भारतमा बिजुली बिक्रीका लागि प्राधिकरणले प्रक्रिया थाल्यो



काठमाडौं । आगामी असारदेखि कात्तिक मसान्तसम्म बढी भएको बिजुली बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने ध्येयका साथ प्राधिकरणले भारतीय बजारमा बिजुली बिक्री गर्न लागेको हो ।

विवरणहरुमा जनाइए अनुसार प्राधिकरणले जुनदेखि सेप्टेम्बरसम्म  २५ मेगावाटसम्म विद्युत् उपलब्ध गराउने गरी  बोलपत्रमा सहभागी भएको छ ।

एनभिभिएन नेपालमा बिजुली उपलब्ध गराउने भारतको सरकारको कम्पनी हो । सोही कम्पनीले ढल्केबर हुँदै नेपालमा बिजुली आपूर्ति गर्दै आएको छ । सोही कम्प्नी मार्फत नै नेपालले पनि बिजुली भारतीय बजारमा पठाउने ध्येयका साथ बोलपत्र प्रक्रियामा सहभागी भएको हो ।

प्राधिकरणका अनुसार विद्युत् नियमन आयोगको स्वीकृति सँगै बोलपत्र प्रक्रियामा सहभागी भएको हो । जानकारी अनुसार प्राधिकरणले टनकपुरबाट नेपालमा आयत गरेको मूल्य नै राखेर बोलपत्रमा सहभागी भएको । टनकपुर बिन्दुबाट नेपालले हाल ८५ मेगावाट बिजुली आयात गरिरहेको छ ।

पछिल्लो पटक शुक्रबार मात्रै थप १५ मेगावाट बिजुली सोही बिन्दुबाट आयात गर्ने गरी सहमति भएको छ । सो बिन्दुबाट प्रतियूनिट ६ रुपैयाँ ६२ पैसामा नेपालले बिजुली आयात गरिरहेको छ । सोही मूल्यमा नै नेपालले बिजुली बिक्रीका लागि बोलपत्रमा सहभागी भएको हो ।

प्राधिकरणका अनुसार टनकपुर बिन्दुको मूल्यका आधारमा नै बोलपत्र प्रक्रियामा सहभागी भएको छ । सो मूल्यमा प्रसारण खर्च समेत जोडिनेछ ।

निर्वतमान ऊर्जा मन्त्री वर्षमान पुनले भारतलाई वर्षायामको ५० मेगावाटसम्म बिजुली निर्यातका लागि सहमति भएको यसअघि नै जानकारी दिएका थिए ।

देशभित्र उद्योगी व्यवसायीले दैनिक जसो बिजुली मागिरहेको बेला पाइरहेका छैनन् । तर, सरकारले आगामी असारदेखि भारतलाई २४ सै घण्टा बिजुली बिक्री गर्ने तयारी थालेको भन्दै आलोचना पनि भइरहेको छ ।

आगामी जुलाइदेखि लागू हुने अक्टोवरसम्म कूल ४ महिनाका लागि नियमित रुपमा ३० मेगावाट बिजुली बिक्री गर्ने सहमति यसअघि नै भएको छ । गत मंसिर २५ गते भएको नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठकमा उक्त सहमति भएको बताइन्छ ।

ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार नेपालका तर्फबाट विद्युत् बिक्रीको मागप्रशस्त भएको छ । भारतसँग बिजुली व्यापारको ढोका खोलाउने गरी उक्त निर्णय भएको थियो ।

विशेषगरी भारतको अर्ध सरकारी कम्पनी पिटिसिएनमार्फत् बिजुली बिक्री गर्न लागिएको हो । नेपालले भने सरकारी स्वामित्वको एनभिभिएन मार्फत बिजुली आयात गर्दै आएको छ । त्यस्तै, पिटिसिएन मार्फत पनि बिजुली खरिद गरेको छ ।

जानकारीअनुसार भारतलाई ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन मार्फत २० मेगावाट र टनकपुरबाट १० मेगावाट गरी कूल ३० मेगावाट बिजुली बिक्री गरिनेछ । अन्तर्राष्ट्रिय विद्युत् व्यापारको ढोका खोल्ने ध्येयका साथ भारतीय पक्षसँग त्यस्तो सहमति भएको ऊर्जा मन्त्रालयले जनाएको थियो ।

विशेष गरी रातको समयमा वर्षाकालमा १५० मेगावाटसम्म बिजुली खेर गएको थियो । माथिल्लो तामाकोशी लगायतका आयोजनाको बिजुली प्रसारण प्रणालीमा जोडिएपछि झनै ठूलो मात्रामा बिजुली खेर जाने अवस्था आउनेछ ।

गत चैतदेखि कोरोनाविरुद्धको लडाईका लागि सरकारले गरेको लकडाउन तथा निषेधाज्ञाका कारण उद्योग व्यवसाय नचल्दा ठूलो मात्रामा बिजुली खेर गएको थियो ।

खेर गएको मध्ये केही बिजुली सामान्य रुपमा रक्सोल परवानीपुर प्रसारण लाइन मार्फत केही मात्रामा बिजुली भारत पठाइएको थियो ।

भारतबाट नेपालले बढी विद्युत् माग भएको समयमा झण्डै ५०० मेगावाटसम्म विद्युत् खरिद गर्दै आएको छ । ढल्केबर प्रसारण लाइन मार्फत आउने बिजुली सस्तो भएपनि बिहार, उत्तर प्रदेश तथा उत्तराखण्डबाट आयात हुने बिजुलीको भाऊ भने बढी रहेको छ ।

जानकारी अनुसार , नेपाल भित्रै बिजुली खपत हुन सक्ने वातावरण रहेको छ । चिनियाँ लगानीको होङ्सी सिमेन्टले मात्रै ८० मेगावाट बिजुली मागेको छ । प्रसारण लाइन बन्न नसक्दा सो उद्योगले बिजुली पाएको छैन । यस्तै हेटौडा, भैरहवा तथा विरगन्ज औद्योगिक करिडोरमा समेत झण्डै ५०० मेगावाट बिजुलीको माग छ ।

यस्तै विराटनगरमा पनि प्रसारण लाइन निर्माण भएको खण्डमा झण्डै ३०० मेगावाट बिजुली खपत हुन सक्छ । त्यसतर्फ सरकारले कुनै ध्यान नदिएको उद्योगी व्यवसायीको भनाइ छ ।


पुष्प दुलाल