शिक्षा र सञ्चार क्षेत्रमा तलब-ज्याला घट्यो, कामदार पनि घटे



काठमाडौं । कोरोना महामारीको असर अझै सकिएको छैन । एकाध व्यवसाय सामान्यरुपमा सञ्चालन हुन थाले पछि अधिकांश उद्योगहरु अझै पूर्णरुपमा सञ्चालनमा आउन सकेका छैनन् । जसको असर उनीहरुले खर्च गर्ने तलब र ज्यालामा पनि देखिएको छ ।

लकडाउनका कारण उद्योग व्यवसाय बन्द हुँदा १५ करोड रुपैयाँदेखि ५० करोड रुपैयाँसम्म पुँजी भएका मझौला उद्योग व्यवसायमा २८.५१ प्रतिशतले रोजगारी गुमाएका छन् ।

गत असार मसान्तसम्म मझौला उद्योग व्यवसायले दिएको कुल रोजगारीमा १६.९३ प्रतिशतले कटौति गरेर ८३.९३ प्रतिशतलाई मात्र रोजगारी दिएको थियो । तर मंसिर मसान्तसम्म ७१.४९ प्रतिशतलाई मात्र रोजगारी दिएर २८.५१ प्रतिशतको रोजगारी कटौती गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षण गरेको थियो । जसमा विभिन्न क्षेत्रका उद्योग/व्यवसाय सञ्चालन गर्ने साना–ठूला गरी जम्मा ६७४ उद्योग÷व्यवसायहरु सर्वेक्षणमा समावेश भएका थिए ।

सो सर्वेक्षणको प्रतिशवेदन अनुसार गत असारको तुलनामा उद्योग÷व्यवसायहरुले प्रदान गर्ने रोजगारीमा सुधार भएको देखिए पनि कोभिड महामारी अघिको अवस्थामा भने फर्कन सकेको छैन ।

कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग÷व्यवसायहरुले मंसिरमा ८७.५ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको छ ।

तर, मझौला उद्योगहरुले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ । मझौला उद्योगको नमुना संख्यामा होटल तथा रेष्टुरेन्ट क्षेत्रका उद्योग/व्यवसायहरुको बाहुल्यता रहेकाले मझौला उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएको राष्ट्र बैंकको अनुमान छ ।

त्यस्तै, गत असारको तुलनामा उद्योग÷व्यवसायहरुको औसत तलब–ज्याला खर्चमा वृद्धि भएको पाइएको छ । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च मंसिरमा आइपुग्दा ७०.४ प्रतिशत पुगेको देखिएको छ ।

यद्यपि असारको तुलनामा खानी तथा उत्खनन, सञ्चार र शिक्षा क्षेत्रका उद्योग÷व्यवसायहरुको औसत तलब–ज्याला खर्च घटेको सो सर्वेक्षणको प्रतिवेदनले देखाएको छ ।

गत असार मसान्तमा सञ्चार क्षेत्रको तलब—ज्याला खर्च ६९.६४ प्रतिशत थियो । जुन मंसिर मसान्तमा आइपुग्दा घटेर ५९.०९ प्रतिशतमा सीमित भएको छ ।

शिक्षा क्षेत्रको तलब–ज्याला खर्च गत असार मसान्तमा ७४ प्रतिशत थियो । जुन मंसिर मसान्तमा आइपुग्दा ५३.९७ प्रतिशतमा सीमित भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

साथै, खानी तथा उत्खनन क्षेत्रको गत असार मसान्तमा तलब–ज्याला खर्च ८३.३३ प्रतिशत थियो । जुन मंसिर मसान्तमा आइपुग्दा ८१.२५ प्रतिशतमा झरेको छ । यद्यपि गत असारको तुलनामा उद्योग÷व्यवसायको आकार अनुसार सबै प्रकारका उद्योग÷व्यवसायको औसत तलब–ज्याला खर्च वृद्धि भएको पाइएको छ ।


क्लिकमान्डु