होटल क्षेत्रको कर्जा पुनरतालिकीकरण हुँदा रु.८ अर्ब बढी प्रोभिजन थपियो, कुन बैंकको कति ?



काठमाडौं । कोभिड प्रभावित क्षेत्रका ऋणी व्यवसायीको कर्जाको पुनरतालिकीकरण/पुनरसंरचना गर्ने समय राष्ट्र बैंकले गत साउनमा पुस मसान्तसम्मको समय दिएको थियो । जसअनुसार बैंकहरुले कोभिड प्रभावित क्षेत्रका ऋणीको आग्रहमा कर्जाको पुनरतालिकीकरण बैंक तथा वित्तीय संस्थाहरुले गरेका छन् ।

कोभिड प्रभावित ऋणीहरुमा सबैभन्दा बढी पर्यटन क्षेत्रका व्यवसाय, शैक्षिक संस्थाहरु र सार्वजनिक यातायातका क्षेत्रमा गएको कर्जाको पुनरतालिकीकरण÷पुनरसंरचना बढी भएको बैंकरहरु बताउँछन् । जसमध्ये होटल क्षेत्रमा प्रवाहित शतप्रतिशत कर्जाको पुनरतालिकीकरण भएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

होटल क्षेत्रमा बैंक तथा वित्त कम्पनीहरुले चालु आर्थिक वर्षको ५ महिनासम्म १ खर्ब ६१ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह गरेका छन् ।

कोभिड–१९ को प्रभावमा होटल क्षेत्र पुर्णरुपले हालसम्म पनि संचालनमा आउन नसकेको कारणले यस क्षेत्रका ऋणी व्यवसायीले कर्जाको पुनरतालिकीकरण गराएका संघका अध्यक्षसमेत रहेका सानिमा बैंकका सीइओ दाहालले बताए ।

‘अपवाद बाहेक होटल क्षेत्रमा प्रवाहित अधिकांश कर्जाको नै पुनरसंरचना/पुनरतालिकीकरण भएको छ, जसमा ठुला होटलहरु त शतप्रतिशत नै पर्छन्’ दाहालले क्लिकमाण्डूसँग भने, ‘राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले कुल ब्याजको १० प्रतिशत ब्याज भुक्तानी भएका क्षेत्रका कर्जाको पुनरतालिकीकरण गरेका छन् ।’

राष्ट्र बैंकको निर्देशनअनुसार ऋणीको व्यवसायीक योजनासहित पुनरसंरचना÷पुनरतालिकीकरणको आग्रहमा पुस मसान्तसम्म भुक्तानी हुनु पर्ने कुल ब्याजमा १० प्रतिशत भुक्तानी भएमा त्यस्तो कर्जाको पुनरतालिकीकरण गर्न पाउँने व्यवस्था थियो । जसअनुसार विकास बैंकहरुले समेत सबैभन्दा बढी पयर्टन क्षेत्रको होटल व्यवसायमा प्रवाहित कर्जाको नै पुनरतालिकीकरण गरेको डेभलपमेन्ट बैंकर्स एसोशियसनका अध्यक्ष गोविन्द ढकालले बताए ।

‘आर्थिक तथा मानविय गतिविधि सामान्य हुँदै गएपनि पर्यटन क्षेत्रका व्यवसायी अझै पनि बैंकमा कर्जाको साँवा ब्याज भुक्तानी गर्न सक्ने अवस्थामा आइपुगिसकेका छैनन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘ एकिन तथ्यांक प्राप्त नभए पनि हायरपर्चेज, शैक्षिक संस्था र पयर्टन क्षेत्रमा प्रवाहित कर्जाको पुनरसंरचनापुनरतालिकीकरण बढी भएका छन् ।’

अन्य बैंकहरुमा पनि पुस मसान्तमा पुनरसंरचना/पुनरतालिकीकरण गराउने अधिकांश पर्यटन क्षेत्रका होटल व्यवसायीहरु र शैक्षिक संस्थाहरु बढी भएको उनले जानकारी दिए ।

होटल क्षेत्रका व्यवसायीले कर्जाको पुनरतालिकीकरण २ वर्षसम्मको गराए

राष्ट्र बैंकले पयर्टन क्षेत्रलाई कोभिड प्रभावितमध्ये अति प्रभावित क्षेत्रमा वर्गिकरण गरेको छ । पयर्टन क्षेत्रका होटल व्यवसायीले लिएको कर्जाको ६ महिनादेखि २ वर्षसम्म कर्जाको पुनरतालिकीकरण गराएको होटल एसोसियशन नेपाल (हान)का उपाध्यक्ष विनायक शाक्यले बताए ।

‘बैंकहरुले होटल क्षेत्रका व्यवसायीको आग्रहमा राष्ट्र बैंकको निर्देशनअनुसार नै सहुलियत दिएका छन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘बैंकमा राम्रोसँग बुझाएर कर्जाको पुनरतालिकीकरण गर्न आग्रह गर्ने सबै होटल व्यवसायीहरुको कर्जाको पुनरतालिकीकरण ६ महिनादेखि २ वर्षसम्मको लागि भएको छ ।’

व्यवसायीक योजना र कोरोना प्रभावको मुल्यांकन गरेर बैंकहरुले सहजै कर्जाको पुनरतालिकीकरण गरिदिएको उनको भनाइ छ ।

तर, कारोना संक्रमण अगावैबाट बैंकबाटै साँवा ब्याज भुक्तानी नगर्ने ऋणी व्यवसायीले भने यस प्रकारको सहुलियत नपाएको उनले जानकारी दिए ।

‘बैंकहरुले कोरोना संक्रमण शुरु हुन अघिबाटै डिफल्ट भएको कर्जालाई मात्र अहिले कर्जा असूली गरिरहका छन्, जुन उनीहरुको गर्न पाउने कुरा हो,’ उनले थपे, ‘तर त्यस्ता व्यवसायीहरु अहिले कोभिडको बाहना गरेर सहुलियत उपयोग गर्न खोजि रहेका छन् ।’

कोरोना संक्रमण शुरु भएपछि डिफल्ट भएका होटल क्षेत्रका कर्जाको असुली प्रक्रियामा कुनै पनि बैंक नगएको उनले जानकारी दिए ।

होटल क्षेत्रको कर्जामा नै ८ अर्ब रुपैयाँ बढी प्रोभिजन

बैंकहरुले पुनरसंरचना/पुनरतालिकीकरण गरिएको कर्जालाई वाच लिस्टमा राखेर ५ प्रतिशत पोभिजन गर्नु पर्ने राष्ट्र बैंकको निर्देशन छ । कर्जाको साँवा ब्याज भुक्तानी ३ महिनासम्म नभएमा त्यस्तो कर्जालाई वाचलिस्टमा राखेर प्रोभिजन गर्नुपर्ने व्यवस्था पुरानै हो ।

तर, राष्ट्र बैंकले कोभिड प्रभावित क्षेत्रको कर्जाको साँवा ब्याज भुक्तानी ३ महिना अघिदेखिकै बक्यौता भएपनि पुनरसंरचना÷पुनरतालिकीकरण कर्जालाई वाचलिस्टमै राखेर ५ प्रतिशत प्रोभिजन गर्ने निर्देशन दिएको छ । नियामकको निर्देशन अनुसार बैंकहरुले पुनरतालिकीकरण गर्दा प्रोभिजन बढेको बैंकर्स संघका अध्यक्ष दाहालले बताए । जसमध्ये होटल क्षेत्रमा प्रवाहित शतप्रतिशत कर्जामा ५ प्रतिशत प्रोभिजन भएको हुनसक्ने अनुमान उनको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंसिर मसान्तसम्म होटल क्षेत्रमा २७ वाणिज्य बैंक, १९ विकास बैंक र २२ फाइनान्स कम्पनीहरुले १ खर्ब ६१ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह गरेका छन् । जसको शत प्रतिशत पुनरसंरचना/पुनरतालिकीकरण भएर ५ प्रतिशत कर्जा नोक्सानी वापत खर्च गर्दा ८ अर्ब ९ करोड २२ लाख रुपैयाँ बैंकहरुले प्रोभिजन गरेको देखिन्छ ।

मंसिर मसान्तसम्म वाणिज्य बैंकहरुले १ खर्ब ४५ अर्ब १८ करोड रुपौयाँ होटल क्षेत्रमा कर्जा प्रवाह गरेका छन् । जसको शतप्रतिशत पुनरतालिकीकरण भएर ५ प्रतिशत प्रोभिजन गर्दा ७ अर्ब २५ करोड ९२ लाख रुपैयाँ खर्च कर्जा नोक्सानीमा बढेको छ ।

होटल क्षेत्रमा सो अवधिमा विकास बैंकहरुले १३ अर्ब ३४ करोड रुपैयाँ बढी कर्जा प्रवाह गरेको छन् । पुनरतालिकीकरण गरेर ५ प्रतिशत पोभिजन गर्दा ६६ करोड ७४ लाख रुपैयाँ कर्जा नोक्सानीमा खर्च विकास बैंकहरुले गरेका छन् ।

साथै, फाइनान्स कम्पनीहरुले मंसिर मसान्तसम्म होटल क्षेत्रमा गरेको ३ अर्ब ३१ करोड रुपैयाँ बढी कर्जाको शत प्रतिशत पुनरतालिकीकरण हुँदा १६ करोड ५६ लाख रुपैयाँ कर्जा नोक्सानीमा खर्च गरेको देखिन्छ ।

मंसिर मसान्तसम्मको कर्जा प्रोभिजन

राष्ट्र बैंकको तथ्यांक अनुसार गत मंसिर मसान्तसम्म बैंक तथा वित्त कम्पनीले कुल ३४ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा प्रवाहित कर्जामा बैंक तथा वित्त कम्पनीले ८३ अर्ब ७७ करोड रुपैयाँ बढी कर्जा नोक्सानी वापत प्रोभिजन गरेका छन् ।

जसमा संचालनमा रहेका २७ वाणिज्य बैंकले मंसिर मसान्तसम्म ३० खर्ब ३७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थियो । जसमा ७१ अर्ब ३४ करोड रुपैयाँ बढी प्रोभिजन बैंकहरुले गरेका छन् ।

मंसिर मसान्तसम्म विकास बैंकहरुले ३ खर्ब २१ अर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका छन् । सो अवधिमा प्रवाहित कर्जामा विकास बैंकहरुले ५ अर्ब ७१ करोड रुपैयाँ प्रोभिजन गरेका छन् ।

साथै, सो अवधिमा वित्त कम्पनीहरुले ७६ अर्ब ९२ करोड रुपैयाँ बढी कर्जा प्रवाह गरेका छन् । जसमा ६ अर्ब ७९ करोड रुपैयाँ प्रोभिजन गरेका छन् ।

लगानी र प्रोभिजन

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ५ महिनासम्म १ खर्ब ४५ अर्ब १८ करोड ४० लाख रुपैयाँ होटल क्षेत्रमा कर्जा प्रवाह गरेको छ । यस क्षेत्रमा प्रवाहित कर्जाको पुस मसान्तमा शतप्रतिशत नै पुनरतालिकीकरण हुँदा त्यसमा बैंकहरुले कर्जा नोक्सानीको व्यवस्था अनुसार ७ अर्ब २५ करोड ९२ लाख रुपैयाँ प्रोभिजन गरेको देखिन्छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर मसान्तसम्म ३ वटा वाणिज्य बैंकले १० अर्ब रुपैयाँ बढी, १० वटा वाणिज्य बैंकले ५ अर्बदेखि १० अर्ब रुपैयाँसम्म र १४ वटा वाणिज्य बैंकले ५ अर्ब रुपैयाँसम्म होटल क्षेत्रमा कर्जा प्रवाह गरेका छन् ।

पुस मसान्तमा होटल क्षेत्रमा प्रवाहित शतप्रतिशत कर्जाको पुनरतालिकीकरण हँुदा सबैभन्दा बढी एनआइसी एशिया बैंकले प्रोभिजन गरेको देखिन्छ । बैंकले मंसिर मसान्तसम्म होटल क्षेत्रमा १२ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा प्रावाहित कर्जा शतप्रतिशत पुनरतालिकीकरण भइ ५ प्रतिशत प्रोभिजन गर्दा बैंकले ६२ करोड २७ लाख रुपैयाँ कर्जा नोक्सानीमा खर्च गरेको देखिन्छ ।

यस्तै, प्रभु बैंकले मंसिर मसान्तसम्म होटल क्षेत्रमा ११ अर्ब १८ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसमा ५ प्रतिशत प्रोभिजन गर्दा बैंकले ५५ करोड ९२ लाख रुपैयाँ कर्जा नोक्सानीमा खर्च गरेको देखिन्छ ।

साथै, नेपाल इन्भेष्मेन्ट बैंकले मंसिर मसान्तसम्म होटल क्षेत्रमा १० अर्ब ३५ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसमा ५ प्रतिशत प्रोभिजन गर्दा बैंकले ५१ करोड ७७ लाख रुपैयाँ कर्जा नोक्सानीमा खर्च गरेको देखिन्छ ।

यसैगरी, मंसिर मसान्तसम्म होटल क्षेत्रमा ग्लोबल आइएमई बैंकले ९ अर्ब २१ करोड कर्जा प्रवाह गरी ४६ करोड ६ लाख रुपैयाँ प्रोभिजन, राष्ट्रिय वाणिज्य बैंकले ८ अर्ब ४३ करोड कर्जा प्रवाह गरी ४२ करोड ४१ लाख रुपैयाँ प्रोभिजन, मेगा बैंकले ७ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३५ करोड ९४ लाख रुपैयाँ प्रोभिजन र प्राइम बैंकले ६ अर्ब ८३ करोड कर्जा प्रवाह गरी ३४ करोड १९ लाख रुपैयाँ प्रोभिजन गरेका छन् ।

सो अवधिमा होटल क्षेत्रमा नेपाल बैंकले ६ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३४ करोड ४१ लाख रुपैयाँ प्रोभिजन, हिमालयन बैंकले ६ अर्ब ५ करोड कर्जा लगानी गरी ३० करोड २८ प्रोभिजन, कुमारी बैंकले ५ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरी २८ करोड २६ लाख रुपैयाँ प्रोभिजन र एनएमबी बैंकले ५ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरी २७ करोड ४० लाख रुपैयाँ प्रोभिजन गरेको छ ।

साथै, सो अवधिमा होटल क्षेत्रमा सिद्धार्थ बैंकले ५ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरी २६ करोड ९३ लाख रुपैयाँ प्रोभिजन र बैंक आफ काठमाण्डूले ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरी २५ करोड ३३ लाख रुपैयाँ प्रोभिजन गरेका छन् ।

यसैगरी, होटल क्षेत्रमा सो अवधिमा नबिल बैंकले ४ अर्ब ९४ करोड कर्जा प्रवाह गरी २४ करोड ७२ लाख प्रोभिजन, नेपाल एसबीआई बैंकले ४ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरी पुस मसान्तमा २३ करोड ८१ लाख रुपैयाँ प्रोभिजन गरेको देखिन्छ ।

साथै, मंसिर मसान्तसम्म एभरेष्ट, लक्ष्मी, सानिमा, कृषि विकास, माछापुच्छ्रे, सेञ्चुरी, सनराइज, नेपाल बंगलादेश, एनसीसी, सिभिल, सिटिजन र स्याण्डर्ड चार्डर्ट बैंकले होटल क्षेत्रमा १ अर्ब रुपैयाँ माथि ४ अर्ब रुपैयाँसम्म कर्जा प्रवाह गरी पुस मसान्तसम्म ७ करोड रुपैयाँदेखि १९ करोड ८९ लाख रुपैयाँसम्म प्रोभिजन गरेको देखिन्छ ।


पुष्प दुलाल