उखु किसानलाई पैसा नदिने उद्योगले चिनीको मूल्य प्रतिकिलो २ रुपैयाँले बढाए



काठमाडौं । सरकारले गत मंसिरमा कृषि तथा पशुपंछी विकास मन्त्रालयले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ८ रुपैयाँले बढायो । विगतका दिनमा उद्योगहरूले किसानलाई सरकारले तोकेको उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५३५ रुपैयाँ दिएर उखु खरिद गर्दै आएका थिए । तर, सरकारले दुई वर्षपछि उक्त मूल्यमा ८ रुपैयाँ बढाएर ५४३ तोकेको छ ।

यो उखुको फसल काट्ने सिजन हो । यससँगै उद्योगीहरूले उत्पादित नयाँ चिनीमा २ रुपैयाँ बढाएको उद्योगीहरूले जनाएका छन् । सरकारले उखुको समर्थन मूल्य ८ रुपैयाँ बढाएसँगै चिनी उद्योगले प्रतिकिलो २ रुपैयाँ मूल्य वृद्धि गराएको चिनी उत्पादनक संघका अध्यक्ष शशिकान्त अग्रवालले जानकारी दिए ।

उनका अनुसार कारोनाले गर्दा उत्पादनमा खर्च बढी भएकाले उद्योगीहरूले २ देखि ३ रुपैयाँसम्म मूल्यवृद्धि हुनु भनेको सामान्य हो ।

उद्योगीहरूले गत वर्ष प्रतिकेजी ६६ रुपैयाँ तोकिएको चिनीको मूल्य यो वर्ष ६८ देखि ७० रुपैयाँसम्म मूल्य बढाएको उनले बताए । कोरोनाले यस उद्योगमा खासै असर नगरे पनि गत वर्षको तुलनामा चालु आवमा उत्पादनमा खर्च बढेकाले चिनीको मूल्य बढाएको उनको भनाइ छ ।

‘सरकारले समर्थन मूल्य ८ रुपैयाँ बढाइएको छ । तर, उद्योगीहरू जम्मा २ रुपैयाँ मात्रै बढाएका छन् । कहिलेकाही चिनीमा २ रुपैयाँ घटबढ भइरहन्छ । त्यसकारण चिनीमा मूल्य बढायो भन्न मिल्दैन,’ उनले भने ।

उद्योगीहरूले उत्पादन गरेको चिनी आम उपभोक्तासम्म पुग्दा करिब २० रुपैयाँले बढ्दछ । यसमा उद्योगीले थोरै मात्रामा मूल्य बढाएता पनि बजारमा भने अत्याधिक मूल्यमा खरिद बिक्री प्रवृत्ति रहेको उनको बुझाइ छ ।

उत्पादनमा कम
हरेक वर्ष उखुको भुक्तानी नभएको भन्दै उखु किसान आन्दोलनमा उत्रिँदै आएका छन् । तर, पनि हालसम्म उखु किसानको भुक्तानीमा भने सहज हुन सकेको छैन । जसकारण कतिपय उखु किसानहरू उत्पादन कम गर्दै गएको र अन्य खेती गर्न थालेका छन् । यसले गर्दा प्रत्यक्षरुपमा चिनी उद्योगमा असर पर्दै गएको पाइन्छ ।

चालु आवमा गत वर्षको तुलनामा करिब १५ देखि २० प्रतिशतसम्म उत्पादन कम हुने अध्यक्ष अग्रवालले अनुमान गरे । हरेक वर्ष चिनीको उत्पादनमा कम हुँदै गएकाले चालु आवमा पनि सोही अनुसार घट्दै गएको उनले गुनासो गरे ।

हाल देशभर ११ चिनी उत्पादन गर्ने उद्योग छन् । वर्षेनी उत्पादनमा कम हुँदै गएपछि चिनी उत्पादन गर्ने उद्योगीहरू पनि घाटामा जाने गरेको उनको बुझाइ छ ।

वार्षिक नेपालमा २ लाख ५० हजार मेट्रिक टन खपत हुँदै आएको छ । तर, नेपाली उद्योगीहरूले भने वार्षिक ४ लाख टन उत्पादन हुने अनुमान गर्दै आए पनि अनुमान अनुसार भने उत्पादन हुन सकेको छैन ।

नेपाली उद्योगीहरूले गत वर्ष दुई लाख मेट्रिक टन उत्पादन गर्दै गरेका थिए । हरेक वर्ष उत्पादनमा कम हुँदै आएपछि चालु आवमा पनि घटेर करिब डेढ लाख टन पनि उत्पादन गर्न मुस्किल रहेको अग्रवालको भनाइ छ ।

तस्करीको चिनी भित्रिँदा स्वदेशको चिनी बिकेन
उद्योगीहरूले आन्तरिक बजारलाई धान्न सक्ने चिनी उत्पादन गर्न सक्ने दावी गरे पनि हरेक वर्ष विदेशबाट चिनी आयात भइरहेको छ । आन्तरिक बजारमा चिनी आयात गर्नका लागि नेपाल सरकारले साल्ट टे«डिङलाई मात्रै आयात गर्न स्वीकृत दिँदै आएको छ । तर, उद्योगीका अनुसार भने व्यापारीले तस्करीको चिनी बजारमा ल्याउँदा स्वदेशी चिनी बिक्री नभएको जनाएको छ ।

‘अहिले आयातकर्ताहरूले तस्करी गरेर भएपनि चिनी आयात गरिरहेका छन् । उक्त व्यापारीहरूले औपचारिक तथा अनौपचारिक रुपमा भित्र्याइरहेका छन्,’ अग्रवालले क्लिकमान्डूसँग भने, ‘तस्करी र व्यापारीले आयात गरेर बजारमा कारखानाको चिनी बिक्री भइरहेको छैन ।’

नेपालमा उद्योगीहरूले अफ सिजनका माग अनुसार आपूर्ति गर्न नसक्दा साल्ट टे«डिङले ल्याउनको लागि सरकारले अनुमति दिँदै आएको छ । तर, अध्यक्ष अग्रवालले भने चिनी आयातमा कुनै व्यापारीलाई रोकावट नभएको बताउँछन् ।

यसले गर्दा बजारमा समस्या निम्तिएकाले सरकारले यसप्रति कडाइ गर्नुपर्ने उनले बताए । साथै, भारतबाट आयातित चिनीको मूल्य स्वदेशको भन्दा कम मूल्य पर्ने भएकाले स्वदेशी उद्योगलाई घाटा हुन नदिन तस्करको कार्य बन्द गर्नुपर्ने उनले बताए ।


क्लिकमान्डु