हतारमा एमओयू, एकीकृत कारोबारमा ढिलाइ, मर्जरको पाइपलाइनमा ३७ संस्था (सूचिसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकमा ३७ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जरको अन्तिम स्वीकृतिका लागि पर्खाइमा छन् ।

देशभर हाल २७ वटा वाणिज्य बैंक १९ वटा विकास बैंक २१ वटा फाइनान्स कम्पनी र ७६ वटा लघुवित्त वित्तीय संस्था गरी १ सय ४३ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् ।

एकीकृत कारोबारका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका ती संस्थाहरुलाई राष्ट्र बैंकले अन्तिम स्वीकृति दिन ढिलाइ गरेको छ ।

प्रारम्भिक सम्झौता गरेर सौद्दन्तिक सम्झौताको लागि पुर्याउनु पर्ने प्रक्रिया पूरा गर्न बैंक तथा वित्तीय संस्थाले समय लगाएका कारण ढिला भएको राष्ट्र बैंकका सह–प्रवक्ता नारायणप्रसाद पोख्रेलले बताए ।

‘हतार हतारमा प्रारम्भिक सम्झौता गरेर राष्ट्र बैंकमा स्वीकृतिको निवेदन दिन्छन्,’ पोख्रेलले क्लिकमाण्डूसँग भने, ‘मर्जरको स्वीकृतिका लागि निवेदन दिएका कतिपय बैंकहरुले नै सैद्दान्तिक स्वीकृतिको समय पछि सार्न आग्रह गर्छन् ।’

राष्ट्र बैंकले माग गर्ने आवश्यक काजतपत्र बुझाउन र एकीकृत कारोबारको तयारी गर्न समय मर्जर तथा प्राप्तिका लागि आएका बैंक तथा वित्तीय संसथाले नै समय लगाउँदा मर्जर तथा प्राप्तिको प्रक्रिया पूरा हुन समय लागेको उनको भनाइ छ ।

कतिपय बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको मर्जर तथा प्राप्तिको सैद्दान्तिक स्वीकृति दिएर पनि एकीकृत कारोबार शुरु गर्न समय लगाएको उनले बताए ।

पाइपलाइनमा रहेका ३७ वटा बैंक तथा वित्तीय संस्थामध्ये ३१ वटा लघुवित्त, ३ वटा वाणिज्य बैंक र ३ वटा विकास बैंक छन् । यी बैंक तथा वित्तीय संस्थामध्ये १२ वटाले गत वर्षको असोजमै मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गरी अन्तिम स्वीकृतको पर्खाइमा छन् ।

गत वर्ष नै मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गरी राष्ट्र बैंक पुगेका ती संस्थाले सैद्दान्तिक स्वीकृति पाइसकेका छन् । तर सैद्दान्तिक स्वीकृति पाएर पनि एकीकृत कारोबार गर्न भने ढिलाइ गर्ने संस्थालाई राष्ट्र बैंकले कारबाही गर्ने सह–प्रवक्ता पोख्रेलले बताए ।

एकीकृत कारोबारमा ढिलाइ गर्ने संस्थाहरु
गत वर्षको असोज १७ गत नै नेष्डो समृद्धि लघुवित्त संस्था र नेपाल एग्रो लघुवित्त संस्थाले मर्जरको सहमति गरी असोज ३० गते नै राष्ट्र बैंकमा एकीकृत कारोबारका लागि निवेदन दिएका थिए । जसमा राष्ट्र बैंकले गत वर्षको पुस २ गते मर्जरको सैद्दान्तिक स्वीकृति दिइसकेको छ । मर्जरपछि यी नेष्डो समृद्धि लघु वित्त वित्तीय संस्थाको नाममा कारोबार गर्ने सहमति भएको छ ।

गत वर्षको पुस २ गते धौलागिरी र आँधीखोला लघुवित्त वित्तीय संस्थाले मर्जर प्रारम्भिक सम्झौता गरी सैद्दान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा पुस १४ गते निवेदन दिएका थिए । राष्ट्र बैंकले यी वित्तीय संस्थालाई गत साउन ५ गतेनै सैद्दान्तिक स्वीकृति दिएको हो । मर्जरपछि यी संस्था धौलागिरी आँधीखोला लघुवित्त संस्थाको नामले कारोबार गर्ने सहमति भएको थियो ।

नेपाल इन्भेष्मेन्ट बैंकले सिटी एक्प्रेस फाइनान्सलाई प्राप्ति गर्ने सहमति गत वर्षको पुस २७ गते गरी सैद्दान्तिक सम्झौताका लागि पुस २८ गते राष्ट्र बैंकमा निवेदन दिएको थियो । जसमा राष्ट्र बैंकले गत वर्षको चैत ३० गतेनै सैद्दान्तिक स्वीकृति दिइसकेको छ ।

यसैगरी, युनिक नेपाल र बुद्धज्योती लघुवित्त वित्तीय संस्थाले गत वर्षको माघ ४ गते मर्जरको सहमति गरी राष्ट्र बैंकमा माघ १० गते स्वीकृतिका लागि निवेदन दिएको थिए । जसमा राष्ट्र बैंकले गत जेठ २२ गते नै सैद्दान्तिक स्वीकृति दिइसकेको छ । मर्जरपछि युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नामका कारोबार गर्ने सम्झौता भएको थियो ।

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सहमति गत वर्षको माघ ८ गते गरी स्वीकृतिका लागि राष्ट्र बैंकमा सोही दिन निवेदन दिएको थियो । जसमा राष्ट्र बैंकले गत चैत ४ गते सैद्दान्तिक स्वीकृति दिइसकेको छ ।

त्यस्तै, जाल्पा लघुवित्त र महिला सामूदायिक लघुवित्तले गत वर्षका माघ १६ गते मर्जको सम्झौता गरी माघ २६ गते स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिएका थिए । जसमा राष्ट्र बैंकले गत असार ५ गते नै सैद्दान्तिक स्वीकृत गरिसकेको छ । मर्जरपछि जाल्पा सामूदायिक लघुवित्तको नामले कारोबार गर्ने सहमति भएको थियो ।

साथै, समता र घरेलु लघुवित्त वित्तीय संस्थाले गत असार १ गते मर्जरको सहमति गरी राष्ट्र बैंकमा सोही दिन स्वीकृतिका लागि निवेदन दिएको थियो । जसमा राष्ट्र बैंकले साउन २६ गते नै सैद्दान्तिक स्वीकृति दिइसकेको छ । मर्जरपछि समता घरेलु लघुवित्तको नाममा एकीकृत कारोबार गर्ने सम्झौता भएको थियो ।

सैद्दान्तिक स्वीकृति नपाएका बैंक तथा वित्तीय संस्थाहरु
२०७७ साल लागेपछि २५ वटा बैंक तथा वित्तीय संस्थाले मर्जर तथा प्राप्तिको प्रारम्भिक सहमति गरी राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि निवेदन दिएका छन् । जसमा समता र घरेलु लघुवित्त वित्तीय संस्थाले मात्र गत साउन २६ गते राष्ट्र बैंकबाट सैद्दान्तिक स्वीकृति पाएका छन् ।

मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गरी केन्द्रीय बैंकमा सैद्दान्तिक स्वीकृतिको पर्खाइमा २३ वटा बैंक तथा वित्तीय संस्था छन् । जसमा गत बैशाखयता मर्जरको प्रारम्भिक सम्झौता गरी राष्ट्र बैंकमा सैद्दान्तिक स्वीकृति पर्खाइमा एनआइसी एशिया लघु वित्त/स्वेदेशी लघुवित्त, ओमी लघुवित्त/ग्रामीण लघुवित्त, सिआइसी नेपाल/शालीग्राम लघुवित्त, स्वस्तिक लघुवित्त/समाज लघुवित्त र विन लघुवित्त र नेपाल सेवा लघुवित्त छन् ।

त्यसैगरी, सिटिजन्स बैंकले गत कात्तिकमा तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरी राष्ट्र बैंकमा स्वीकृतिका लागि सोही दिन निवेदन दिएको थियो । साथै, ग्लोबल आईएमई लघुवित्तले स्पर्स लघुवित्तलाई प्राप्ति गर्ने गत असोज २० गते नै प्रारम्भिक सम्झौता गरी राष्ट्र बैंकमा सैद्दान्तिक स्वीकृतिको पर्खाइमा छ ।

मिरमिरे लघुवित्तले गत असोज १२ गते सिर्जना लघुवित्तलाई प्राप्ति गर्ने सम्झौता गरी राष्ट्र बैंकमा सैद्दान्तिक स्वीकृतिको पर्खाइमा छ । साथै डिप्रोक्स लघुवित्तले नाडेप लघुवित्तलाई गत काक्तिक १ गते प्राप्ति गर्ने प्रारम्भिक सहमति गरी पुस १६ गते राष्ट्र बैंकमा निवेदन दिएर सैद्दान्तिक स्वीकृतिको पर्खाइमा छ ।


क्लिकमान्डु