राष्ट्रिय वाणिज्य बैंंकसँग मिलेर टेलिकमले मोबाइल मनि ल्याउँदै, यस्ता छन् भावी योजना



काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा डिजिटल पेमेन्टलाई थप प्रभावकारी बनाउने भएको छ । त्यसका लागि कम्पनी नै स्थापना भइसकेको छ ।

डिजिटल पेमेन्ट्स कम्पनी टेलिकमको सहायक कम्पनीको रुपमा कार्य गर्ने गरी मोबाइल फाइनान्स सर्भिस सञ्चालनको अन्तिम तयारी गरिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।

उनका अनुसार कम्पनीले डिजिटल पेमेन्ट अर्थात् मोबाइल मनिका लागि चाहिने आवश्यक पूर्वाधारको समेत तयारी गरिरहेको छ । आगामी दिनमा मोबाइलबाटै सबै कारोबार गर्न सकिने भएकाले नेपाली जनताका लागि यो नयाँ अनुभव हुने टेलिकमको विश्वास छ ।

नेपाल टेलिकमले शुरु गर्यो ‘फोरजी वायरलेस होम ब्रोडब्याण्ड’ सेवा

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्दै, नगदरहित समाजको परिकल्पनालाई साकार पार्ने र वित्तीय पहुँच विस्तार गरी सुशासन र वित्तीय कारोबारमा पारदर्शिता कायम गर्न यसले महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ ।

यस्तै, कम्पनीले सरोकारवालासँगको सहकार्यमा दूरसञ्चार पूर्वाधार सेवा प्रदायक कम्पनी गठन गरी सञ्चालन गर्ने भएको छ । पूर्वाधारको सहप्रयोगमार्फत् लागत कम गराइ सेवालाई सस्तो बनाउन कम्पनीले अग्रणी भूमिका खेल्ने विश्वास लिएको छ ।

यस्तै, फाइभ जी सेवा सञ्चालनका लागि परीक्षण तथा अध्ययन गर्ने र व्यवसायिक सञ्चालनका लागि प्रारुप तयार पार्ने लक्ष्य राखेको छ ।  टेलिकमले सबै स्थानीय निकायमा ब्रोडब्याड इन्टरनेट विस्तार गर्ने, आर्टिफियल इन्टिलिजेन्स (एआई) को प्रयोग मार्फत सेवालाई बढि ग्राहक मैत्री बनाइनेलगायत भावी रणनीति रहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले बताए ।

यस्ता छन् भावी योजना

-चालु आयोजनालाई स्वीकृत कार्ययोजना अनुसार समयमा नै सम्पन्न गर्ने र गुणस्तरीय सेवा प्रदान गरिने छ ।

-मर्मत सम्भारलाई थप वैज्ञानिक, भरपर्दो बनाउने र नेटवर्क एभाइलिटी बढाई गुणस्तरलाई सुनिश्चित गरिने छ ।

-जीआईएस मार्फत पूर्वाधारको अभिलेखिकरण तथा सोको प्रयोगबाट योजना तथा कार्यान्वयनमा प्रभावकारीता कायम गरिने छ । ड्राइभलेस अप्टिमाइजेसन मार्फत मोबाइल सेवाको गुणस्तलाई निरन्तर अनुगमन तथा सुधार गरिने छ ।

-डिजिटल प्लेटफार्म मार्फत सेवा प्रवाह, गुनासो व्यवस्थापन लगायतका कार्य गरिनेछ ।

-सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूरसंचार प्राधिकरणको सहकार्य र सहमतिमा दूरसंचार पूर्वाधार सेवा प्रदायक कम्पनी गठनगरी संचालन गर्ने । पूर्वाधारको सह–प्रयोग मार्फत लागत कम गराई सेवालाई सस्तो बनाउन कम्पनी अग्रणी भमिका निर्बाह गर्न तयार रहेको छ ।

-कम्पनीको कार्यशैली र व्यवस्थापकीय सुधार गर्नका लागि रणनीतिक व्यावसायिक पार्टनर भित्र्याउन पहल गरिनेछ ।

-सबै स्थानीय निकायहरुमा ब्रोडब्यान्ड सेवा पुर्याई डिजिटल डिभाइड कम गर्दै डिजिटल लिटरेसीलाई प्रोत्साहन गर्ने वातावरण तयार गरिनेछ । डिजिटलाइजेसनको प्रकृयालाई सहयोग गरिनेछ ।

-बिगडाटा (बीआई), आर्टिफियल इन्टिलिजेन्स (एआई) को प्रयोग मार्फत सेवालाई बढि ग्राहक मैत्री बनाइने छ ।

-फाइभजी सेवा सञ्चालनको लागि परीक्षण तथा अध्ययन गर्ने र व्यावसायिक सञ्चालनको लागि प्रारुप तयार गरिनेछ ।


क्लिकमान्डु