उद्देश्यबाट बिमूखहुँदै बैंकहरुः ब्याज आम्दानी ५ प्रतिशतले घट्यो, अन्य आम्दानी ६१ प्रतिशतले बढ्यो



काठमाडौं । बैंक अर्थात् पैसाको व्यवसाय गर्ने संस्था ।

तपाईं आफूसँग भएको पैसा बैंकमा राख्नुहुन्छ । त्यसबापत तपाईंलाई बैंकले ब्याज दिन्छ ।

र, तपाईंलाई कुनै व्यापार-व्यवसाय गर्न, घरजग्गा, सेयर वा अन्य कुनै सम्पत्ति खरिद गर्न बैंकले ऋण दिन्छ । त्यसबापत बैंकहरुले तपाईंसँग ब्याज असूल गर्छ ।

निक्षेप राख्दा तपाईंलाई बैंकले दिने ब्याज भन्दा ऋण लिँदा तपाईंसँग बैंकले लिने ब्याजदर बढी हुन्छ । निक्षेपकर्तालाई दिने र ऋणीसँग लिने ब्याजदरबीचको अन्तर (स्प्रेड दर) नै बैंक तथा वित्तीय संस्थाको मूख्य आम्दानी हो ।

तर पछिल्लो समय बैंकहरुको लगानी र आम्दानीको विवरण हेर्दा बैंकहरु आफ्नो उदेश्यबाट विमुख हुँदै गएको देखिन्छ । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार ब्याज आम्दानीभन्दा अन्य कारोबारबाट गर्ने आम्दानीको वृद्धिदर उल्लेख्य छ ।

०७६ पुस मसान्तको तुलनामा ०७७  पुस मसान्तमा बैंकहरुको खुद ब्याज आम्दानी ४.८२ प्रतिशतले घटेको छ छ भने अन्य सञ्चालन आम्दानी ६०.७७ प्रतिशतले बढेको छ ।

०७६ पुस मसान्तमा बैंकहरुले ६५ अर्ब २५ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए । ०७७ पुस मसान्तमा ३ अर्ब १४ करोड ७८ लाख रुपैयाँले घटेर ६२ अर्ब २५ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ ।

तर, ०७६ पुस मसान्त २ अर्ब ११ करोड २ लाख रुपैयाँ अन्य सञ्चालन नाफा गरेका बैंकहरुले ०७७ पुस मसान्तमा १ अर्ब २८ करोड २४ लाख रुपैयाँले बढेर ३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

के हो अन्य सञ्चालन आम्दानी ?

बैंक तथा वित्तीय संस्थाले कर्जा लगानीबाहेक अन्य प्रकारका कारोबारबाट गरेको आम्दानीलाई अन्य सञ्चालन आम्दानी भन्निछ । जसमा बैंक तथा वित्तीय संस्थाले गरेको विदेशी विनिमयको पुनरमूल्यांकन आम्दानी, धितोपत्र अर्थात् सेयर बजारको दोस्रो बजारबाट गरिएको सेयर खरिद बिक्रीको नाफा नोक्सानका साथै यस वापत प्राप्त नगद लाभांश र लगानी सम्पतीको फेयर भेल्लुको नाफा नोक्सानी समावेश गरिएको हुन्छ ।

साथै, लगानी सम्पतीको बिक्रीमा हुने नाफा नोक्सान, सञ्चालित लिज आम्दानी र सुन चाँदीको बिक्रीमा हुने नाफा नोक्सान समावेश अन्य सञ्चालन आम्दानीमा गरिएको हुन्छ ।

किन बढ्यो अन्य आम्दानी ?

‘बैंकहरुले कोर विजनेशभन्दा नन् कोर विजनेशबाट बढी आम्दानी गर्नु भनेको बैंकहरु आफ्नो उदेश्यबाट विमुख हुँदै छन् भनेर बुझ्नु पर्ने हुन्छ,’ राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले क्लिकमाण्डूसँग भने, ‘कतिपय विदेशी बैंकहरुमा यस्तो अभ्यास गरिएका छन् । तर नेपालका बैंकहरु एकाध बैंकको ब्याज आम्दानीभन्दा अन्य सञ्चालन आम्दानी बढी कहिले काहिँ बढी देखिएपनि समग्रमा यस्तो अभ्यास शुरु भएको पाइएको छैन ।’

कोरोना भाइरसका कारण नयाँ कर्जा लगानी नभएर ब्याज आम्दानी घट्दा सञ्चालन आम्दानीको वृद्धिदर बढी देखिएको हुनसक्ने उनको भनाइ छ ।

०७७ पुस मसान्तसम्म बैंकहरुको वित्तीय विवरण हेर्दा कतिपय बैंकहरुले गत वर्षको सोही अवधिको तुलनामा १०० प्रतिशतभन्दा बढीले यस्तो आम्दानी बढाएका छन् भने सो अवधिमा कृषि विकास बैंकले १००० गुणा बढी यस्तो आम्दानी बढाएको देखिन्छ ।

गत वर्षको माघ/फागुन महिनाबाटै कोरोना भाइसरको असर अर्थतन्त्रमा पर्दा बैंकमा नयाँ कर्जाको माग नहुँदा ब्याज आम्दानी घटेको बैंकर्स संघका कार्यकारी अधिकृत अनिल शर्माले बताए ।

तर बैंकहरुले गर्ने अन्य प्रकारका कारोबारहरुमा भने कर्जाका कारोबारजस्तो असर नपर्दा अन्य सञ्चालन आम्दानी बढेको उनको भनाइ छ ।

बैंकहरुले यस सो अवधिमा कर्जाको नभएपछि नाफामा नकारात्मक असर नपार्न सेयर बजारमा लगानी बढाएको राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका एक अधिकारीले बताए ।

‘गैरबैंकिङ सम्पत्ति बिक्री, विदेशी विनिमयको कारोबार र सुन चाँदीको कारोबारबाट आउने आम्दानी यो अवधिमा न्यून नै देखिन्छ,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, ‘लक डाउनपछि जब सेयर बजार खुल्यो बैंकहरुले लगानी सम्बन्धी व्यवस्थामा तोकिएको दायरा पुरा हुने गरी सेयर बजारमा लगानी गरेका छन् ।’

बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजीको १ प्रतिशत बराबरको रकम सेयर बजारको दोस्रो बजारमार्फत् सेयर कारोबार गर्नसक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यस्तो प्रकारको लगानी गत वर्षसम्म कतिपय बैंकहरुले ०.५ प्रतिशतभन्दा कम गरेको भएपनि चालु आवमा १ प्रतिशत कै हाराहारीमा बैंकहरुले सेयर बजारमा लगानी गरेको ती अधिकारीको भनाइ छ ।

कोभिडका कारण फिल्ड सुपरिवेक्षण धेरै समय बन्द रहेपनि अहिले बैंकहरुको फिल्ड सुपरिवेक्षण् तिव्र पारिएको छ । स्थलगत सुपरिवेक्षणमा बैंकहरुले आफ्नो उदेश्य र दायराभन्दा बढी लगानी अन्य क्षेत्रमा गरेको पाइएमा दफा १०० बमोजिम कारवाहीमा पर्ने ती अधिकारीले बताए ।

साधारणतय नेपालका प्रायः बैंकहरुको कर्जा लगानीलाई मुख्य प्रथमिकतामा दिने भएपनि पछिल्लो समय बैंकहरु अन्यत्र क्षेत्रमा पनि पल्किएका छन् ।

‘वित्तीय विवरणमा अन्य सञ्चालन आम्दानी राख्दा त्यसमा समावेश हुने आम्दानीमा सबैभन्दा बढी सेयर बजार खरिद बिक्रीबाट आएको आम्दानी र त्यस वापत प्राप्त नगद लाभांशको हिस्सा छ,’ एक चार्टर्ड एकाउन्टेन्टले क्लिकमाण्डूसँग भने, ‘१÷२ वर्ष अघिसम्म व्यालेन्ससिट तयार गर्दा अन्य सञ्चालन आम्दानी धेरै बैंकहरुको लाख रुपैयाँसम्म पनि हुँदैन थियो । तर अहिले करोडौं रुपैयाँ सञ्चालन आम्दानी गर्ने बैंकहरु धेरै भइसके ।’

बैंकहरुको अन्य सञ्चालन आम्दानी बढ्न थालेपछि राष्ट्र बैंक सेयर कारोबारमार्फत्को आम्दानीलाई छुट्टै विवरण बनाएर वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिइसकेको उनले जानकारी दिए ।

तर केही बैंकहरुले यसमा अपठ्याराहरु औलाउँदै असहमति जनाएका कारण अगामी बर्षदेखिमात्रै सो निर्देशनअनुसार बैंकहरुले वित्तीय विवरण सार्वजनिक गर्ने सम्भावना रहेको ती चार्टर्ड एकाउन्टेन्टको भनाइ छ ।

बैंकहरुको ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानीको वृद्धिदर

गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा १७ वटा वाणिज्य बैंकको ब्याज आम्दानी घटेको छ भने १० वटाको मात्र बढेको छ । सो अवधिमा बैंकहरुको ब्याज आम्दानी २.६४ प्रतिशतदेखि ४३.८५ प्रतिशतसम्मले घटेको छ ।

तर सोही अवधिमा अन्य सञ्चालन आम्दानी भने ६ वटा वाणिज्य बैंकको मात्र घटेको छ, भने बाँकी २१ वटा बैंकको ६.९९ प्रतिशतदेखि १ हजार ९७ प्रतिशतसम्मले वृद्धि भएको देखिन्छ ।

सो अवधिमा २५ वटा वाणिज्य बैंकको ब्याज आम्दानीको तुलनामा अन्य सञ्चालन आम्दानीको ग्रोथ बढी छ भने कतिपय बैंकको अन्य सञ्चालन आम्दानीको वृद्धिदर सकारात्मक हुँदा ब्याज आम्दानी नकारात्मक छ ।

तर ग्लोबल आइएमई र नेपाल बैंकको भने अन्य सञ्चालन आम्दानीको तुलनामा ब्याज आम्दानीको वृद्धिदर धेरै छ । मर्जरमा गएका कारण ०७८ असार मसान्तसम्म ग्लोबल आइएमइ बैंकले अन्य बैंकभन्दा बढी स्प्रेड लिन पाउँछ ।

कुन बैंकको ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी बढ्यो ?

बैंकहरुद्वारा सार्वजनिक चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार सो अवधिमा सबैभन्दा बढी अन्य सञ्चालन आम्दानी कृषि विकास बैंकले वृद्धि गरेको छ ।

गत आवको पुस मसान्तमा ८२ लाख ७९ हजार रुपैयाँमात्र अन्य सञ्चालन नाफा गरेको बैंकले चालु आवको सोही अवधिमा ३ हजार ९७.४७ प्रतिशतले यस्तो आम्दानी बढाएर २६ करोड ४७ लाख रुपैयाँ पुर्याएको छ ।

तर सो अवधिमा बैंकले ब्याज आम्दानी भने ९.१९ प्रतिशतले घटाएको छ । गत आवको पुस मसान्तमा ३ अर्ब १७ करोड १६ लाख रुपेयाँ ब्याज आम्दानी गरेकामा चालु आवको सोही अवधिमा यस्तो आचम्दानी २ अर्ब ८८ करोड रुपैयाँमा सीमित गरेको छ ।

यसैगरी, सो अवधिमा एनआइसी एसिया बैंकले ६ सय ५३.३१ प्रतिशतले अन्य सञ्चालन आम्दानी बढाउँदा ब्याज आम्दानी भने ८.२१ प्रतिशतले मात्र वृद्धि गरेको छ । साथै, नेपाल बंगलादेशले ४ सय २१.५३ प्रतिशतले अन्य सञ्चालन आम्दानी बढाउँदा ८.०१ प्रतिशतले ब्याज आम्दानी घटाएको छ ।

मेगा बैंकले ३ सय ९३.३३ प्रतिशतले अन्य सञ्चालन आम्दानी बढाउँदा २६.६० प्रतिशतले ब्याज आम्दानी बढाएको छ । कुमारी बैंकले ३ सय ६६.१५ प्रतिशतले सञ्चालन आम्दानी बढाउँदा ३७.०२ प्रतिशतले ब्याज आम्दानी बढाएको छ ।

सिटिजन्स बैंकले ३ सय २९.१७ प्रतिशतले अन्य सञ्चालन आम्दानी बढाउँदा १२.३९ प्रतिशतले ब्याज आम्दानी बढाएको छ । प्राइम बैंकले २ सय ५६.२३ प्रतिशतले अन्य सञ्चालन आम्दानी बढाउँदा ३४.६७ प्रतिशतले ब्याज आम्दानी बढाएको छ ।

एनसीसी बैंकले १ सय ८१.६८ प्रतिशतले अन्य सञ्चालन आम्दानी बढाउँदा १३.२८ प्रतिशतले ब्याज आम्दानी घटाएको छ । लक्ष्मी बैंकले १ सय ६८.११ प्रतिशतले अन्य सञ्चालन आम्दानी बढाउँदा १३.१३ प्रतिशतले ब्याज आम्दानी घटाएको छ ।

सिद्धार्थ बैंकले १ सय २५.८६ प्रतिशतले अन्य सञ्चालन आम्दानी बढाउँदा ८.७४ प्रतिशतले ब्याज आम्दानी घटाएको छ । सिभिल बैंकले ९१.४५ प्रतिशतले अन्य सञ्चालन आम्दानी बढाउँदा २१.६६ प्रतिशतले ब्याज आम्दानी घटाएको छ ।

बैंक अफ काठमाण्डूले ९०.२० प्रतिशतले अन्य सञ्चालन आम्दानी बढाउँदा १९.८० प्रतिशतले ब्याज आम्दानी घटाएको छ । प्रभु बैंकले ८९.४९ प्रतिशतले अन्य सञ्चालन आम्दानी बढाउँदा ९.७२ प्रतिशतले ब्याज आम्दानी बढाएको छ ।

स्ट्ण्याण्डर्ड चार्टर्ड बैंकले ७७.३१ प्रतिशतले अन्य सञ्चालन आम्दानी बढाउँदा ३७.२८ प्रतिशतले ब्याज आम्दानी घटाएको छ । सेञ्चुरी बैंकले ५१.६५ प्रतिशतले अन्य सञ्चालन आम्दानी बढाउँदा २०.१३ प्रतिशतले ब्याज आम्दानी घटाएको छ ।

माछापुच्छ्रे बैंकले ३१.८९ प्रतिशतले अन्य सञ्चालन आम्दानी बढाउँदा ०.०८ प्रतिशतले ब्याज आम्दानी बढाएको छ । ग्लोबल आइएमई बैंकले ३१.२७ प्रतिशतले अन्य सञ्चालन आम्दानी बढाउँदा भने ३४.४७ प्रतिशतले ब्याज आम्दानी बढाएकोे छ ।

नेपाल इन्भेटमेण्ट बैंकले १७.२६ प्रतिशतले अन्य सञ्चालन आम्दानी बढाउँदा २.६४ प्रतिशतले ब्याज आम्दानी घटाएको छ । नेपाल बैंकले ७.६६ प्रतिशतले अन्य सञ्चालन आम्दानी बढाउँदा ८.२४ प्रतिशतले ब्याज आम्दानी बढाएको छ ।

नेपाल एसबीआइ बैंकले ६.९९ प्रतिशतले अन्य सञ्चालन आम्दानी बढाउँदा ४३.८५ प्रतिशतले ब्याज आम्दानी घटाएको छ । एनएमबी बैंकले ६.९९ प्रतिशतले अन्य सञ्चालन आम्दानी बढाउँदा ४.९४ प्रतिशतले ब्याज आम्दानी बढाएको छ ।

ब्याज आम्दानी र अन्य सञ्चालन नाफा घटाउने बैंकहरु

गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा ६ वटा वाणिज्य बैंकले अन्य सञ्चालन नाफा घटाएका छन् ।

जसमध्ये सनराइज बैंकले २१.०८ प्रतिशतले अन्य सञ्चालन नाफा घटाउँदा ११.३१ प्रतिशतले ब्याज आम्दानी घटाएको छ । सानिमा बैंकले २२.७८ प्रतिशतले अन्य सञ्चालन नाफा घटाउँदा ७.९८ प्रतिशतले ब्याज आम्दानी घटाएको छ ।

नबिल बैंकले २८.२७ प्रतिशतले अन्य सञ्चालन नाफा घटाउँदा ९.५३ प्रतिशतले ब्याज आम्दानी घटाएको छ । एभरेष्ट बैंकले ४६.८६ प्रतिशतले अन्य सञ्चालन नाफा घटाउँदा ३४.२८ प्रतिशतले ब्याज आम्दानी घटाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले ५०.६७ प्रतिशतले अन्य सञ्चालन नाफा घटाउँदा २२.७३ प्रतिशतले ब्याज आम्दानी घटाएको छ । हिमालयन बैंकले ७५.०१ प्रतिशतले अन्य सञ्चालन नाफा घटाउँदा ३१.७४ प्रतिशतले ब्याज आम्दानी घटाएको छ ।


दिलु कार्की