क्लोज आउटको समस्या समाधान गर्न अक्सन मार्केट आवश्यकः राधा पोखरेल



पुँजीबजार विकास तथा विस्तारका लागि भन्दै नेप्सेले अनलाइन प्रणालीको विकास गर्यो । त्यसका लागि नेप्सेका अनलाइन सिस्टमको विकास गर्ने भेन्डर कम्पनी वाइकोले १९ करोड रुपैयाँभन्दा बढी रकममा टेण्डरमा पार्यो । जब नेप्सेले टिएमएस तयार पार्यो, त्यसमा लगानीकर्ताहरु दिनमा दुई, रातमा चार गुणाका दरले बढ्न थाले ।

अहिले पनि यो क्रम रोकिएको छैन । कोरोनापछि अनलाइनबाटै सेयर कारोबार हुन थालेपछि यो क्रम झनै बढेको छ ।

समयम–समयमा टिएमएसमा आउने प्रविधिक कठिनाइले लगानीकर्तालाई धेरै नै समस्या सिर्जना गर्ने गरेको छ । तर टिएमएसका कारण पछिल्लो समयमा समग्र धितोपत्र बजारको मुहार हँसिलो बनाएको छ । त्यतिमात्रै होइन यो सिस्टम पुँजी बजार विकासको लागि कोशेढुंगा नै साबित भएको छ ।

तर दुःखका साथ भन्नु पर्दा यो सिस्टमले आम लगानीकर्तालाई ‘क्लोजआउट’ को समस्याबाट अछुतो राख्न सकेन । लगानीकर्ताहरुले अहिले यो विषयले धेरै नै चिन्तित बनाएको छ । त्यसैले यसको उत्तम बिकल्पका रुपमा धितोपत्र कारोबारको दोस्रो बजारमा अक्सन मार्केट संचालनमा ल्याउनुको बिकल्प देखिँदैन ।

केही दिनदेखि अझ बढी आम लगानीकर्ता क्लोज आउटको समस्याबाट प्रताडित भइरहेका छन् । यो कुरा अहिले विभिन्न आम संचारमाध्यम तथा सामाजिक सञ्जालमा आइनै रहेका छन् । यो समस्याबाट लगानीकर्तालाई कसरी बाहिर निकाल्न सकिन्छ भनेर बारम्बार कलम चलाउँदै आइरहेको कुरा पुनः स्मरण गर्न चाहन्छु ।

धितोपत्र बोर्डमा भिष्मराज ढुंगाना अध्यक्ष भएर आएपछि धितोपत्र बजारमा सुधारका धेरै कामहरु भइरहेका छन् । यो विषय आम लगानीकर्ताले बुझेका छन् । अध्यक्षले थालनी गर्नु भएको राम्रो कामको प्रशंसा गर्न म मात्रै होइन की कुनै पनि लगानीकर्ता कदापी चुक्ने छैनन् ।

तर नियामक निकायले नै यो क्लोज आउटको अल्झो थापेर लगानीकर्तालाई पासोमा पारेर प्राप्त हुने राजस्व सरकारको लागि ‘हात्तिको मुखमा जिरा’ बराबर हो । यसबाट राज्यले यसबाट राजस्वको अंकमा पनि कुनै सुधार ल्याउन सक्ने छैन । त्यतिमात्रै नभएर यही पुँजीबजारलाई आफ्नो सर्बस्व थानेर, बजारको विकास र विस्तारको अपेक्षा गरेर बसेका, बियरिस टे«न्डमा पनि एक दिन त बजार अवश्य बढ्छ भनेर यही बजारलाई हेरेर बसेका आम लगानीकर्ताको यतिबेला बिचल्ली, बिल्लिबाठ’ अझ भनौं ‘गलपासो’ नै भएको छ ।

यो मामलामा नेप्से एक कदम अगाडि छ । नेप्सेबाट भएको यो राम्रो कामको सबैले मुक्तकण्ठले प्रशंसा गर्न समस्या भएन । किनभने धितोपत्र बोर्डमा नेप्सेले महिनौं अगाडि बनाएर पठाई सकेको ‘अक्सन मार्केट संचालन कार्यबिधि’लाई यथाशिघ्र कार्यान्वायनमा ल्याउने वातावरण मिलाउन आवश्यक छ । यो गरेको खण्डमा नेप्से र बोर्डको गति समान हुने छ ।

यसले ढुंगाना बोर्डको अध्यक्ष मात्र होईन लगानीकर्ताको मन मष्तिस्कमा ‘भिष्मपितामह’ बनेर बस्न सक्नुहुनेछ । बोर्ड अध्यक्ष ढुंगानाले यो आँट गर्ने हो भने क्लोज आउटको समस्या छिन भरमै ‘जादुको छडी’ जसरी ‘छुमन्तर’ हुने छ । त्यसको लागि केवल बोर्ड र बोर्डको नेतृत्वले आँट गर्नुपर्ने छ ।

पूर्वअर्थमन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैंकको डेपुटी गनर्भर शिवराज श्रेष्ठको संयोजकत्वमा गठन गरेको समितिले दिएको ५८ बुँदे सुझावको जगमा उभिएर यसको मूल मर्म, भावना र गति अनुसार नै छिटो छरितो रुपमा लगानीकर्तालाई जोखिम रहित सेवा सुविधा दिने हेतुले अघि सारिएको अक्सन मार्केटलाई कार्यान्वायनमा ल्याउन विलम्ब नगरियोस् । यसैमा आम लगानीकर्ताको भाग्य र भविश्य जोडिएको छ ।

यति भन्दै त्यो दिनको पर्खाइमा आम लगानीकर्ता बसेका छन्, कि जुन दिन जान अन्जानमा आफू क्लोज आउटमा परेको थाहा पाउने छन् ती लगानीकर्ताले अक्सन मार्केटबाट सेयर खरिद गरी आफ्नो राफसाफको तरतम्य मिलाउने छन् ।


पुष्प दुलाल