चिनी आयातमा कडाइ गर्दा इन्दुशंकर सुगर मिलको बिक्री १ अर्बले बढ्यो



काठमाडौं । इन्दुशंकर सुगर मिलको आम्दानी १ अर्ब रुपैयाँले वृद्धि भएको छ । सन् २०१९ मा २ अर्ब १४ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०२० मा १ अर्बले आम्दानी बढाएर ३ अर्ब १३ करोड ७६ लाख रुपैयाँ पुगेको छ । कम्पनीले सन् २०१८ मा १ अर्ब ९ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सरकारले चिनी आयातमा भन्सार शुल्क सन् २०१८ देखि १५ प्रतिशतबाट बढाएर ४० प्रतिशतसम्म पुर्याएसँगै स्वदेशी उत्पादनले प्रतिष्पर्धात्मक बजारमा बलियो उपस्थिती बनाउन सफल भएको कम्पनीको भनाइ छ ।

कम्पनीले नेपालमा चिनी उत्पादनका लागि आवश्यक पर्ने उखु समेत अभाव भएको र वित्तीय अवस्था पनि अस्थिर भएको भन्दै उखु किसानलाई भुक्तानी गर्नुपर्ने रकम पनि समयमा भुक्तान गर्न नसकिएको समेत बताएको छ ।

कम्पनीले सन् २०१८ र २०१९ मा किसानलाई रकम भुक्तानी नगरेका कारण अहिले उखु पाउन समस्या भइरहेको समेत बताएको छ । जसका कारण पछिल्ला २ वर्षमा ६५ देखि ७५ प्रतिशत क्षमतामा सञ्चालन भइरहेको कम्पनी सन् २०२० मा ५० प्रतिशत क्षमतामा मात्रै सञ्चालन भएको बताएको छ ।

इन्दुशंकर चिनी उद्योग लिमिटेड सन् १९८४ मा पब्लिक लिमिटेड कम्पनीका रुपमा स्थापना भएको थियो । कम्पनी नेपालमा चिनी उत्पादन गर्ने ठूला उद्योगमध्येमा पर्छ । राजहंस ब्राण्डका नाममा उत्पादन हुने एम–३० ग्रेडमा कम्पनीले चिनी उत्पादन गर्दै आएको छ ।

पारिवारिक लगानी भएको यो कम्पनीमा राजेश कुमार केडिया र उनको परिवारका सदस्यको स्वामित्व छ । सर्लाहीको हरिवनमा रहेको कम्पनीको उद्योगले एक दिनमा ४५ सय टन चिनी उत्पादनको क्षमता राख्छ ।

कम्पनीले हालै १ अर्ब ७५ करोड ७५ लाख रुपैयाँ ऋणको रटिङ गराएको छ । कम्पनीलाई रेटिङ संस्था इक्रा नेपालले एलबी प्लस संकेत प्रदान गरेको छ । जसमा कम्पनीले ४ करोड १० लाख रुपैयाँ लङ टर्म लोङ छ भने फन्ड बेस्ड सर्ट टर्म लोन १ अर्ब ३३ करोड ७५ लाख र नन फन्ड फेस्ड सर्ट टर्म लोन १ करोड रुपैयाँ लोन छ ।


क्लिकमान्डु