निजीले आनाकानी गर्दा सरकारी बैंकमा ह्वात्तै बढ्यो निक्षेप, सातामै साढे ६ अर्ब थपियो



काठमाडौं । पुसको दोस्रो सातामात्र बैंकहरुको निक्षेप १०.०२ प्रतिशतले बढेको छ ।

पुस १० गतेसम्म ३७ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका २७ वाणिज्य बैंकहरुले एक साता भित्र अर्थात् पुस १७ गतेसम्म २६ अर्ब ६६ करोड रुपैयाँ थप गरी ३७ खर्ब ५५ अर्ब रुपैयाँ पुर्याएका छन् । एक सातामा थप भएको कुल निक्षेपमा सरकारी बैंकको हिस्सामात्र २४.६१ प्रतिशत छ ।

राष्ट्र बैंकद्वारा उपलब्ध तथ्यांक अनुसार ३ वटा सरकारी बैंकले गत असार मसान्तयता कुल ५ खर्ब २२ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । जसमध्ये पुसको दोस्रो सातामात्र ६ अर्ब ५६ करोड रुपैयाँ निक्षेप थप गरेका हुन् ।

गत असार मसान्तसम्म राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकले कुल ५ खर्ब १९ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । जसमा यी बैंकहरुको कुल निक्षेप पुस १० गतेसम्म ५ खर्ब १६ अर्ब ४२ करोड रुपैयाँ थियो ।

यो आर्थिक वर्ष कुन बैंकले कति बिजनेश गरे ? (सूचिसहित)

निजी क्षेत्रका बैंकहरुले साधारण बचतकर्ताको निक्षेपलाई बेवास्ता गर्दा पुस लागेसँगै त्यस्ता निक्षेप सरकारी बैंकमा आउन थालेको सरकारी बैंकका अधिकारीहरु बताउँछन् ।

नेपाल बैंकले पुसको दोस्रो सातामा मात्र १ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । जब कि बैंकको गत असार मसान्तमा १ खर्ब ४२ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा पुस पहिलो सातासम्म निक्षेप संकलन २३ करोड रुपैयाँले घटेर १ खर्ब ४२ अर्ब ७५ अर्ब रुपैयाँमा सीमित भइसकेको थियो । बैंकले पुस १० गतेयता मात्र १ अर्ब ५२ करोड रुपैयाँ निक्षेप थप गरेको छ ।

अधिक तरलता भएपछि साधारण निक्षेपकर्ताको निक्षेप निजी बैंकहरुले निरुत्साहित गरेपछि सरकारी बैंकमा साधारण निक्षेपकर्ताको पैसा बढेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण अधिकारीले बताए ।

‘हामीले ठुला निक्षेपकर्ता र संस्थागत निक्षेपकर्ताको भन्दा साना निक्षेपकर्तालाई बढी प्राथमिकतामा राखेर उनीहरुको निक्षेप लिइरहेका छौँ,’ अधिकारीले क्लिकमाण्डूसँग भने, ‘अरु बैंकहरुले बचतकर्तालाई निरुत्साहित नै गर्ने गरी न्युन ब्याज दिएका छन् । त्यसको तुलनामा नेपाल बैंकले केही प्रतिशत बढी ब्याज दिएको छ, केही प्रतिशत बढी ब्याज पाएपछि क्लोजिङको समयमा पैसा गर्ने साधारण निक्षेपकर्ता बढेका छन् ।’

फिक्स्ड डिपोजिट र संस्थागत निक्षेप नलिँदा असारयता मंसिर मसान्तसम्म बैंकको निक्षेप अन्य बैंकको तुलनामा बढ्न नसकेको उनले जानकारी दिए ।

पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले साढे ५ महिनामा गरेको निक्षेप संकलनको ८६.२३ प्रतिशत हिस्सा एक सातामा नै संकलन गरेको छ । बैंकले गत असार मसान्तमा २ खर्ब ३२ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । जुन गत पुस १० गतेसम्म ५३ करोड रुपैयाँले बढेर २ खर्ब ३३ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।

र बैंकले पुस १७ गतेसम्म अर्थात् एक सातामा नै ३ अर्ब ३२ कररोड रुपैयाँ निक्षेप थप गरेर २ खर्ब ३६ अर्ब ८३ करोड रुपैयाँ पुर्याएको छ ।

कर्जाको माग सुस्ताएर लगानीयोग्य रकम बैंक बढ्दा संस्थागत निजी बैंकहरुले संस्थागत निक्षेपकर्ताको पैसा राख्न बैंकले आनाकानी गर्दा सरकारी बैंकले बाध्यात्मक रुपमा राखी निक्षेप बढेको राष्ट्रिय वाणिज्य बैंकका डेपुटी सीइओ कविराज अधिकारीले बताए ।

‘अहिले अरु बैंकहरुले संस्थागत निक्षेपमा त्यति चासो दिएका छैनन् त्यही भएर निक्षेपकर्ता सरकारी बैंकमा आएका छन्,’ अधिकारी क्लिकमाण्डूसँग भने, ‘पुस लागेपछि नै अर्ब बढी निक्षेप राख्ने संस्थागत निक्षेपकर्ता आएका छन्, त्यसनै बढाएको हो ।’

साथै, पुसको लागेपछि पेन्सन सरकारी बैंक खातामा महालेखाले पठाउँदा पनि राष्ट्रिय वाणिज्य बैंकमा पुसको दोस्रो साता र तेस्रो साता निक्षेप ह्वातै बढ्ने उनले जानकारी दिए ।

यसैगरी कृषि विकास बैंकले गत असार मसान्तमा १ खर्ब ४३ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । जुन पुसको पहिलो सातासम्म ३ अर्ब ७२ करोड रुपैयाँले घटेर १ खर्ब ४० अर्ब १६ करोड रुपैयाँमा सीमित भएको थियो ।

तर पुसको दोस्रो साता अर्थात् १० गतेदेखि १७ गतेबीचमा बैंकले १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप थप गरी कुल निक्षेप १ खर्ब ४१ अर्ब ८८ करोड कायम गरेको छ ।

पुस लागेपछि स्थानीय सरकारी कार्यक्रमको खर्च सरकारी बैंकमा पठाउँदा निक्षेप ह्वातै बढेको कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृति अलिन उपाध्यायले बताए ।

‘पछिल्लो साता स्थानीय सरकारको कार्यक्रमको पैसा जम्मा हुँदा निक्षेप बढेको हो,’ उपाध्यायले क्लिकमाण्डूसँग भने, ‘अहिले अन्य बैंकहरुमा साधारण निक्षेपको ब्याजदर घटबढ भइरहेको छ ।’

त्यसकारण पनि साधारण निक्षेपकर्ता सरकारी बैंकमा नै निक्षेप राख्न चाहने उनको भनाइ ।


पुष्प दुलाल