्लिट अनुपात १ बराबर २ वा १ बराबर ३ अनुरुप गरिन्छ । हालै विश्व चर्चित बैकल्पिक उर्जा तथा अन्तरिक्ष यात्रासँग सम्बन्धित कम्पनी टेस्लाले १ बराबर ५ हुने गरी स्टक स्प्लिट गरेको थियो । जसरी स्टक स्प्लिट गरिन्छ, त्यसैगरी कम्पनीले सेयर संख्यालाई कम गरेर सेयर मूल्य बढाउन रिभर्स स्टकको अवधारणा प्रयोग गरेर सेयर मूल्यलाई नियन्त्रित गर्न सक्छ ।

तर जसरी स्प्लिटमा कम्पनीको पुँजीकरणमा केही असर पर्दैन् । त्यसै गरेर रिभर्स स्टकले पनि पुँजीकरणमा रत्तिभर फरक पर्दैन् । स्मरण रहोस्, यो व्यवस्था हाम्रो कम्पनी ऐन तथा धितोपत्र निष्कासन नियमावलीले व्यवस्था गरेको छैन ।

नेपालमा पहिलो पटक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्टक स्प्लिट गर्ने मनसायका साथ यस विषयलाई वार्षिक साधारणसभामा लगेको छ । यही सूचनाको जगमा टेकेर उक्त कम्पनीको मूल्य अप्रत्याशितरुपमा २ दिनमा करिब ४ सय रुपैयाँले वृद्धि भएको देखियो ।

यसको अर्थ कानूनी अस्पष्टताका बाबजुद कतै यो अवधारणाको प्रयोग स्वार्थपूर्तीका लागि मात्रै प्रयोग भएको त होइन भनेर संशय गर्न सक्ने सुविधा सबैलाई दिइएको छ । तसर्थ लहड होइन, होसमा कारोबार गरौं ।
हाम्रो कम्पनी ऐनको दफा ५६ को १ (ख)ले सेयर स्प्लिट तथा रिभर्स गर्ने सुविधा दिएको प्रष्ट छैन । जसमा भनिएको छ, ‘कम्पनीको सबै वा केही सेयर पुँजीलाई अंकित मूल्यभन्दा बढी वा घटी मूल्यको सेयर एकीकृत वा विभाजन गरेर’, त्यस्तै ऐनको दफा २७ को (२) मा अंकित मूल्य ५० रुपैयाँसम्म बनाउन सकिने भनेको छ ।

तर धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ ले कम्पनी ऐनभन्दा विपरीत सेयरको अंकित मूल्य कम्तीमा १ सय रुपैयाँ हुनुपर्ने भनेर उल्लेख गरेको छ ।

यसअर्थ यो विषय धेरै जटिल भएका कारण यसैका आधारमा उक्त कम्पनीको सेयरमा बिना जानकारी धेरै ठूलो जोखिम नलिन सुझाव दिनुबाहेक अहिले यसै हुन्छ भनेर भन्न सक्ने आधार केही देखिन्न ।

यसका अलावा उक्त कम्पनीको मूल्य भविष्यमा अझमाथि जान सक्ने कुरामा धेरै आशावादी नभएका कारण सेयर स्टक स्प्लिटको अवधारणमार्फत् कम्पनीले भविष्य सुनिश्चित बनाउन खोजेको मात्रै होकि भन्ने आशंका गर्नु गलत नहोला ।

तथापि भविष्यमा नेपाली बजारमा सूचिकृत भएका कम्पनीमध्ये केही कम्पनीका सेयर मूल्य आम लगानीकर्ताहरुको पहुँचमा नहुन सक्छ । तसर्थ आम लगानीकर्ताहरुको पहुँच बढाएर सेयरलाई थप तरलता प्रदान गर्न कम्पनी ऐन र धितोपत्र सम्बन्धि नियमावलीमा प्रष्टता ल्याउन थप संशोधन गरेर अहिलेको जस्तो अस्पष्टता हटाउन जरुरी देखिन्छ ।

(लेखमा उल्लेखित नामहरु सरिता, सुवेदी, श्याम गौतम, अम्बिका श्रेष्ठ, कृष्णलाल अग्रवाल, निर्मला राई, सेयर बजारका प्रतिनिधि पात्र तर परिर्वितत नाम भनेर बुझ्न अनुरोध गर्छु ।)


क्लिकमान्डु