बैंकबाट महिलाले लिए सस्तो ब्याजदरमै बिनाधितो १६ अर्ब ऋण, कुन बैंकले कति दिए ?



काठमाडौं । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट १९ हजार बढी महिलाले बिनाधितो १६ अर्ब रुपैयाँ बढी कर्जा लिएका छन् ।

सरकारको कार्यक्रममा राष्ट्र बैंकको निर्देशनअनुसार ४५ वटा बैंक तथा वित्तीय संस्थाले १६ अर्ब ४ करोड १३ लाख रुपैयाँ बिनाधितो महिलालाई ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा प्रदान गरेका हुन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको मंसिर मसान्तसम्म ८६ अर्ब ५५ करोड ६९ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाले ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा ५२ हजार ४८ जना ऋणीमा प्रवाह गरेका छन् । यस्तो कर्जा उपयोग गर्ने ऋणीमा ३७.७२ प्रतिशत महिला छन् ।

सरकारले २ वर्षअघि बिनाधितो ब्याज अनुदानका सहुलियत कर्जा कार्यक्रम ल्याएर राष्ट्र बैंकमार्फत् लागू गराएको थियो । सरकारको दिने ब्याज अनुदानमा २ वर्षमा १९ हजार ६ सय ३५ जना महिलाले सहुलियतपूण कर्जा अन्तर्गतको महिला उद्यमी कर्जा उपयोग गरेका हुन् ।

सरकारको निर्देशनमा राष्ट्र बैंकले २०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधि जारी गरेको थियो । ब्याज अनुदानका सहुलियतपूर्ण कर्जा अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी, महिला उद्यमी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, दलित समुदाय व्यवसाय विकास, उच्च र प्रविधिक शिक्षा भुकम्प पिडितको निजी आवास निर्माण, कपडा उद्योग संचालन र सिटिभिटि तालिमको लागि गरी ९ शिर्षकमा सहुलियतपूर्ण कर्जा बैंक तथा वित्तीय संस्थाबाट ग्राहकले लिन सक्ने व्यवस्था गरिएको छ ।

जसमध्ये व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, कपडा उद्योग संचालनबाहेक सबै कर्जा बैंक तथा वित्तीय संस्थाले बिनाधितो व्यवसायीक परियोजनाको आधारमा ब्याज अनुदानमा कर्जा प्रवाह गर्नु पर्ने व्यवस्था गरिएको छ ।

सरकारले महिला उद्यमशील क्षमताको विकास गर्ने उदेश्यले ‘महिला उद्यमी कर्जा’ शिर्षकमा परियोजना मूल्यांकनमा १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा दिने राष्ट्र बैंकमार्फत् बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । जस १८ वर्ष पूरा भएको महिलाले उक्त शिर्षकमा कर्जा लिनको लागि सहुलियतपूर्ण कर्जाका मापदण्ड पूरा गरी व्यवसायिक योजना बैंकमा पेश गरेपछि पाउँछन् ।

कुन बैंक तथा वित्तीय संस्थाबाट महिलाले कति कर्जा पाए ?

चालु आवको मंसिर मसान्तसम्म २७ वटा वाणिज्य बैंक, १२ वटा विकास बैंक, ५ वटा फाइनान्स कम्पनी र १ वटा लघुवित्त वित्तीय संस्थाले ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा अन्तर्गत महिलालाई उद्यमी कर्जा प्रवाह गरेका हुन् ।
जसमा २७ वटा वाणिज्य बैंक १७ हजार ४ सय ३४ जना महिलालाई १३ अर्ब ८७ करोड ३८ लाख रुपैयाँ महिला उद्यमी कर्जा प्रदान गरेका छन् ।

साथै १२ वटा विकास बैंकहरुले सो अवधिमा १ हजार ९ सय ९५ जना महिलालाई १ अर्ब ९५ करोड ५३ लाख रुपैयाँ, ५ वटा फाइनान्स कम्पनीले १ सय ३४ जना महिलालाई १ अर्ब ४४ करोड २५ लाख रुपैयाँ र १ वटा लघुवित्त वित्तीय संस्थाले ७२ जना महिलालाई ६ करोड ७९ लाख ४० हजार रुपैयाँ महिला उद्यमी कर्जा प्रवाह गरेको छ ।

वाणिज्य बैंकहरुतर्फ बिनाधितो महिला उद्यमी कर्जा

वाणिज्य बैंकहरुतर्फ सञ्चालनमा रहेका सबै वाणिज्य बैंकले महिला उद्यमी कर्जा प्रवाह गरेका छन् । जसमा सबैभन्दा बढी नेपाल एसबीआई बैंकले र सबैभन्दा थोरै एनआइसी एशिया बैंकले दिएको छ । जसमा एसबीआई बैंकले १ हजार ३ सय ९९ जना महिलालाई १ अर्ब ७ करोड १९ लाख ९१ हजार रुपैयाँ महिला उद्यमी कर्जा प्रवाह गरेको छ भने एनआइसी एशिया बैंकले ७ जना महिलालाई ५२ लाख ४७ हजार रुपैयाँमात्र महिला उद्यमी कर्जा प्रवाह गरेको छ ।

तर सो अवधिमा कर्जा परिमाणको आधारमा सबैभन्दा बढी महिलालाई बिना धितो कर्जा दिने वाणिज्य बैंकमा सनराइज बैंक रहेको छ । सो अवधिमा सनराइजले १ हजार २ सय ९२ जना महिलालाई १ अर्ब ३६ करोड ४३ लाख ३९ हजार रुपैयाँ कर्जा व्यवसायीक परियोजनामा विस्वास गरी बिना धितो प्रवाह गरेको हो ।

विकास बैंकहरुतर्फ बिनाधितो महिला उद्यमी कर्जा

चालु आवको मंसिरमसान्तसम्म विकास बैंकहरु तर्फ ७ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले र ५ वटा क्षेत्रियस्तरका विकास बैंक गरी १२ वटा विकास बैंकहरुले बिना धितो १ हजार ९ सय ९५ जना महिलालाई १ अर्ब ९५ करोड ५३ लाख ३४ हजार रुपैयाँ महिला उद्यमी कर्जा प्रवाह गरेका छन् ।

जसमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले र सबैभन्दा थोरै सप्तकोशी विकास बैंकले महिलालाई बिनाधितो कर्जा दिएका छन् । सो अवधिमा मुक्तिनाथ विकास बैंकले ४ सय जना महिलालाई २९ करोड ८४ लाख ७२ हजार रुपैयाँ र सबैभन्दा थोरै सप्तकोशी विकास बैंकले ३ जना महिलालाई ३३ लाख ८१ हजार रुपैयाँ बिनाधितो कर्जा दिएका हुन् ।

तर सो अवधिमा कर्जा परिमाणको आधारमा भने सबैभन्दा धेरै जयोति विकास बैंकले दिएको छ । बैंकले चालु आवको मंसिर मसान्तसम्म ३ सय ७२ जना महिलालाई ३८ करोड २६ लाख ७० हजार रुपैयाँ बिना धितो ब्याज अनुदानमा कर्जा प्रवाह गरेको हो ।

फाइनान्स तथा माइक्रोफाइनान्स

राष्ट्र बैंकबाट प्राप्त तथ्यांक अनुसार चालु आवको मंसिर मसान्तसम्म ५ वटा फाइनान्स कम्पनी र १ वटा माइक्रोफाइनान्स कम्पनीले बिानाधितो महिलालाई कर्जा प्रवाह गरेको छ । जसमा सबैभन्दा बढी पोखरा फाइनान्सले ८० जना महिलाई ८ करोड ७४ लाख १० हजार रुपेयाँ बिनाधितो ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा सबैभन्दा थोरै युनाइटेड फाइनान्सले २ जना महिलालाई व्यवसायीक परियोजनाको आधारमा बिनाधितो १५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो । साथै, सो अवधिमा इन्फिटी लघुवित्त वित्तीय संस्थाले ७२ जना महिलालाई ६ करोड ७९ लाख ४० हजार रुपैयाँ बिनाधितो ऋण दिएको छ ।


पुष्प दुलाल